१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेस लुम्बिनीका सहमहामन्त्रीद्वारा राजीनामा

वीरेन्द्र केसी

अर्घाखाँची — स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवं पूर्वजिल्ला सभापति विष्णुप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अर्घाखाँचीका स्थानीय तहमा कांग्रेस उम्मेदवारले जित्ने संकेत देखा नपरेपछि खनालले राजीनामा दिएका हुन् ।  

कांग्रेस लुम्बिनीका सहमहामन्त्रीद्वारा राजीनामा

पाणिनि गाउँपालिका अध्यक्षमा कांग्रेस जिल्ला सचिव अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतम पराजित भएका छन् । अरु ५ स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार फराकिलो मतान्तरले पछाडि परिरहेको बेला अन्तिम मतपरिणाम नआउँदै खनालको राजीनामा आएको हो । उनले नैतिकताको आधारमा आफूले पदबाट राजीनामा दिएको बताए ।

२०७४ को स्थानीय तहमा जिल्लाका ६ स्थानीय तहमध्ये ४ पालिकामा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । त्यसमध्ये पाणिनि गाउँपालिकामा कांग्रेसका अच्युत गौतमले अध्यक्ष पदमा एक्लै चुनाव जितेका थिए । ०७४ मा एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित लक्ष्मी केही महिना अघि कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनैलाई पुनः उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार बनाएको थियो । छत्रदेव गाउँपालिकामा कांग्रेसका लेखनाथ पोखरेल अध्यक्षमा र तुल्सीदेवी श्रेष्ठ उपाध्यक्षमा जितेका थिए । अहिले ५ दलीय गठबन्धन हुँदा पनि पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवारले निरन्तर अग्रता लिएका छन् ।

गत चुनावमा कांग्रेसबाट सन्धिखर्क प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले जितेका थिए । अहिले कांग्रेस उम्मेदवार शान्ता भण्डारीलाई एमाले उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले फराकिले मतान्तरले पछाडि पारेका छन् ।

०७४ को चुनावमा शितगंगा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यप्रसाद अधिकारीले जितेका थिए । अहिले ५ दलीय गठबन्धनलाई एमाले उम्मेदवार वसन्त श्रेष्ठले फराकिलो मतान्तरले पछाडि पारेका छन् ।

२०७४ मा भूमिकास्थान नगरपालिकामा उपप्रमुख पदमा कांग्रेसका खडानन्द बेलवासेले जितेका थिए । गठबन्धन हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा जितेको कांग्रेस यो निर्वाचनमा उम्मेदवार विहीन छ ।

मालारानी गाउँपालिकामा भने कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेका बालकृष्ण आचार्य र प्रमिला क्षत्री विजयी भएका थिए । अहिले एमालेबाट अध्यक्षका उम्मेदवार दलबहादुर भटराई र उपाध्यक्ष दीपा पोखरेलले फराकिलो मतान्तरले गठबन्धन उम्मेदवारलाई पछाडि पारेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?