२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पालिकामा विजयी दल अदलबदल

५२ पालिकाको परिणाम आउँदा गत निर्वाचनमा नेतृत्व लिएका आधाभन्दा बढी स्थानमा फरक दल विजयी, राजनीतिक शक्ति सन्तुलनमा बदलाव
तुफान न्यौपाने

काठमाडौँ — स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आइतबार मध्यरातसम्म ५२ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी एमालेले १८, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले १५ र एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । प्रमुख ४ दलले जितेका यी स्थानीय तहमध्ये करिब आधामा मात्रै (२५ वटा) यसअघि सम्बन्धित दलले नै जितेका थिए । अर्थात् आधाभन्दा बढी (२७ वटा) स्थानीय तहमा फरक दल विजयी भएका छन् ।

पालिकामा विजयी दल अदलबदल

यो परिणामले मतदाताले आ–आफ्ना स्थानीय सरकारमा पछिल्लो ५ वर्ष नेतृत्व गरेका दललाई पन्छाएर अरूलाई रोजेको देखिन्छ । यसले स्थानीय तहहरूमा कायम राजनीतिक शक्ति सन्तुलन बदलिदिएको स्पष्ट देखाउँछ ।

परिणाम सार्वजनिक भएका ५२ स्थानीय तहमध्ये एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा २१ वटामा जित हात पारेको थियो । त्यसमध्ये अहिले उसले ९ वटामा मात्र आफ्नो नेतृत्व कायम राख्न सकेको छ । हाल उसले नयाँ ९ स्थानमा जितको झन्डा गाडेको छ । यीमध्ये ८ स्थानीय तहमा यसअघि कांग्रेस र १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । त्यस्तै, कांग्रेसले गत निर्वाचनमा जितेका २२ स्थानीय तहमध्ये हाल ९ वटामा मात्र नेतृत्व दोहोर्‍याउन सकेको छ । कांग्रेसले अहिले जितेका बाँकी ८ स्थानीय तहमध्ये यसअघि ७ वटामा एमाले र एउटामा माओवादी केन्द्रको नेतृत्व थियो ।

हालसम्म मतगणना सार्वजनिक भएकामध्ये माओवादीले गत निर्वाचनमा जम्मा ८ स्थानीय तहमा जितेको थियो । अहिले त्यसलाई बढाएर १५ पुर्‍याउन सफल भएको छ । यसअघि जितेकामध्ये ७ वटामा पकड कायम राखेको उसले थप ४ वटा एमाले र ४ वटा स्थानीय तह कांग्रेसबाट प्राप्त गरेको छ । यसपल्ट सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको नेतृत्व मात्रै माओवादीले कांग्रेसलाई सुम्पिएको हो । गत निर्वाचनमा एमालेले जितेको एक र स्वतन्त्र उम्मेदवारले जितेको एक गरी नवगठित एकीकृत समाजवादीले २ स्थानीय तहमा जित निकालेको छ । दुवै स्थानीय तह डोल्पाका हुन् ।

दलहरूका ‘परम्परागत आधार क्षेत्र’ मानिएका कतिपय पालिकामा अरू दल प्रवेश गरेका छन् । जस्तो नवलपरासी (पूर्व) को बौदीकालीमा कांग्रेसले २०४३ सालदेखि जित्दै आएकामा अहिले एमालेका उम्मेदवार विजयी भएका छन् । २०४४ मा प्रधानपञ्च जितेका कांग्रेसका दुर्गाबहादुर राना २०४९ र २०५४ मा गाविस अध्यक्ष चुनिएका थिए । २०७४ को निर्वाचनमा पनि उनी नै फेरि अध्यक्ष दोहोरिएका थिए । यसपटक भने उनी ‘आराम गर्छु’ भनेर चुनावी मैदानमै उत्रिएनन् । यसपल्ट कांग्रेसले खड्कबहादुर रानालाई अघि सारेको थियो । तर, एमालेका प्रकाश ओझासामु उनी ४१५ मतले पराजित भए । ‘हामीले सजिलै जित्ने पालिका हो । ३६ वर्षदेखि जित्दै आएका थियौं,’ निवर्तमान अध्यक्ष रानाले भने, ‘टिकट वितरणमा सही निर्णय नहुँदा पालिका नै एमालेलाई सुम्पिनुपर्‍यो ।’

उता, एमाले नेता प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्ने गुल्मी सदरमुकामसमेत रहेको रेसुंगा नगरपालिका एमालेले गुमाएको छ । गत निर्वाचनमा एमालेबाट नगर प्रमुख बनेका डिल्लीराज भुसाल यसपटक प्रतिस्पर्धामा थिएनन् । एमालेले इन्जिनियरिङ पेसा छाडेर राजनीति अँगालेका राजेन्द्रप्रसाद पाण्डेलाई टिकट दिएकोमा उनलाई कांग्रेसका खिलध्वज पन्थीले हराएका हुन् । १४ वटा वडा रहेको यो नगरमा एमालेले ४ वटामा मात्रै अध्यक्ष जितेको छ ।

यसैगरी, माओवादी कमजोर मानिँदै आएको दैलेखमा नौमुले गाउँपालिकाको अध्यक्ष हत्याएको छ । कांग्रेसले जित्दै आएको यो पालिकामा एकीकृत समाजवादीसँगको तालमेलबाट माओवादीका छविराम सुवेदी अध्यक्ष र एकीकृतका गंगबहादुर शाही उपाध्यक्ष निर्वाचित भएका हुन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?