१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एमालेको विश्लेषण किन मिलेन ?

धाँधली भयो भनेर विज्ञप्ति निकाल्न पार्टीले हतार गरेको पदाधिकारीकै टिप्पणी
बबिता शर्मा

काठमाडौँ — चुनावी रणनीति र उम्मेदवारका मापदण्ड तय गर्न गत चैत ९ मा बसेको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टी पहिलो शक्ति बन्ने विश्लेषणसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । ओलीको प्रतिवेदनमा एमालेले स्थानीय निर्वाचन जित्ने १८ वटा आधार पेस गरिएको थियो ।

एमालेको विश्लेषण किन मिलेन ?

यसैका आधारमा एमालेले केन्द्रीय तहमा गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय लिएको थियो । तर स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले एमाले पहिलो पार्टी नबन्ने देखाएको छ ।

२०७४ को स्थानीय चुनावमा २ सय ९४ पालिका जितेर पहिलो दल एमाले यसपटक दोस्रो शक्ति बन्ने देखिएको छ । एमालेले जित्ने अपेक्षा गरेका काठमाडौं, पोखरा, वीरगन्ज महानगर र बुटवल, घोराही, धरान, इटहरीलगायत उपमहानगरको मतगणनामा गठबन्धनकै दलले अग्रता लिइरहेको छ । एमालेले भने मत परिणाम आइनसक्दै गठबन्धनले ‘धाँधलीको सहारा’ लिएका कारण हार बेहोर्नुपरेको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले तीन चरणमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मतदानपूर्व, मतदानका बेला र मतगणनामा धाँधली भएको जनाएका छन् । ‘सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग पुग्ने गरी गृह प्रशासनद्वारा प्रहरी र कर्मचारी खटाइएको, आफ्ना मतदातालाई हतोत्साहित गर्न अघिल्लो दिन गिरफ्तार गरेको र मतदानपछि छाडेको आरोप लगाएको छ ।

परिणाम सत्ता गठबन्धनको पक्षमा पार्नका लागि विभिन्न जिल्लामा बुथ कब्जा गरेको, मतगणना स्थलमा मतपेटिका पुर्‍याउन जाने क्रममा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका राखिएको सवारीसाधनमा साथै जान रोक लगाएको, कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको पाइएको दाबी एमालेले गरेको छ । एमालेले सत्ता गठबन्धनलाई योजनाबद्ध धाँधली तुरुन्त रोक्न पनि माग गरेको छ ।

एमालेकै एक पदाधिकारीले भने निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनु ‘धाँधली’ मात्रै कारण नभएको बताए । ‘पाँचदलीय गठबन्धनसँग एक्लै चुनाव लड्नु सहज होइन । पहिलो कारण त यही नै हो । यसबाहेक पार्टीभित्रको शक्ति सन्तुलनलाई मिलाएर लैजान नसक्नु, टिकट वितरणमा नवप्रवेशीलाई प्राथमिकता दिनु तथा नेतृत्वबाट वस्तुसंगत विश्लेषण हुन नसक्नु नै अपेक्षाकृत नतिजा नआउनुको कारण हो,’ उनले भने । उनका अनुसार निर्वाचन अगाडि एकीकृत समाजवादीको शक्तिलाई अवमूल्यन गर्नु पनि एमालेका लागि धक्का खाने विषय भएको छ ।

मत परिणाम नआइसक्दै ‘सत्ता गठबन्धनले धाँधली गर्‍यो’ भनेर विज्ञप्ति निकाल्दा एमाले हतासमा देखिएको सन्देश गएको ती पदाधिकारीले बताए । ‘कम्तीमा चुनाव सकिन त दिनुपर्छ । चुनाव सकिएपछि गम्भीर रूपले समीक्षा गरेपछि पो विज्ञप्ति निकाल्ने हो । देशभरि चुनाव हुँदा आफूले भनेजस्तो कहाँ हुन्छ ? कतै धाँधली पनि भए होला रे । मत परिणाम नआउँदै हतपत धाँधली भयो भन्नु गलत हो,’ उनले भने, ‘हामीले महत्त्वाकांक्षा बढी भयो भनेका हौं । त्यो पूरा नहुने देखेपछि विज्ञप्ति निकालेर धाँधली भयो भनिदिए । पहिला माओवादीले यसै भयो भन्थ्यो ।’

हुन त अध्यक्ष ओलीले स्थानीय निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन । यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रूपमा हुँदै छ । राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि कम्फर्टेबलहरूका बीचमा हुँदै छ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबीच हुँदै छ । समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दनबीचको छनोटका रूपमा हुँदै छ,’ ओलीले प्रतिवेदनमा लेखेका थिए ।

ओलीको प्रतिवेदनमा एमालेको सही सिद्धान्त र नीति, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका तथा सरकारमा रहँदा समृद्धिका लागि गरेको कामका आधारमा जितिने उल्लेख छ । योगदानमा आधारित सामाजिक सुरक्षाको थालनी, विपत्ति र भूकम्पपछिको पुनर्निर्माणमा खेलेको भूमिका, सीके राउत समूह र नेत्रविक्रम चन्द समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याउन गरेको अगुवाइलाई पनि एमालेले जित्ने आधार ठानेको थियो । ‘हामीसँग जितका पर्याप्त आधार छन् । यावत् घेराबन्दी, आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टीप्रतिको जनविश्वास अखण्डित र अक्षुण्ण रहनु एवं यस्तो जनविश्वास दिन प्रतिदिन बढ्दै जानु नै त्यो मुख्य आधार हो, जसले एमालेको जितलाई सुनिश्चित गर्नेछ,’ ओलीको प्रतिवेदनमा थियो, ‘गठबन्धन या मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो । बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरुरी छ ।’


एमालेको केन्द्रीय कमिटी बैठकमा मधेसबाहेक अन्य प्रदेशमा पार्टी पहिलो हुने नेताहरूको रिपोर्टिङ थियो । एमालेले मधेसमा अभूतपूर्व लहर देखिएको भन्दै त्यसले त्यहाँको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन गर्ने दाबी गरेको थियो । निर्वाचन हुनु ठीक अघि भने सत्ता गठबन्धन र एमाले विभाजनका कारण अपेक्षा गरेअनुसार पार्टीको परिणाम आउन नसक्ने रिपोर्ट ओलीलाई आएको स्रोतको भनाइ छ । ‘अनुमानसँग नतिजा मेल खाने देखिएन । अहिलेको नतिजाले संघीय चुनावमा असर गर्न सक्छ । त्यसकारण कार्यकर्ताको मनोबल गिर्न नदिन धाँधली भयो भनिएको होला । विज्ञप्ति निकाल्ने विषयमा हामीसँग सल्लाह गरिएन । हामी सबैजसो जिल्लामा छौं,’ एमालेका अर्का एक पदाधिकारीले कान्तिपुरसँग भने ।

एमालेले महानगर र उपमहानगरलाई प्रतिष्ठा बनाएको थियो । त्यसका लागि रणनीतिक रूपमा केशव स्थापितदेखि विजय सरावगीसम्मका व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारिएको थियो । एमालेले महानगरमा राप्रपा र लोसपासँग समेत तालमेल गरेको थियो । प्रारम्भिक नतिजाअनुसार महानगर र उपमहानगरमा एमालेका लागि सन्तोषजनक स्थिति देखिएको छैन । महानगर र उपमहानगर जित्न नसके राष्ट्रिय राजनीतिमा राम्रो सन्देश नजाने एमालेको बुझाइ छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको विश्लेषणमा मुख्यतः चार कारणले एमाले दोस्रो शक्ति बन्ने देखिएको हो । ‘पहिला त गठबन्धन दलले सत्ताको अधिकतम दुरुपयोग गरे, त्यसका धेरै उदाहरण छन् । दोस्रो, चार–पाँच पार्टी मिलेर पनि करोडौं पैसाको चलखेल गरे, त्यसले पनि प्रभावित गर्‍यो,’ उनले कान्तिपुरसँग भने, ‘तेस्रो, पाँच दल मिले भन्दा मनोवैज्ञानिक प्रभाव मतदातामा देखियो । चौथौ, हाम्रोतर्फबाट कतिपय पालिकामा प्रमुख/अध्यक्ष दोहोर्‍यायौं तर मान्छेले परिवर्तन चाहँदा रहेछन् भन्ने पनि देखियो ।’

प्रकाशित : जेष्ठ २, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?