भरतपुर-१ मा कांग्रेसका महर्जन निर्वाचित, मेयर उम्मेदवारलाई वडाध्यक्षकोभन्दा कम मत

चितवन — भरतपुर महानगरपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन् । महिला सदस्यमा नेपाली काँग्रेसकै राममाया पिया विजयी भएपनि अन्य तीन जना सदस्यमा भने एमालेका उम्मेद्वारहरु विजयी भएको मुख्य निर्वचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नम्बर १ को गणना सकिँदा मेयर पदमा गठबन्धनबाट उम्मेद्वार रहेकी रेनु दाहालको अग्रता कायमै छ । तर, रेनु र मेयर पदका अर्का उम्मेद्वार नेकपा एमालेका विजय सुवेदीलाई आफ्नो वडामा बडाध्यक्षले ल्याएकोभन्दा कम मत आएको छ ।
मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलले वडा नम्बर १ मा खसेकोमध्ये १३ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । यहाँ तीन हजार २७७ मत खसेको थियो । वडाध्यक्षमा विजयी महर्जनले एक हजार ३९७ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत ल्याए ।
काँग्रेससहित सत्तारुढ गठबन्धनकी साझा उम्मेद्वार रहेकी रेनु दाहालले महर्जनको मतभन्दा १८९ मत कम ल्याइन् । यो वडामा रेनु दाहाललाई एक हजार २०८ मत आएको छ । एमालेका मेयर उम्मेद्वार विजय सुवेदीले एक हजार ८७ मत ल्याएका छन् ।
सुवेदीले पनि एमालेका वडाध्यक्षले पाएको भन्दा २२६ कम मत पाएका छन् । वडा नम्बर एकको मत गणना सकिँदा मेयरमा रेनु दाहालले सुवेदीले भन्दा १२१ मत धेरै ल्याएकी छन् ।
यो वडामा मेयर पदका स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा यो वडामा एमालेले एक मात्र वडा सदस्य जितेको थियो तर मेयर पदमा अग्रता कायम गरेको थियो ।
वडा नम्बर एकको मत गणना सकिदा उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उपमेयर पदका उम्मेद्वार नेकाका चित्रसेन अधिकारीले एक हजार ३६२ र राप्रपाकी हिमला गुरुङले ८७७ मत ल्याएकी छन् ।
हिमलालाई एमालेको समर्थन रहेको छ । २९ वटा वडाहरु रहेको भरतपुरमा अहिले दुई नम्बर वडाको मत गणना सुरु भएको छ ।
प्रकाशित : जेष्ठ १, २०७९ ११:३८