वडा सदस्यमा नवनिर्वाचित मगरको मृत्यु

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य ५२ वर्षीय अटल सूर्य मगरको निधन भएको छ ।

चौबिसे गाउँपालिकाको मुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति करिब ८ बजे मगर बसिरहेको स्थानमै बेहोस् भएका थिए । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्‍याए लगत्तै राति ११ बजे मृत्यु भएको चौबिसेकी निवर्तमान उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन् ।

वडाको मतपरिणाम अन्तिम चरणमा रहेको बेला मगर अचेल भइ कुर्सीबाट ढलेको उनले बताइन् । उपचार गर्न लैजाँदै गर्दा मगर विजेता भएको परिणाम आएको थियो ।

अनुसन्धानका क्रममा मगरको मृत्यु शंकास्पद नरहेको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए । चिकित्सकले उच्च रक्तचापका कारण हृदयघात भएको हुनसक्ने जनाएका छन् । मृतक मगर यसअघि पनि सोही वडाका सदस्य रहेको एमाले धनकुटाका पार्टी कार्यलय सचिव नैनबहादुर विश्वकर्माले बताए।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?