कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

उम्मेदवार नै नभएका चिह्नमा मत

राजनीतिक दलहरुको बहुरंगी गठबन्धन र ठूलो मतपत्रले मतदाता अलमलिए
कतिपय मतदाताले प्रमुख/उपप्रमुखमा दुईभन्दा धेरैमा मत दिएका छन् भने केहीले औंठाछाप लगाए
विराटनगर महानगरमा शनिबार साँझसम्म १ हजार २ सय ८२ मतगणना हुँदा १० प्रतिशत बदर
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन र ठूलो मतपत्र हुनाले मतदाता अलमलमा परेको पाइएको छ । कतिपयले उम्मेदवार नै नभएका चिह्नमा र कतिपयले प्रमुख/उपप्रमुखमा दुईभन्दा धेरैमा मत दिएका छन् भने केहीले औंठाछाप लगाएका कारण मत बदर भएका छन् । गठबन्धन नभएको र राजनीतिक दल तथा उम्मेदवारले मतदाता शिक्षा दिएको क्षेत्रबाट भने मत बदर कम भएको देखिएको छ ।

उम्मेदवार नै नभएका चिह्नमा मत

विराटनगर महानगरमा शनिबार साँझसम्म १ हजार २ सय ८२ मत गणना हुँदा १० प्रतिशत जति मत बदर पाइएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । निर्वाचन चिह्नका आधारमा ६ प्रतिशत र अन्य प्रकारले ४ प्रतिशत मत बदर पाइएको उनले बताए । एक गणकका अनुसार गठबन्धनका कारण मत बदर बढी भएको पाइएको छ । यहाँ प्रमुखमा रुख र उपप्रमुखमा छाता चिह्न भएका दलबीच गठबन्धन भएको छ । तर केहीले सातै छाप रुखमा र छातामा लगाउँदा बढी मत बदर भएको हो । ती गणकका अनुसार यसपालि औंठाछाप लगाएर मत बदर न्यून छ । अघिल्लो निर्वाचनमा यहाँ खसेको मतको करिब २५ प्रतिशत बदर भएको थियो ।

मोरङको सीमावर्ती धनपालथान गाउँपालिकामा बदर मत संख्या बढेको निर्वाचन अधिकृत टिकेन्द्रजंगवीर राणाले बताए । उनका अनुसार २ हजार मतगणना गर्दा पूर्ण बदर मत ७० वटा छ । अर्ध बदरको संख्या धेरै छ । ‘१० वटा मतगणना गर्दा ५ वटासम्म अर्ध बदर मतपत्र भेटिन्छन्,’ राणाले भने, ‘मतदाता शिक्षा नहुँदा अर्ध मत बदर धेरै छ ।’ झापाको प्रारम्भिक गणनामा शिवसताक्षी नगरमा १ हजार १ सय २ मत गणना हुँदा करिब २३.२३ प्रतिशत बदर पाइएको छ । ९ सय ४ मतगणना गर्दा खुला सदस्यमा २ सय १ मत बदर छन् । वडामा कांग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन थियो । यता माओवादी केन्द्र र एमाले वडाध्यक्ष एक पदका लागि एक्लाएक्लै चुनावी मैदानमा थिए । बढीजसो मतदाताले एउटै पदमा दुईपटक मत संकेत गरेको पाइएको छ । ‘अधिकांशले दुई चिह्नमा दुई मत संकेत गरेको भेटिएको छ,’ प्रमुख निर्वाचन अधिकृत ऋषिराम पौडेलले भने ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार सबै पालिकामा बदरको अवस्था उस्तै छ । मत बदरको परिणामले मतदातामा पर्याप्त मतदान शिक्षा नपुगेको प्रस्ट देखिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा थिए । बदर मत ज्यादै न्यून थियो । त्यो बेला मतदाता शिक्षा पनि थियो । शिवसताक्षीमा अघिल्लो पटक ११ वटै वडामा २ सय १२ मतमात्र बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिकामा १ हजार ४ सय ९५ मत गणना हुँदा अध्यक्ष पदमा १ सय ५८ र उपाध्यक्षमा ३ सय १५ मत बदर भयो । यस्तै फिदिम नगरपालिकामा १ हजार ५ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा १२ प्रतिशतभन्दा धेरै बदर भएको छ । जिल्लाका तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिकामा पनि बदर मत उल्लेख्य छ ।

वाग्मती प्रदेशको मकवानपुरस्थित भीमफेदी गाउँपालिका—१ र २ को ३२ सय मत मतगणनामा १२ मत पूर्ण र ५० भन्दा बढी आंशिक बदर पाइएको छ । ‘सिंगो मतपत्र बदर भएको १२ वटा छ,’ निर्वाचन अधिकृत रुद्रहरि भण्डारीले भने, ‘एउटै चिह्नमा दुई पटक छाप लगाएको, एउटै पदमा २ स्थानमा छाप लगाएको ५० वटाभन्दा बढी मत बदर भएका छन् ।’ यहाँ ग्रामीणभन्दा बजार क्षेत्रका मतदाताबाट बढी मत बदर गएको देखिएको उनले बताए । मनहरी गाउँपालिकामा १६ सय मतगणना सक्दा २५ पूर्ण बदर र ६० आंशिक बदर पाइएका छन् । ०७४ मा मकवानपुरमा ३.९ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । गत वर्षको तुलनामा यो वर्ष मत बदर कम हुने अनुमान गरिएको छ ।

प्रमुखमा २७ उम्मेदवार रहेको भरतपुर महानगरपालिकामा ३ सय मत गन्दासम्म ३९ मत बदर भयो । मतगणना स्थलमा खटिएका एमाले नेता कृष्ण भुर्तेल गठबन्धनका कारण मत संकेत गर्न अलमल हुँदा गणना नहुने गरेर मत बदर हुने समस्या देखिएको बताए । ‘गठबन्धन छ । मेयरमा एउटा पार्टीको चिह्नमा छाप लगाएर उपमेयरमा अर्कोमा लगाउनुपर्ने थियो । मतदाता यो कुराले अलमलमा परेको देखे । कसैले प्रमुख उपप्रमुख एउटै पार्टीको चिह्नमा छाप लगाएर गठबन्धनको अर्को दलको प्रमुख उपप्रमुखकै चिह्नमा पनि छाप लगाएको भेटियो,’ भुर्तेलले भने ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्की मतदाता अलमलिएको देखिएको र जिल्लामा सरदर १० प्रतिशत हाराहारी मत बदर हुने सम्भावना रहेको बताउँछन् । सात स्थानीय तह रहेको चितवनमा सत्तारूढ गठबन्धनले सातै पालिकामा तालमेल गरेका छन् । एमालेले राप्रपासँग भरतपुर र माडी नगरपालिकामा तालमेल गरेको छ । ‘गठबन्धनकै कारण मतदाता अलमलमा परेर बदर संख्या बढ्न सक्छ,’ निर्वाचन अधिकृत कार्कीले भने ।

काभ्रेमा शनिबार साँझसम्म अन्तिम परिणाम आएका धुलिखेल–१, भुम्लु–१ र महाभारत–१ मा उम्मदेवार नै नभएका चिह्नमा मत संकेत गरिएकाले धेरै मत बदर भएको छ । गठबन्धनका कारण ती दलका चिह्नमा संकेत गरेका मत धेरै बदर भएका हुन् । ‘उम्मेदवार नै नभएका उपाध्यक्ष पदमा धेरै मत संकेत भएको कारण धेरै बदर भएको छ,’ महाभारत गाउँपालिकाका निर्वाचन अधिकृत खुबीराम अधिकारीले भने, ‘आंशिक बदर भएका मत धेरै छन्, पूर्ण बदरको संख्या भने कम छ ।’ उनका अनुसार, वडा १ मा खसेको १ हजार ९८ मतमध्ये १५ मत पूर्ण बदर भएका छन् ।

भुम्लु गाउँपालिकाका निर्वाचन अधिकृत रुद्र कोइरालाले पनि आशिंक बदर हुनेको संख्या धेरै रहेको बताए । उनका अनुसार वडा १ का १७ सय २२ मतदाताले खुला सदस्य पदका लागि गर्न पाउने ३४ सय ४४ मतसंकेतमध्ये ५ सय ७२ वटा बदर भएका छन् । ‘पूर्ण बदरभन्दा पनि आंशिक बदर नै धेरै छ,’ उनले भने । भुम्लु १ मा २६ मत मात्रै पूर्ण बदर भएका छन् । धुलिखेल नगरपालिकाका सहायक निर्वाचन अधिकृत शेषराज दाहालका अनुसार कुनै पनि मत संकेत नगरी खाली छोडेको, उम्मेदवार नभएको चिह्नमा मत संकेत गरेको, ल्याप्चे लगाएको कारण मत बदर भएका छन् । धुलिखेलमा पनि आंशिक बदर नै बढी छ । धुलिखेल १ मा गणना भएको १२ सय ८४ मतमध्ये पूर्ण बदर ११ वटा छ ।

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रारम्भिक मतगणनामा बदर मत गतवर्षकै हाराहारी छ । भीमदत्तको तुलनामा धनगढी उपमहानगरका बदर मत केही बढी छन् । भीमदत्त—२ को २ सय मतगणना गर्दा ६ मत बदर देखिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका—१ मा १६ सय ४६ मत गणना गर्दा २० वटा बदर भएका छन् । मतदाता शिक्षा अभाव भए पनि प्रारम्भिक नतिजाअनुसार बदर मत गत वर्षभन्दा घटेको देखिएको छ । धनगढी उपमहानगरपालिकामा भने २ सय मत गणना हुँदा ४६ मत बदर भएको छ । डडेलधुरामा पनि बदर मत बढी छ । अमरगढी नगरपालिकाको २ सय मत गणना हुँदा २९ वटा बदर भएको छ । भागेश्वर गाउँपालिका १ मा १ सय मतगणना हुँदा २० मत बदर भएको छ । डडेलधुराकै परशुराम नगरपालिकाको प्रारम्भिक मतगणनामा १६ प्रतिशत मत बदर भएको छ । गतवर्ष कञ्चनपुरमा साढे ३ प्रतिशत मत बदर गएको थियो ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा १ हजार ५ सय ३६ मत खसेकामा अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका नारसिं रोकायाले ७ सय ७० मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराका पक्षमा ७ सय ४६ मत थियो । दुर्गम गाउँपालिका भएकाले प्रमुख पदमा धेरै मत बदर हुने अनुमान गरिए पनि २० मत मात्र बदर भएको निर्वाचन अधिकृत जवाहरलाल हमालले बताए । ‘यस्तो दुर्गममा पनि बदर मत निकै कम हुँदा अचम्म लाग्यो,’ उनले भने । वडाहरूमा भने झन्डै २ सय मत बदर भएको उनले जानकारी दिए । जगदुल्लामा झन्डै १३ प्रतिशत मत वडा तहमा बदर भएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा भने शनिबार रातिसम्म झन्डै १५ सय मत गणना हुँदा २ सय ४१ मत बदर भएको छ । गाउँमा बदर नहुने मत सहरतिर किन भयो त ? प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘उम्मेदवार नभएको चिह्नमा छाप हानेको पाइएको छ । २ खण्डको मतपत्र थियो, त्यसमा वारिपारि पनि मत हालेको धेरै भेटियो ।’ कतिपयले वडा सदस्य पदमा २ भन्दा बढीमा छाप लगाउँदा पनि मत बदर भएको छ । उनका अनुसार केही मतदाताले स्वस्तिक छापको सट्टा औंठाछाप पनि लगाएको भेटिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले भने यसपालि धेरै मत बदर हुने आकलन गरिए पनि कम भएको बताए । उनले भने, ‘मतदाता धेरै सचेत भएको यो निर्वाचनले देखायो ।’

– विनोद भण्डारी (विराटनगर), पर्वत पोर्तेल (झापा), लक्ष्मी गौतम (पाँचथर), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), नगेन्द्र अधिकारी (काभ्रे), अनिश तिवारी (सिन्धुपाल्चोक), मोहन बुढाऐर (धनगढी), डीआर पन्त (डडेलधुरा), भवानी भट्ट (कञ्चनपुर) र कृष्णप्रसाद गौतम (सुर्खेत)

प्रकाशित : जेष्ठ १, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?