१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झन्डै ५ सय मतगणनास्थलमा तारजाली

–दलका कार्यकर्तामाथि अविश्वास बढ्दा सम्भावित दुर्घटना रोक्न कतै तारजाली, कतै सीसी क्यामराको निगरानी
—विवेक र संस्कारयुक्त राजनीति विकसित गर्नुपर्नेमा तारजाली नै लगाउनुपर्ने ‘बाँदरे संस्कृति’ विकास भयो ः नीलकण्ठ उप्रेती, पूर्वनिर्वाचन आयुक्त
कान्तिपुर टिम

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको थियो । कभर्ड हलमा जारी गणना टुंगिनै लाग्दा माओवादी केन्द्रका प्रतिनिधिले अचानक मतपत्र च्यातेर चपाएपछि विवाद सुरु भयो । पुनः मतगणना हुँदा एमालेका देवी ज्ञवालीलाई पछि पार्दै माओवादीकी रेनु दाहालले प्रमुख पदमा जित हासिल गरिन् ।

झन्डै ५ सय मतगणनास्थलमा तारजाली

२०७४ को ‘भरतपुर काण्ड’ पछि मतगणनास्थल सुरक्षाको विषय पेचिलो बन्यो । देशैभरका मतगणनास्थलमा सुरक्षाका लागि फलामे बार वा तारजाली राख्न निर्वाचन आयोगलाई त्यही एउटा घटना काफी बन्यो । हाल मतगणना भइरहेका करिब ५ सय ठाउँमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

मतगणना जारी रहेका ४ सय ८८ स्थानीय तहमध्ये १२ वटाबाहेक सबै मतगणनास्थलमा तारजाली लगाइएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित कार्यविधिअनुसार ७१ हजारभन्दा धेरै नेपाली सेना, ३२ हजारभन्दा धेरै सशस्त्र प्रहरी, ६२ हजारभन्दा धेरै प्रहरी निर्वाचन सुरक्षामा खटिए पनि सबैजसो मतगणनास्थलमा तारजालीको प्रयोग गरिएको छ । भरतपुरमा हाल भरतपुर एक्स्पो सेन्टरको हलमा मतगणना चलिरहेको छ । जहाँ निर्वाचनअघिदेखि नै जिल्ला निर्वाचन कार्यालयले फलामका पाइपको सपोर्ट राखेर तारजाली नै वेल्डिङ गरेको थियो ।

यस्तै अवस्था अन्य गणनास्थलमा देख्न सकिन्छ । गणक र मतदान अधिकृत जालीभित्र बस्छन्, दलका प्रतिनिधि जालीबाहिर बेन्चमा । फलामका डन्डीलाई भुइँ र छतमा वेल्डिङ गरेर जाली कसिएको छ । भित्रबाहिर गर्न ढोका बनाइएको छ, जहाँ दुईवटा चुकुल छन् । ‘गणनापछि यहाँ कुखुरा पालन गरे हुन्छ, क्या गजबको खोर बनाएछन्,’ रूपन्देहीको भैरहवा नमुना उच्च मावि गणनास्थलमा भेटिएका दलका एक प्रतिनिधिले व्यंग्य गर्दै भने । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा तारबार र कडा सुरक्षा व्यवस्थाबीच मतगणना जारी छ । दाङका १० वटै पालिकामा तारजाली लगाएर गणना गर्ने व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । ‘मतगणना असुरक्षित हुँदै गएपछि तारबार लगाउनुपरेको हो,’ उनले भने, ‘समयअनुसार सुरक्षा सतर्कता अपनाइएको छ ।’

कपिलवस्तुका अधिकांश मतगणनास्थलमा तटबन्धका लागि प्रयोग गरिने जीआई तारकै जाली प्रयोग गरिएको छ भने कपिलवस्तु नगरपालिकामा भने फलामका डन्डीले गणनास्थल बारिएको छ । रोल्पामा पनि सबै गणनास्थलमा तारजाली र सीसी क्यामेराले निगरानी गरिएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले तारजाली लगाएको देख्दा लोकतान्त्रिक प्रणाली र दलका आचरणप्रति थप आशंका लाग्ने स्थिति उत्पन्न भएको बताए । ‘जनताले स्वेच्छाले प्रदान गरेको मतदानप्रति स्वतन्त्र रूपमा गणना गर्दा विश्वास नहुने आचरण दलका नेता–कार्यकर्ताले देखाउनु दुःखद अवस्था हो,’ उनले भने, ‘यो आफैंप्रति अविश्वास गरिएको अवस्था हो ।’ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतपेटिका र गणनास्थलको सुरक्षाका लागि तारजाली लगाउने निर्णय भएको बताए ।

पाल्पाका १० वटै स्थानीय तहको मतगणनास्थलमा तारजाली छ । नागरिक समाजका अगुवा र सर्वसाधारण तारजाली लगाउने अवस्था दलहरूले नै सिर्जना गरेको बताउँछन् । नागरिक समाजका सचिव भेषराज सुवेदीले भने तारजाली लगाउनु दल आफैंप्रतिको अविश्वास हुन सक्ने बताए । ‘अघिल्ला निर्वाचनमा मतपत्र च्यात्ने, खाने, लुट्ने प्रयास तिनै दलका कार्यकर्ताले गरे,’ उनले भने, ‘त्यस्ता उच्छृंखल कार्यकर्ताकै लागि तारजाली जरुरी हुन थाल्यो ।’ लोकतन्त्रको नाममा छाडातन्त्र मौलाएकाले नै यस्तो अवस्था आएको उनले बताए । नागरिक समाजका अगुवा तथा शिक्षासेवी चित्रवलीराम सुवालले राजनीतिक दल, सञ्चारमाध्यमले नै सही ढंगले अनुगमन गर्न नपाउने गरी गरिएको मतगणना जनताको मतलाई हेयभाव राखिएको ठहर हुने बताए ।

रूपन्देही, अर्घाखाँची, नवलपरासी, रुकुम पूर्व, बर्दियालगायत जिल्लाका सबै स्थानीय तहमा तारजालीभित्र मतगणना जारी छ । रूपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जनताले दिएको मत गन्न पनि तारजाली लगाउनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए । ‘पाँच वर्षका लागि भएको निर्वाचनको नतिजा स्वच्छ रूपले जनतामाझ राख्न पाइयोस् भनेर हामीले पनि सतर्कता अपनाएका छौं,’ उनले भने ।

गण्डकी प्रदेशका एकाधबाहेक मतगणनास्थलमा तारजालीले बारिएको छ । केन्द्रीय नीतिअनुसारै तारजाली लगाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । यसका लागि कतिपय पालिकामा विभिन्न सरकारी निकायबाट तारजाली सहयोगस्वरूप लिइएको छ भने कतिपयमा छुट्टै बजेटको व्यवस्था गरिएको छ । १ महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका गरी ८५ स्थानीय तह रहेको प्रदेशमा ५ बाहेक सबै पालिकाका मतगणनास्थलमा तारजाली लगाइएको छ । पर्वतको फलेबास, म्याग्दीको बेनी र धवलागिरि, मनाङको नार्पाभूमि र तनहुँको व्यास नगरपालिकाका मतगणनास्थलमा भने तारजाली लगाइएको छैन । तनहुँको व्यासमा तारजालीको सट्टा बाँसले बारिएको छ ।

पोखरा महानगरपालिकाको मतगणनास्थलमा सिँचाइ कार्यालयबाट तारजाली ल्याई बाँस किनेर बारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत नील पनेरुले बताए । पर्वतको कुस्मा नगरपालिकाको मतगणनस्थलमा तारजाली बेर्न करिब ४० हजार रुपैयाँ खर्च भएको एक कर्मचारीले बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्लाका सबै मतगणनास्थलमा तारजाली लगाइएको बताए ।

नेपाल बारका निवर्तमान उपाध्यक्ष सुरेन्द्र थापामगरले मतको सुरक्षा गर्ने दृष्टिकोणबाट तारजाली लगाउनुलाई लोकतान्त्रिक अभ्यास नै रहेको ठान्छन् । ‘विगतमा भएका घटनाबाट पाठ सिकेर निर्वाचन आयोगले सुरक्षाको प्रबन्ध गर्नु लोकतान्त्रिक अभ्यास हो,’ उनले भने, ‘मतपत्र कागज होइन जनताको अभिमत हो । अभिमत सुरक्षा गर्नु लोकतन्त्रको पनि सुरक्षा गर्नु हो ।’

प्रदेश १ का १ सय ३७ पालिकामध्ये १ सय ३० वटा स्थानीय तहको मतगणनास्थल तारजालीले घेरिएको छ । उदयपुरका ८ स्थानीय तहमध्ये चौदण्डीगढीमा मात्रै तारजालीले घेराबन्दी गरिएको छैन । मोरङका १७ वटै पालिकाको मतगणना तारजालीको घेराभित्रै सुरु गरिएको छ । विगतको निर्वाचनमा तारजालीले नघेर्दा दलका प्रतिनिधिले मतपत्र च्यात्ने र गणक कर्मचारीलाई आक्रमण गर्ने प्रवृत्ति देखिएकाले सम्भावित घटना रोक्न तारजालीको घेराभित्र गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीले बताए ।

अघिल्लो वर्ष झापाका १५ वटै स्थानीय तहको मतगणनास्थल सामान्य बैठक कोठामा थियो । यस पटक दृश्य फरक छ । कचनकवलका निर्वाचन अधिकृत वीरेन्द्र बस्नेत भन्छन्, ‘मतपत्र सुरक्षित होस् भन्ने हेतुले गणना व्यवस्थित गरिएको हो ।’ केही दिनअघि निर्वाचन आयोगले जिल्लाका कार्यालयलाई गणनास्थल व्यवस्थित र सुरक्षित पार्न निर्देश गरेको थियो । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले भने, ‘मत च्यातिने, अर्कोतिर मिसिने, हावाले उडाउने समस्याबाट बचाउन बाध्यताले त्यसो गरिएको हो ।’

सुनसरीका १२ पालिकाकै मतगणनास्थलमा तारजाली हालिएको छ । चुनावी नतिजा पनि करिब सय मिटर टाढैबाट सुन्नुपर्ने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । धनकुटामा पनि बन्द कोठाभित्र तारघेरा हालेर मतगणना गरिएको छ । मतगणना कार्यमा अवरोध भएका केही घटनाका कारण सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

गणना गरिने कोठामा सीसीटीभी क्यामेरासहित संखुवासभाका पनि १० वटै स्थानीय तहको मतगणना स्थलमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि र गणक बस्ने स्थानको झन्डै ५ मिटर वरिपरि तारजाली रहेको छ । यहाँ २०७४ को स्थानीय, प्रदेश एवं संघीय निर्वाचनमा तारजाली र सीसीटीभी जडान गरिएको थिएन । जिल्ला बार एकाइका अध्यक्ष उमेश शाक्य ५ वर्षअघिको ‘भरतपुर काण्ड’ ले सबैलाई त्रसित पारेको बताउँछन् । आठवटा पालिका रहेको सोलुखुम्बुको सबै गतगणनास्थलमा पहिलो पटक तारजाली लगाइएको छ । खोटाङका १० र भोजपुरका ९ गणनास्थलमा समेत तारजाली हालिएको छ । भोजपुरका डीएसपी राजकुमार राईले तारजाली गरेपछि नियतवश बिथोल्न खोज्नेलाई सहज नहुने बताए । १० पालिका भएको इलाम, ६ पालिका भएको तेह्रथुम, ८ पालिका भएको ओखलढुंगा, ८ पालिका भएको पाँचथर र ९ पालिका भएको ताप्लेजुङमा पनि सबैतिर तारजालीभित्र मतगणना भइरहेको छ । दलका नेता–कार्यकर्ता इमानदार नहुँदा मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गर्नुपर्ने अवस्था देखिएको उदयपुरका नागरिक समाजका सीएम गुरागाईंले बताए । ‘मतदानजस्तो पवित्र दान अरू केही हुँदैन, त्यही दान दिएको वस्तु गणना गर्नसमेत तारजाली लगाउनुपर्ने अवस्था हुनु दुःखद हो,’ उनले भने ।

कर्णालीका सबैजसो स्थानीय तहमा मतगणनास्थलमा तारजाली लगाइएको छ । ‘मतपत्रको सुरक्षाका लागि यति त गर्नैपर्‍यो नि,’ सल्यानका डीएसपी सुमित खड्काले भने, ‘माथिसम्म नलगाइए पनि घुँडासम्म पुग्ने गरी गणनास्थलमा तारबार लगाएका छौं ।’ सुर्खेतमा भने सिसाको ‘पार्टेसन’ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले भने, ‘अहिले मतपत्र जोगाउन सकिन्न कि भन्ने चुनौती देखियो । आवेगमा जे पनि गर्न सक्ने भएकाले तारजाली लगाएर मत गणनास्थल सुरक्षित पारिएको होला ।’

सभ्य र सुसंस्कृत ठाउँमा तारजाली लगाउनु नपर्ने भए पनि नेपालको लोकतन्त्र कलिलो भएकाले यस्तो उपाय अवलम्बन गरिएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् । ‘यदि मतपत्रको सुरक्षा भएन भने पुनः निर्वाचनमा जाँदा खर्चिलो र झन्झटिलो हुन्छ, मतदातामा पनि नैराश्य देखिन्छ,’ उनले भने, ‘त्यसैले पनि मतपत्र जोगाउन तारजालीको विकल्प देखिएन ।’

सुदूरपश्चिमका ९ जिल्लाका ८८ वटै मतगणना स्थल ग्याबेन वायरको तारजालीभित्र सुरु गरिएको छ । निर्वाचन आयोगको कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले मतपत्रको सुरक्षाका साथै स्थानीय सुरक्षा चुनौतीलाई मध्यनजर गरी यस्तो गरिएको बताए । ‘सुदूरपश्चिमका स्थानीय तहका मतदाताको संख्या हेरेर १ देखि तीन समूहले गणना गर्न सक्ने ठाउँमा तारबार लगाइएको छ,’ उनले भने ।

बझाङ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले यस्तो हुनुमा लोकतन्त्रमा ‘बाँदर प्रवृत्ति’ हावी भएको बताए । लोकतन्त्रमा मतको सुरक्षा चुनौती हुनु भनेको शासन व्यवस्थामाथि नै चुनौती थपिएको उनको भनाइ छ । डडेलधुरा क्याम्पसका उपप्राध्यापक मोहन भट्टले निर्वाचन गराउन सुरक्षा व्यवस्था गर्न सक्ने सरकारले मतगणना तारजालीभित्र गर्नु भनेको लोकतन्त्रका लागि हास्यास्पद भएको बताए ।

२०७४ को स्थानीय निर्वाचनमा मतगणनाका बेला धनुषाको नगराइन नगरपालिकामा मतपत्र नै चपाउन खोजेपछि ठूलै हल्लीखल्ली भएको थियो । मतगणना गर्ने क्रममा आफूपक्षीय उम्मेदवारले सन्तोषजनक मत नपाएको झोंकमा मतपत्र नै चपाउने प्रयास गरे । तर, सुरक्षाकर्मीको सहयोगमा गणकले उनको मुखभित्र हालिएको मतपत्र सुरक्षित रूपमै निकाल्न भ्याए । त्यतिबेला, मतगणनास्थल खुल्ला र सहज पहुँचमा थियो । त्यसकै फाइदा उठाउँदै उम्मेदवारका समर्थकले मतपत्र सजिलैसँगै थुतेर चपाउने प्रयास गरे । अहिले मधेस प्रदेशका सबै १ सय २६ स्थानीय तहमा मतगणनास्थल तारजालीले बारिएको छ । देशकै सबभन्दा बढी स्थानीय तह २० वटा रहेको सर्लाहीमा पनि मतगणनास्थलको सुरक्षा गर्न भन्दै सबै तारजाली हालिएको छ । सदरमुकाम मलंगवा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ । जहाँ कडा सुरक्षा व्यवस्था भए पनि तारजाली राखिएको छ ।

लोकतन्त्रमा जनताको अभिमत बुझ्न तारजालीभित्र मतगणना गर्नु लोकतन्त्रको उपहास भए पनि दलकै कार्यकर्ताका कारण सुरक्षा व्यवस्था कडा बनाइएको नागरिक अगुवा रजनीकान्त झा बताउँछन् । राजनीतिमा नीति र सिद्धान्त हराएकाले यस्ता समस्या आइरहेको उनको भनाइ छ । नागरिक समाजका महासचिव शिवचन्द चौधरीले जनताको अभिमतको सुरक्षा गर्नु निर्वाचन आयोगको धर्म भएकाले पनि यो स्थिति आएको जनाए । ‘आनो पक्षमा माहोल भएन भने दलका नेता तथा कार्यकर्ताहरू जे पनि गर्न तयार हुन्छन्,’ उनले भने, ‘यसतर्फ निर्वाचन आयोग सतर्क भएको देख्न पाइरहेको छ ।’

दलहरूले आफ्ना कार्यकर्तालाई लोकतान्त्रिक संस्कार दिन नसक्दा मतगणनास्थलमा तारजाली बारबेर गर्नुपर्ने अवस्था आएको पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । उनले प्रत्येक निर्वाचनमा मतपत्रको सुरक्षाको विषय पेचिलो बन्दै गएको र तारजाली लगाउनुपर्ने अभ्यासबाट लोकतन्त्र संस्थागत नहुने बताए । ‘विवेक र संस्कारयुक्त राजनीति विकसित गर्नुपर्नेमा तारजाली नै लगाउनुपर्ने बाँदरे संस्कृति विकास भयो । यसलाई सुधार गर्न दलहरू नै नलागी हुन्न ।’

निर्देशिकामा के छ ?

स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १५ को उपदफा १ क–ले मतगणनास्थलमा पुग्ने व्यक्तिबारे स्पष्ट व्यवस्था गरेको छ । गणना कार्यका लागि खटाइएका कर्मचारी, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, आयोगबाट पर्यवेक्षकका लागि अनुमति प्राप्त व्यक्ति वा आयोगबाट खटिएको पदाधिकारी वा अनुमति पाएको कर्मचारी वा व्यक्ति मात्र गणनास्थलमा बस्न पाउने व्यवस्था छ । त्यस्तै, गृह मन्त्रालयको स्थानीय तह निर्वाचन ‘सुरक्षा निर्देशन’ ले पनि मतगणनास्थल सुरक्षाका लागि ‘पारदर्शी छेकाबार’ लगाउन निर्देशन गरेको छ । त्यहीअनुसार निर्वाचनका लागि खटिएका सबै निर्वाचन अधिकृतहरूले मतगणनास्थलमा तारबार, फलामका डन्डी, डोरी प्रयोग गरेर घेरा बनाएका छन् ।

०००

पर्वत पोर्तेल (झापा), प्रदीप मेन्याङ्बो (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), भानुभक्त निरौला (सोलुखुम्बु), डिल्लीराम खतिवडा (उदयपुर), डम्बरसिं राई (खोटाङ), दीपेन्द्र शाक्य (संखुवासभा), विनोद भण्डारी (विराटनगर), अजित तिवारी (जनकपुर), ओमप्रकाश ठाकुर (सर्लाही), घनश्याम गौतम (रूपन्देही), दुर्गालाल केसी (दाङ), माधव अर्याल (पाल्पा), सञ्जु पौडेल (लुम्बिनी), मनोज पौडेल (कपिलवस्तु), वीरेन्द्र केसी (अर्घाखाँची), नवीन पौडेल (नवलपरासी), कमल पन्थी (बर्दिया), हरि गौतम (रुकुम पूर्व), काशीराम डाँगी (रोल्पा), चित्रांग थापा (धनगढी) र कृष्णप्रसाद गौतम (सुर्खेत)

प्रकाशित : जेष्ठ १, २०७९ ०२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?