कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युवक मृत्यु प्रकरण : स्थानीयले घेरे कटारीको कालिका मावि मतदान केन्द्र 

शुक्रबारदेखि शव र मतपेटिका उठाउन सकिएन
डिल्लीराम खतिवडा

उदयपुर — कटारी नगरपालिका–१० सोरुङछबिसेस्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटिका अझै उठाउन सकिएको छैन । शुक्रबार मतपेटिका उठाउने क्रममा भएको झडपपछि स्थानीय १९ वर्षीय नवीन भनिने वीरबहादुर कटुवालको मृत्यु भएको थियो ।

युवक मृत्यु प्रकरण : स्थानीयले घेरे कटारीको कालिका मावि मतदान केन्द्र 

प्रहरीको गोली लागि युवकको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले मतदान केन्द्र घेरा हालेर बसेका कारण मतपेटिका उठाउन नसकिएको हो ।

शुक्रबार दिनभर शान्तपूर्ण तरिकाले मतदान भए पनि मतपेटिका सिल गर्ने क्रममा स्थानीयसँग झडप भएको थियो । मतपेटिका सुरक्षित गरी नगरपालिकाको केन्द्र कटारी बजार ल्याउनका लागि गएको प्रहरी निरीक्षकको टोलीले गोली चलाउँदा नवीनको मृत्यु भएको स्थानीयले वताए । नवीनको मृत्युपछि आक्रोशित स्थानीयले विद्यालय परिसरमै राखिएको शवसहित मतपेटिका, मतदानका लागि खटिएका कर्मचारी, सुरक्षाकर्मीलाई अहिलेसम्म घेरिरहेका छन् ।

‘करिब ३ सयको संख्यामा रहेका स्थानीयले मतदानस्थलमै राखिएको शव, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीलाई बाहिर निस्किन दिएका छैन,’ एमालेवाट वडाध्यक्षका उम्मेदवार क्षेत्रबहादुर खड्काले भने, ‘हिजोदेखि घेरा हालेर बसेका सर्वसाधारणले अहिलेसम्म छोडेका छैनन् ।’

कटारी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरासहित जिल्ला सुरक्षा समितिका पदाधिकारी, दलीय प्रतिनिधि, उम्मेदवार र सरोकारवालासहितको बैठकले सोरुङछबिसेस्थित कालिका मावि मतदान केन्द्रमा सुरक्षाकर्मीले गोली चलाउँदा कटुवालको मृत्यु भएको ठहर गरेको छ । बैठकले मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने, घटनामा घाइते मोहनबहादुर श्रेष्ठलगायत घाइतेको सम्पूर्ण उपचार खर्च र क्षतिपूर्ति नेपाल सरकारले उपलब्ध गराउन लेखिपठाउने र निर्वाचन आयोगको निर्देशनअनुसार निष्पक्ष रुपमा निर्वाचनको बाँकी काम निर्वाचन अधिकृतले अगाडि बढाउनेलगायत निर्णय गरेको छ । तर कटारी निर्णय भए पनि सोरुङछबिसेमा अहिलेसम्म स्थानीयले धर्ना दिइरहेका छन् ।

शुक्रबार प्रहरीको गोली खुट्टामा लागी घाइते भएका १४ वर्षीय मोहन श्रेष्ठ घाइते भएका छन् । काठमाडौंस्थित ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । घरमा बसिरहेका बेला उनलाई गोली लागेको थियो । त्यसैगरी सर्वसाधारणसँगको झडपमा टाउकामा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका थिए ।

मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । चन्द समूहका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफनो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएको बताउँदै आएका छन् । उनले कांग्रेस कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताए ।

सिलबन्दी गर्नेक्रममा ५०/६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएको सुरक्षा निकायले बताएको छ । सोरुङछबिसे घटनाका कारण कटारी नगरपालिकको मतगणना अनिश्चित बन्दै गएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?