बर्दिवासमा ५ घन्टादेखि मतगणना कार्य अवरोध

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवासमा सार्वजनिक गरिएको मत परिणामको विषयमा विवाद हुँदा ५ घन्टादेखि मत गणना कार्य अवरुद्ध भएको छ । शनिबार दिउँसो ३ बजे बर्दिवास नगरपालिकाको वडा नम्बर ८ मा माओवादी केन्द्रको विजय भएको निर्वाचन कार्यालयले घोषणा गरेको थियो ।

बर्दिवासमा ५ घन्टादेखि मतगणना कार्य अवरोध

वडा अध्यक्षमा शमशेर सिंह लामा ७ सय ५३ मत प्राप्त गरी विजय भएको घोषणा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले गरेका थिए । मत परिणाम घोषणा भएपछि सिंहका निकटतम प्रतिद्वन्द्वी देखिएका एमालेका रुद्र किङरिङ विजय भएको परिणाम सार्वजनिक हुनुपर्ने भन्दै एमालेले विवाद सुरु गरेको थियो । किङरिङले ७ सय ४४ मत प्राप्त गरेका निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । जम्मा ९ मतको मतान्तर देखिएकोमा एमालेले पहिलेनै आफ्नो उम्मेदवार विजय भएको र सार्वजनिक गर्नेबेला धाँधली गरेर सार्वजनिक गरेको आरोप निर्वाचन कार्यालयलाई आरोप लगाएपछि मतगणना अवरुद्ध भएको हो ।

एमालेका जिल्ला संयोजक टेकबहादुर बलम्पाकिले एमाले जित्यो भनेर निस्केको माओवादी जितेको परिणाम सार्वजनिक भएकाले त्यसको विरुद्ध उत्रिएको बताए ।एमालेको कुरामा स्वतन्त्र प्यानलले पनि ऐक्यबद्धता जनाएपछि निर्वाचन मतगणनामा अवरोध भएको हो । एमालेले फेरि रुजु गर्नुपर्ने माग राखेकोमा त्यही माग आफूहरुको रहेको मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षत्रीले बताए ।

एमाले र स्वतन्त्र उम्मेदवारको समूहले मतगणना सुचारु गर्ने अवरोध गर्दै आफ्ना मागलाई सम्बोधन गर्न अडान राखेपछि निर्वाचन कार्यालय बर्दिबासले मतगणना फारम रुजु गर्न थालेको छ ।मत गणनामा कुनै धाँधली नभएकाले मतगणना फारम रुजु गर्ने कार्य भइरहेको निर्वाचन अधिकृत भोपेन्द्र सापकोटाले जानकारी दिए ।

रुजु सकिएपछि आउने परिणाम अन्तिम हुने सापकोटाले बताएका छन् । यता माओवादी भने फारम रुजु गर्ने कार्यको विपक्षमा भएकाले अब निस्किने परिणाम बद्लिएमा नमान्ने अडान राखेको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरिसकेको परिणाम बद्लिएमा कानुनी प्रक्रियाबाट सच्याउनु पर्ने केन्द्रको माग रहेको माओवादीका नेताका नेता राजन ढुंगानाले बताए ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?