नेपालगन्ज उपमहानगरमा मतगणना सुरु - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

नेपालगन्ज उपमहानगरमा मतगणना सुरु 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयको हलमा मतगणना सुरु भएको हो । शनिबार बिहान ८ बजेबाट गणना सुरु हुने भनिए पनि घण्टौंपछि सुरु भएको हो । 

मतगणना स्थलमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन भएका छन् । मतगणना भइरहेको स्थानमा जाली लगाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । ‘नेपालगन्जको मतगणना सुरु भइसकेको छ, मतगणना स्थलमा जाली लगाएर मतगणना गरिरहेका छौं,’ उनले भने । मतगणना स्थल भेरी प्राविधिक शिक्षालयको मुलगेट भन्दाबाहिर ठूलो संख्यामा सर्वसाधारणको भिड छ । नेपालगन्जको २३ नम्बर वडाबाट मत गणना थालिएको छ । जिल्लाका अन्य पालिकामा पनि मत गणना भइरहेको छ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगञ्जमा बच्चा च्यापेरै मतदानमा मुस्लिम महिला

रुपा गहतराज

नेपालगन्ज — मुस्लिम समुदायको बाहुल्य बसोबास रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा महिला मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बुर्का र घुम्टोभित्र रहेका महिलाहरूसमेत मतदानमा उत्साहपूर्णरुपमा सहभागी भएका छन् । खुला र सक्रिय राजनीतिबाट टाढै रहेका ती महिला काखे बच्चा च्यापेरै पनि मतदानस्थल पुगेका छन् ।

नेपालगंन्ज उपमहानगरको वडा नं ४, ११ र २२ का मतदानस्थलहरुमा मुस्लिम महिलाहरु बाक्लो सहभागिता देखिएको छ ।

यहाँ सत्ता गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राई उम्मेदवार छन् । त्यस्तै, एमालेबाट मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल तथा राप्रपाबाट मेयरमा नन्दलाल वैश्य र उपमेयरमा विन्दु चर्तीमगर उम्मेदवार छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १५:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×