कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मतपत्र ढाँचाले मतदातामा अन्योल : पर्यवेक्षक

काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपत्र ढाँचा जटिल हुँदा मतदाताहरू अन्योलमा रहेको पर्यवेक्षकहरूले निष्कर्ष निकालेका छन् । पूर्वप्रधानन्यायाधीश, निर्वाचन आयुक्त तथा प्रशासकसहित ९ जना विशेष पर्यवेक्षक तथा चार सय पर्यवेक्षकको समूह ‘आम निर्वाचन पर्यवेक्षण समिति’ (जियोक) का अनुसार ठूलो संख्यामा मतदाता कसरी मत खसाल्ने भन्नेबारे जानकार थिएनन् । 

मतपत्र ढाँचाले मतदातामा अन्योल : पर्यवेक्षक

‘आम रूपले चुनाव निकै शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ,’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘तर, अपर्याप्त मतदाता शिक्षा र अनावश्यक रूपले जटिल मतपत्रका कारण मतदाता सुसूचित र विवेकपूर्ण मतदान गर्ने अधिकारबाट वञ्चित हुन पुगेका छन् । यो चिन्ताजनक विषय हो ।’ निर्वाचन आयोग, दल र तिनका उम्मेदवारहरू मतदातालाई मत खसाल्ने तरिका बुझाउने सवालमा असफल भएको देखिएको पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको निष्कर्ष छ ।

‘पहिलेको तुलनामा चुनाव बढी छरितो, शान्त र संयमित देखिए पनि मतदाता शिक्षाका मामिलामा धेरै त्रुटि पाएँ,’ विशेष पर्यवेक्षकका रूपमा मतदान केन्द्रको निरीक्षणमा खटिएका पोखरेलले भने, ‘यसले गर्दा बदर मत संख्या पहिलेभन्दा पनि बढ्न जाने देखियो ।’

जियोकले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यक रूपमा ठूलो, भ्रामक र जटिल भएको’ टिप्पणीसमेत गरेको छ ।

‘उम्मेदवारहरू, ती सम्बद्ध दल र मतपत्रमा उनीहरूले पाएको चिह्नका बारेमा निश्चित ढंगले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति व्यापक र प्रभावकारी हुनुपर्नेमा त्यसको अभाव अति नै खट्केको पाइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवार नै नरहेको निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्रको औचित्य र वैधताको प्रश्नसमेत उपस्थित रहेको पाइयो ।’

प्रकाशित : वैशाख ३१, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?