२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

३७ ठाउँमा झडप, गोली लागेर एकको मृत्यु

५१ ठाउँमा हवाई फायर । रौतहटमा मतपेटिका लुट्ने प्रयास । मानवअधिकार आयोग भन्छ– निर्वाचन शान्तिपूर्ण हुन सकेन
कान्तिपुर टिम

काठमाडौँ — स्थानीय तह निर्वाचनका क्रममा देशभर तीन दर्जन ठाउँमा झडपका घटना भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई ठाउँमा गोली चलाएको छ भने ५१ ठाउँमा हवाई फायर गरेको छ ।

३७ ठाउँमा झडप, गोली लागेर एकको मृत्यु

उदयपुरको कटारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा भएका झडपमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । रौतहटमा दलका कार्यकर्ताले मतपेटिका लुट्ने प्रयास गरेका छन् । केही केन्द्रको मतदान प्रक्रिया स्थगन गरिएको छ ।

उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेमा शुक्रबार मतदान केन्द्र सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । एक बालक र प्रहरी जवान घाइते भएका छन् । प्रहरीले चलाएको गोली छातीमा लाग्दा स्थानीय १९ वर्षीय नवीन कटुवालको घटनास्थलमै मृत्यु भएको हो । खुट्टामा गोली लागेका १४ वर्षीय मोहन श्रेष्ठ घाइते भएका छन् । उनी घरमा बसिरहेका थिए । त्यसैगरी सर्वसाधारणसँगको झडपमा टाउकामा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ ।

कालिका मावि मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि गोली चलेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । घटनास्थल विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भइनसकेको उनले बताए । मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएको बताएका छन् । उनले कांग्रेस कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताए । सिलबन्दी गर्नेक्रममा ५०/६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएको प्रजिअ यादवले बताए । प्रहरीले एसएलआरबाट ४ र थ्रीनटथ्री राइफलबाट ४ गरी ८ राउन्ड गोली फायर गरेको जनाएको छ ।

बाँकेको कोहलपुरमा एमाले र माओवादी कार्यकर्ताबीच खुकुरी हानाहान हुँदा दुई जना तथा हुम्लाको खार्पुनाथमा कांग्रेस–माओवादी र एमालेबीच झडप हुँदा १० जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडप भएका छन् ।

धनुषाको सहिदनगर १ मा प्रहरीले रबरको गोली प्रहार गरेको थियो भने ओखलढुंगाको चम्पादेवी, मोरङको जदाहा, झापाको गौरादह, मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीका विभिन्न स्थान, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रिएटर एकेडेमी, खप्तड छेडेदह गाउँपालिकाको मालिका मावि र धनाल्त आधारभूत विद्यालय, बझाङको केदारस्युँ गाउँपालिका ४ थलारा, रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

बर्दियाको बाँसगढी नगरपालिका ९ धुमनीको लालीगुराँस मावि माछागढमा विक्रम भण्डारीले मतदान गर्न गएका बखत मतपत्रमा छाप लगाई मतपेटिका नजिक पुगेर स्थानीय तह निर्वाचन बहिष्कार गरौं भन्दै मतपत्र च्यातेपछि स्थिति बिग्रिएको थियो । लगत्तै उनलाई प्रहरीले पक्राउ गरेपछि मतदान स्थगन भएको थियो । रुकुमपश्चिमको मुसिकोट नगरपालिका ९, चौखावाड मतदान स्थलमा अर्कैको नाममा मत दिन खोजेपछि विवाद हुँदा झडप भएको थियो । डोल्पाको जगदुल्लास्थित आधारभूत विद्यालयमा मतपत्रमा सिरिन्जबाट मसी पोतेर मतपेटिकामा हाल्ने प्रयास भएको थियो । मतदानस्थलमा जम्मा भएका नेता–कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा २४ सर्वसाधारण र ६ प्रहरी घाइते भएका छन् । हिंसात्मक गतिविधि गरेको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको बैतेश्वरमा भएको चुनावी झडप रोक्न प्रहरीले १३ राउन्ड, हुम्लाको चंखेलीमा स्वतन्त्र र माओवादी उम्मेदवारबीच भएको झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले ८ राउन्ड र सप्तरीको बसबिट्टीमा ५ राउन्ड र हुम्लाकै अदानचुलीमा भएको झडप नियन्त्रणका लागि प्रहरीले ५ राउन्ड हवाईफायर गरेको थियो । सर्लाहीको धनकौलमा कांग्रेस, एमाले र माओवादीबीच भएको त्रिपक्षीय झडपमा प्रहरीले एक दर्जनभन्दा धेरै हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । पर्साको मिर्जापुरमा सत्ता गठबन्धन र एमालेबीच विवाद बढेपछि प्रहरीले ४ राउन्ड, अछामको साँफेबगरमा झडप भएपछि प्रहरीले ३ राउन्ड र दार्चुलाको शैल्यशिखर नगरपालिका ६ मा एमाले र कांग्रेसबीच भएको चुनावी झडपमा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो ।

रौतहटको यमुनाई गाउँपालिका–२ स्थित भेडियाही मतदान केन्द्रमा शुक्रबार बिहान निकै उत्साहपूर्वक मतदान भइरहेको थियो । अपराह्न लोसपा र अन्य दलका कार्यकर्ताबीच मतदानकै विषयलाई लिएर विवाद बढ्दा झडपको स्थिति बन्यो । यहीबीच केही स्थानीयले मतदान केन्द्र प्रवेश गरेर मतपेटिका लुटे । हवाईफायर गर्दै सुरक्षाकर्मीले लखेटेपछि झन्डै ३ सय मिटर पर पुगेका उनीहरू मतपेटिका छाडेर भागेका थिए । उनीहरूले पहिले नै मतपेटिकामा पानी हालिसकेका थिए । मतपत्र भिजेर कामै नलाग्ने भएको छ । घटनाका विषयमा प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले १ र २ वडाको मतदान स्थगित गरेको जनाएको छ । शुक्रबार अपराह्न ४ बजे लोसपा कार्यकर्ता र अन्य दलबीच विवाद सुरु भएको थियो । त्यसै मौकामा स्थानीयले मतपेटिका लुटेको सुरक्षा अधिकारीको भनाइ छ ।

मतपेटिका काँधमा राखेर भागेका स्थानीयलाई सुरक्षाकर्मीले पनि रोक्न सकेनन् । सुरक्षाकर्मीको बीचबाटै पेटिका लुटिएको हो । २ हजार ९२ मतदाता रहेको उक्त केन्द्रमा अपराह्नसम्म ५ सयमात्र मत खसेको थियो । मतदाता चर्को गर्मीका कारण दिउँसो ढिलो गरी मतदानका लागि आइरहेका थिए । त्यहीबीच मतदान केन्द्रमा विवाद सुरु भइसकेको स्थानीय कृष्णदेव यादवले बताए । ‘लोसपाका कार्यकर्ता बिहानदेखि विवाद निकाल्ने मुडमा थिए,’ उनले भने, ‘दिउँसो मतदाता बढ्न थालेपछि सामान्य कुरामा पनि निहुँ खोज्न थाले । त्यसपछि मतपेटिका बोकेर भागे ।’

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार भेडियाही मतदान केन्द्रमा ३० प्रतिशत मात्र मतदान भएको थियो । त्यहीबीच विवाद सुरु भएको र बल प्रयोग गर्न लाग्दा हूलहुज्जत गरी मतपेटिका लगेको बताए । ‘स्थानीयले लुटेर लगेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्,’ उनले भने, ‘सुरक्षा व्यवस्था फितलो होइन, बल प्रयोग गर्नुअघि विवाद मिलाउन छलफल गर्ने भन्दै गर्दा केही व्यक्ति आएर मतपेटिका

उठाएर लगे ।’

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले रौतहटमा मतपेटिका लुटिएको घटनाले दुःखी भएको बताए । ‘मैले पनि मतपेटिका बोकेर स्थानीय भाग्दै गरेको तस्बिर सामाजिक सञ्जालमा देखें,’ उनले भने, ‘रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्छु । यो लापरबाही हो ।’ यस्तै, बौधीमाई नगरपालिकाको कंकालीमाई मावि सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा बाकस तोडफोड गरी आगो लगाइएको छ । मतदान केन्द्रमा थोरै सुरक्षाकर्मीको भर पर्दा धेरै स्थानमा झडपका घटना भएका हुन् ।

यमुनामाई गाउँपालिका–१ स्थित मावि चिकना जेठरहिया ‘क’ मतदान केन्द्रमा दिउँसो विवादपछि झडप हुँदा स्थानीयले मतपेटिका तोडफोड गर्दै पानी खन्याइदिएका छन् । मतपेटिका तोडफोड गरिए पनि सुरक्षाकर्मीले घटनालाई रोक्न सकेन । जिल्लाका विभिन्न स्थानमा झडप रोक्न ३० राउन्ड बढी हवाई फायर गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी सुनिल मल्लले बताए । फतुवा विजयपुर नगरपालिकामा रातिसम्म झडप र गोली चलेको डीएसपी मल्लले सुनाए । जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले अहिलेसम्म बौधीमाईको मात्र मतदान स्थगित गरिएको पत्र निर्वाचन अधिकृतबाट पाइएको बताए । विवाद भएका यमुनामाई, गढीमाई, फतुवा विजयपुर केन्द्रको पनि स्थगित हुन सक्ने उनले बताए ।

फर्जी मतदान गरेको विषयमा विवाद हुँदा धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र वडा कार्यालय स्थलका तीनवटा केन्द्रमा मतदान स्थगित भएको छ । अनुपस्थितका नाममा मतदान गरेको विषयमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद बढ्दै गएपछि मतदान स्थगित गर्नुपरेको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मुख्य निर्वाचन अधिकृत पराजुली, सुरक्षा प्रमुखहरू पुगेर विवाद टुंग्याउने प्रयास गरेका थिए । उक्त मतदानस्थलका तीन केन्द्रमा २० प्रतिशत मत खसेको थियो । विवाद उत्पन्न भए पनि मतदानका लागि टाढाटाढाबाट आएकाहरू लामबद्ध भएर दिनभर बसेका थिए । ‘स्थगित गरिएकोबारे निर्वाचन आयोगमा जानकारी पठाइने छ,’ पराजुलीले भने, ‘आयोगले अर्को मिति तय गरेपछि पुनः मतदान हुनेछ ।

काभ्रेको पाँचखाल–१३ कोसीदेखास्थित श्रीराम मतदान केन्द्रमा पनि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले बताए । विवाद बढेपछि भएको छलफलबाट पनि सुचारु गर्ने स्थिति नबनेपछि मतदान स्थगित गरिएको दुलालले बताए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकै पटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो । मतदानका लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो । कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपका कारण रामेछापको खाँडादेवी गाउँपालिका—१ राकाथुम मतदान केन्द्रको मतदान स्थगित भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरी थप घटना हुन दिएन तर मतदान कार्य भने दिनभरको प्रयास गर्दा पनि सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

दलका कार्यकर्ताबीचको विवाद नसल्टिँदा अछामका तीन मतदान केन्द्रमा शुक्रबार मतदान स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठका अनुसार पञ्चदेवल विनायक नगरपालिका–५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि बिहानैदेखि मतदान हुन सकेन । झडपका क्रममा मतपेटिका तोडफोडका साथै मतपत्र च्यातिएका छन् भने ४ जना घाइते भएका छन् । कांग्रेस–एकीकृत समाजवादी गठबन्धन र एमाले कार्यकर्ताबीचको विवादले साँफेबगर नगरपालिका–१३ बाब्लामा पनि मतदान स्थगित भएको छ । अछामको ढकारी गाउँपालिकास्थित कालिका मावि मतदान केन्द्रमा पनि दलका कार्यकर्ताबीच आपसमा कुटाकुट भएपछि मतदान स्थगित भएको छ । स्थगित गरिएको मतदान निर्वाचन आयोगको निर्देशनअनुसार अर्को मितिमा सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

बझाङका दुई मतदानस्थलमा अज्ञात समूहले बम राखेका कारण ढिलो गरी मतदान सुरु भएको थियो भने विवादका कारण चारवटा केन्द्रको मतदान स्थगित गरिएको छ । जयपृथ्वी नगरपालिका–१ स्थित नारायण मावि मतदान केन्द्रमा अज्ञात व्यक्तिले दुईवटा प्रेसर कुकर बम र बुंगल नगरपालिका–८ स्थित महादेव मावि अठपाली जाने बाटोमा बट्टामा विस्फोटक पदार्थ फेला परेको थियो । नेपाली सेनाको टोलीले दुवै ठाउँमा भेटिएको विस्फोटक पदार्थ निष्क्रिय बनाए पनि बम राखिएको खबरले जिल्लाभर मतदातामा त्रास फैलिएको थियो ।

यस्तै जिल्लाका चार केन्द्रमा तनावको अवस्था सिर्जना भएपछि मतदान नै स्थगित गर्नुपरेको छ । केदारस्युँ गाउँपालिको सैन्सु मतदान केन्द्रमा फर्जी मत हालेको विषयमा भएको विवादले झडपको रूप लिएपछि मतदान स्थगित गरिएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिका–७ को सुनिपीपलचौर माविमा नेकपा माओवादी केन्द्रकी प्रतिनिधि रमा जोशीले मतपेटिका फुटाएपछि एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो । झडपपछि जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर केहीबेरपछि छाडेको थियो भने उक्त केन्द्रको मतदान स्थगित गरिएको छ । यस्तै सुर्मा गाउँपालिकाको डोगडी र काटै केन्द्रमा पनि झडप भएपछि मतदान स्थगित गरिएको छ । अपांगता भएका तथा अशक्त व्यक्तिको मत हाल्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । स्थगित भएका सबै केन्द्रमा केही दिनभित्रै फेरि मतदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । निर्वाचन अनुगमनपछि आयोगले पत्रकार सम्मेलन नै गरेर यस्तो बताएको हो । सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रूपमा शान्तिपूर्ण हुन नसकेको बताए । आयोगका ४५ टोलीले ७७ जिल्लाको निर्वाचनको अनुगमन गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपालियाले अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण भए पनि एकै पटक निर्वाचन हुँदा केही स्थानमा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रमा अप्रत्याशित र अवाञ्छित गतिविधि भएको बताए । उनले देशभर ३२ वटा केन्द्रमा झडप र विवादका कारण मतदान स्थगित भएको जनाए । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा राजनीतिक दलहरूको भूमिकाप्रति चिन्तित भएको उल्लेख गरे । ‘राजनीतिक दलका उम्मेदवारहरूबीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनुपर्ने हो, तदअनुसार व्यवस्था गर्नै नसकिँदा, साह्रै सानातिना विवादमा पनि अनावश्यक विवाद सिर्जना भई उग्ररूप लिँदा सुरक्षा व्यवस्था र राजनीतिक दलहरूको व्यवस्थापनका विषयमा आयोग चिन्तित र सशंकित भएको अवस्था स्पष्ट गर्न चाहन्छु,’ शुक्रबार मतदानको समय सकिएपछि उनले भने ।

गृह मन्त्रालयले भने केही स्थानमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले केहीबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए । ‘केही ठाउँमा निर्वाचनविरोधी गतिविधि भए, बिथोल्ने प्रयास भयो,’ उनले भने, ‘जुन–जुन ठाउँमा निर्वाचनविरोधी गतिविधि भए, ती ठाउँको मतदान रद्द भएको छ ।’ उनले निर्वाचनविरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको, परिस्थिति नियन्त्रणमा लिन हवाई फायर भएको र त्यस क्रममा केही मानिस र सुरक्षाकर्मी घाइते भएको उनले बताए । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले शान्तिसुरक्षा व्यवस्थापन चुस्त बनाइएका कारण छिटपुटबाहेकमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए ।

निर्वाचन आयोगले बढी प्रतिस्पर्धा हुने, दलहरूका बागी उम्मेदवार भएका, भूमिगत समूह पहिचान गरिएका क्षेत्र, चुनाव बहिष्कार गर्ने समूहका गतिविधिलक्षित गरेर एक जना सचिव र थप १८ सहसचिव नेतृत्वका छुट्टाछुट्टै संयन्त्रलाई मतदान निगरानीका लागि खटाएको थियो । निर्वाचनपूर्व तयारीदेखि मतपरिणाम नआएसम्मका लागि फिल्ड र मतगणना स्थलमा खटिने गरी १ लाख म्यादीसहित ७० हजारभन्दा बढी सेना, ३२ हजारभन्दा बढी सशस्त्र र करिब ६५ हजार प्रहरीलाई तैनाथ भएका छन् । मतगणना स्थलमा निर्वाचन आयोगले सीसीटीभी जडान गरेर निगरानी गर्न भनिसकेको छ । मतपत्र च्यात्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा सावधानी अपनाइएको हो ।

मातृका दाहाल (काठमाडौं), डिल्लीराम खतिवडा (उदयपुर) शिव पुरी (रौतहट), रमेशचन्द्र अधिकारी (धनकुटा), नगेन्द्र अधिकारी (काभ्रे), टीकाप्रसाद भट्ट (रामेछाप), मेनुका ढुंगाना (अछाम) र वसन्तप्रताप सिंह (बझाङ)

प्रकाशित : वैशाख ३१, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?