कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वतमा ६५ प्रतिशतभन्दा बढी मत खस्यो, शनिबार बिहानदेखि मतगणनाको तयारी 

अगन्धर तिवारी

पर्वत — स्थानीय तहको निर्वाचनअन्तर्गत पर्वतमा शुक्रबार ६५ प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगको जिल्लास्थित कार्यालयका अनुसार कुल एक लाख २२ हजार ५० मध्ये ७९ हजार सात सय ९६ मत खसेको हो ।

पर्वतमा ६५ प्रतिशतभन्दा बढी मत खस्यो, शनिबार बिहानदेखि मतगणनाको तयारी 

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार सबैभन्दा धेरै जलजला गाउँपालिकामा ६८ दशमलव ६४ प्रतिशत मत खसेको छ । त्यस्तै पैयुं गाउँपालिकामा ६७ दशमलव ५७ प्रतिशत मत खसेको छ । कुश्मा नगरपालिकामा ६५ दशमलव ९१, फलेबास नगरपालिकामा ६३ दशमलव ६१, महाशिला गाउँपालिकामा ६४ दशमलव ५८, मोदी गाउँपालिकामा ६४ दशमलव ११ र बिहादी गाउँपालिकामा ६३ दशमलव ३८ प्रतिशत मत खसेको छ ।

जिल्लाका सबैजसो पालिकामा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फलेवास नगरपालिका–३ स्थित महादेव आधारभूत विद्यालयमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र फेला परेपछि केहीबेर मतदान रोकिएको थियो । मतदान अधिकृत शिवप्रसाद पौडेलले हस्ताक्षर नगरी थुप्रै मतपत्र वितरण गरेको भन्दै मतदाताहरुले विरोध जनाएपछि त्यस्तो पाइएमा गणना गरिने भन्दै मुचुल्का गराएपछि मतदान प्रक्रियाअघि बढाइएको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कृष्णप्रसाद शर्माले बताए । अन्य सबैजसो केन्द्रहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकारी शर्माले बताए ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबैजसो मतदानस्थलबाट सबै पालिकाका केन्द्रहरुसम्म मतपेटिका संकलन अन्तिम चरणमा पुगिसकेको छ । मतदान सकिने समयमा वर्षा भएपछि केही मतदान केन्द्रहरुबाट मतपेटिका सुरक्षित साथ केन्द्रमा पुर्‍याउन समस्या भएको थियो । जिल्लाका पैंयु गाउँपालिकाबाहेक सबैजसो पालिकामा मतगणना शनिबार बिहानदेखि सुरु गर्ने तयारी भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । पैंयुमा आजै राति ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको पैंयुका निर्वाचन अधिकृत भूमिप्रसाद शर्माले बताए ।

प्रकाशित : वैशाख ३०, २०७९ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?