निर्वाचन कम्पाइल

कहाँ के-के भयो ?

राष्ट्रिय मानवअधिकार आयोगले ७७ वटै जिल्लामा गरेको अनुगमनको आधारमा स्थानीय निर्वाचन शान्तिपूर्ण हुन नसकेको जनाए पनि यसअघिका चुनावहरुमा जस्तो यसापालि मतदानका क्रममा कोही पनि हताहती भएको भने पाइँदैन । 
ध्रुव सिम्खडा

काठमाडौँ —  २०७९ वैशाख ३० गते एकैदिन ७ सय ५३ स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका क्रममा थुप्रै मतदानकेन्द्र तनावपूर्ण हुन पुगे । केही स्थानमा झडप, मतदान स्थगित, हवाई फायरसम्म गर्नु पर्‍यो । बाहिरी घेरामा नेपाली सेनालाई राखेर एकाध मतदान केन्द्रको चुनाव सञ्चालन गर्नु पर्‍यो । 

कहाँ के-के भयो ?

सर्लाहीको धनकौल गाउँपालिका–२ पशुसेवा केन्द्र मतदान केन्द्रमा नेपाली सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट पुनः मतदान चालु गराइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उक्त केन्द्रको मतदान झण्डै ७ घण्टा अवरुद्ध भएको थियो ।

गोरखा, भीमसेना थापा गाउँपालिका–२ अन्तर्गत ताराखसे मतदान केन्द्रमा भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा केन्द्रमा खटिएकी स्वयंसेवक घाइते भएकी छन् । स्वयंसेवी मनीषा थापाको तिघ्रामा गोली लागेको छ । कांग्रेस र माओवादीबीच विवाद बढेर गोली चलाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

बाजुराको बूढीगंगा मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच खुकुरी हानाहान हुनपुग्यो । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, गोरखा, हुम्लाका पनि केही मतदान केन्द्रमा विवादका कारण मतदान अवरुद्ध हुनपुगेको आयोगको विज्ञप्तिमा उल्लेख छ । उत्तेजित समुहले सप्तरीको डाक्नेश्वरी मतदान केन्द्रका मतदान अधिकृत शम्भुनाथ मगरलाई कुटपिट गरी मतपेटिका नै तोडफोड गरिदिए । रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा तीनजना घाइते हुनपुगे ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ को मतदान केन्द्र पनि तनावग्रस्त बन्न पुग्यो । रौतहटको यमुनामाईमा त स्थानीयले मतपत्र नै लुटेर लगेको समाचार सार्वजनिक भएको छ ।

तनहुँको व्यास नगरपालिमा प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको उनको बुबा तथा पूर्वमन्त्री गोविन्दराज जोशीले जनाएका छन् । जोशीको टाउकोमा चोट लागेको छ । काभ्रेको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माविको मतदान केन्द्रमा उत्तेजित समुहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित हुनपुग्यो ।

जेष्ठ नागरिकको मत हाल्ने विषयमा भएको विवाद बढ्दै जाँदा मतदानको समयावधि सकिंदासम्म पनि धनकुटाको सहिदभूमि गाउँपालिकाम पुनः मतदान हुन सकेन ।

यति हुँदाहुँदै पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको आयोगका प्रवक्ताले बताएका छन् ।

दुर्घटना

निर्वाचनकै दिन उता स्याङ्जाको वालिङ नगरपालिका–१४ अन्तर्गत पञ्चमूल अर्खलबासको भित्री सडकमा ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको निधन हुनपुग्यो । रुकुम पश्चिममा कांग्रेसका उम्मेदवार जनककुमार बाँठा मगर चढेको गाडीको ठक्करले बाँफीकोटका ७० वर्षीय वृद्ध प्रवीण खत्रीको मृत्यु भएको छ ।

आचारसंहिता उल्लंघन

गोरखाको पालुङटार नगरपालिकामा मतदान गर्न पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदानका बेला आचारसंहिता उल्लंघन गरे । किनभने, उनले मतदानपछि मतपत्रको फोटो खिचेर आफूले क–कसलाई मत दिएको भनेर सार्वजनिक गरेका थिए । निर्वाचन आचारसंहिताअनुसार त्यसो गर्नु संहिताको उल्लंघन हो । पालुङटार–१ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा भट्टराईले मतदान गरेका हुन् ।

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री भट्टराईलाई ‘तपाइँलाई १५ हजार जरिवान किन नगर्ने ?’ भनी भाइवरमार्फत् स्पष्टीकरण सोधेको हो ।

आचारंहिता दलका नेता/कार्यकर्ताहरुले मात्र उल्लंघन गर्ने होइन, मतदान गराउन गएका कर्मचारीहरुले पनि गर्छन् । यस्तै भयो झापामा । झापास्थित कमल गाउँपालिका–६ को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णले बिहीबार एकजना उम्मेदवारलाई ८८ वटा मतदाता परिचयपत्र दिएपछि उनी कारबाहीमा परेका हुन् । सोही जिल्लाको सरणामतीस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतलाई मादक पदार्थ सेवन गरेको भन्ने आरोपमा कारबाही गरियो ।

मतदान स्थगित

कम्तिमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगमा प्रारम्भिक सूचना आएको बताइएको भए पनि अहिलेसम्म कति मतदान केन्द्रमा मतदान स्थगित भयो भनी आयोगले जानकारी दिएको छैन । काभ्रेको पाँचखाल नगरपालिका–१३, रामेछाप खाँडादेवी–१ को राँकाथुप, रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित शीतलपुरप मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङको निर्वाचन स्थगित भएको छ ।

अरुमा भने दिउँसोतिर रोकिए पनि पुनः मतदान भएको जनाइएको छ । रामेछापका तीनवटा मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिन पुगेको थियो । राकाथुम, मानपुर र गेलुको सिक्राल केन्द्रमा मतदाताहरुबीच झडप भएपछि मतदान नै स्थगित हुन पुगेको थियो । अपरान्हतिर नुवाकोटका दुई मतदान केन्द्रमा मतदान स्थगित भए । पञ्चकन्या गाउँपालिका–५ स्थित बच्छला मावि केन्द्र र सूर्यगढी गाउँपालिका–४ हल्देकालिकास्थित कुण्डला आधारभूत विद्यालय केन्द्रमा कांग्रेस कार्यकर्ताले पैसा बाँडेको भनी माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेपछि झडपको स्थिति उत्पन्न हुँदा मतदान कार्य नै रोकिन पुगेको थियो । यी मतदान केन्द्रहरुमा पुनः मतदान गरिएको थियो । रौतहटको बोधीमाईमा एमाले–जसपाका कार्यकर्ता बीचको झगडा बढ्दै जाँदा मतपेटिकामा समेत आगजनी गरियो ।

हावाहुरी र वर्षाका कारण पनि केही जिल्लाका मतदान प्रभावित हुन पुगे । कर्णाली प्रदेशको सुर्खेतमा मध्यान्नतिर हावाहुरीसहित असिना पानी परेपछि केहीबेर मतदान प्रभावित हुनपुग्यो । धनुषाको मतदान पनि हावाहुरी र पानीका कारण केहीबेर स्थगित हुनपुगेको थियो । वर्षाकै कारण सिन्धुली, महोत्तरी, रौतहट, सल्यान र उदयपुरमा पनि निर्वाचन प्रक्रिया प्रभावित हुनपुग्यो । यद्यपि, वैशाख ३० गते वर्षा हुनसक्ने भनी मौसम तथा जलवायु विज्ञान महाशाखाले केही दिनअघि नै उल्लेख गरको थियो । विभिन्न कारणले देशभर ५३ केन्द्रमा मतदान अवरुद्ध हुनपुग्यो ।

६५–७० प्रतिशत मतदान

मध्यान्हसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको थियो । दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको थियो । साढे ३ बजेसम्म ६ वटै महानगरपालिकाहरुमा ५० प्रतिशतभन्दा बढी मत खसेको थियो । ४ बजेसम्म करिब ५५ प्रतिशत मतदान भएको थियो । मतदान सकिएपछि आयोगले ६५–७० प्रतिशत मतदान भएको हुनसक्ने प्रारम्भिक आँकलन गरेको छ ।

जेष्ठ मतदाताको उत्साह

तनहुँको भानु नगरपालिका–५ स्थित महादेवता प्रावि मतदान केन्द्रमा १ सय १३ वर्षीया गोपीमाया पोखरेलले मतदान गरिन् । र, उनले फेरि पनि मतदान गर्न पाइयोस् भनी इच्छा व्यक्त गरिन् । सायद यसपालि मतदान गर्ने उनी सबैभन्दा जेष्ठ नागरिक हुन् ।

इलाम, सूर्योदय नगरपालिका–१४ लक्ष्मीपुर बतासे ‘क’ केन्द्रमा १ सय १० वर्षीया विष्णुमाया अधिकारीले मतदान गरेकी छन् ।

रुपन्देही, तिलोत्तमाकी १ सय ८ वर्षीया टोकली विकले पनि मतदान गरेकी छन् । दाङको राप्ती गाउँपालिका–३ की १ सय ४ वर्षीया कमला शर्मा र नुवाकोटको विदुर नगरपालिका–१२ का १ सय ४ वर्षीय कृष्णबहादुर तामाङले पनि आ–आफ्नो मत प्रयोग गरेका छन् । तामाङ विदुर नगरपालिकाकै सबैभन्दा जेष्ठ नागरिक हुन् । कावासोती नगरपालिका–८ की १ सय ३ वर्षीया भागीरथी पराजुलीले पनि मतदान गरेकी छन् ।

तनहुँ, व्यास नगरपालिका–८ का ९९ वर्षीय वृषसिंह गुरुङले स्ट्रेचरमा गएर मतदान गरे भने व्यास–१ कै ९० वर्षीया हरिमाया घर्तीले पनि आज मतदान गरेकी छन् । यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीका ९२ वर्षीय नारायणदत्त खनालले मतदान गरेका छन् । काठमाडौँ, पेप्सीकोलास्थित फुटबल ग्राउन्डमा दमका रोगी ९० वर्षीय मानबहादुर कटुवालले अक्सिनको सहारा लिएरै भए पनि मतदानको अधिकार उपभोग गरे । बैतडीमा भोट हाल्न गएका एकजना बृद्धको निधन भएको छ । पाटन नगरपालिका–६ मा भोट हाल्न लगिएका ७० वर्षीय कमल सिंह विष्टको निधन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रकाशित : वैशाख ३०, २०७९ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?