कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एमाले र कांग्रेस कार्यकताबीच झडप हुँदा बाह्रबिसे- १ मा मतदान स्थगित

अनिश तिवारी

सिन्धुपाल्चोक — नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका १ घोर्थली गाउँमा स्थानीय मतदान केन्द्रमा मतदान रोकिएको छ । बाह्रबिसे नगरको शिरभेग वडामध्ये एक घोर्थलीकै स्थानीय भूमेश्वरी माध्यमिक विद्यालयको ‘क’ मत केन्द्रमा विवाद भएकाले मतदान रोकिएको हो । 

एमाले र कांग्रेस कार्यकताबीच झडप हुँदा बाह्रबिसे- १ मा मतदान स्थगित

यस गाउँमा दुई दलका कार्यकर्ताबीच मारामार हुन थालेपछि स्थानीय मतदाता र सुरक्षाकर्मीले आँत्तिएर थप प्रहरी, प्रशासनलाई गुहारेका छन् । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बिहान ११ बजेबाट रोकिएको मतदान अहिलेसम्म सुरु हुन सकेको छैन ।

मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको बाझाबाझ झडपमा बदलिँदा मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड गरेको देखिएको डीएसपी बस्नेतले जनाए ।

‘एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि दुवै दलका कार्यकर्ताबीच विवाद भएको देखिन्छ तर मतदान सुरु भएको छैन,’ डीएसपी बस्नेतले भने । घटना भएलगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानको नेतृत्वमा थप सुरक्षाकर्मीको टिम त्यहाँ पुगेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको उनले उल्लेख गरे ।

बाह्रबिसे नगरको घोर्थलीमा नौ सय २७ मतदाता छन्; यसमध्ये ३ सय मत मात्रै खसेको छ । मतदान पुनः सुरु गर्नका लागि दल, मतदान अधिकृत, पर्यवेक्षकलगायतको टोलीबीच आवश्यक छलफल र बैठक सुरु गरिएको बाह्रबिसे नगरका सहायक निर्वाचन अधिकृत अक्षयकुमार दनुवारले बताए । ‘झडप रोकिएको छ । छलफल चलिरहेको छ । मतदान सुचारु गर्ने प्रयास हुँदैछ,’ उनले भने ।

प्रकाशित : वैशाख ३०, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?