ताप्लेजुङको घुन्सामा ११ बजेदेखि मात्रै मतदाता आउने- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङको घुन्सामा ११ बजेदेखि मात्रै मतदाता आउने

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्सामा बिहान साढे ९ बजेसम्म मतदान भएको छैन । आफूलगायत टोली प्रतीक्षामा बसे पनि मतदाता नआएको मतदान अधिकृत गंगाबहादुर इङनामले बताए । राजनीतिक दलका प्रतिनिधिले मतदान गराउने मुचुल्कामा दस्तखत भने गरिदिएका छन् । 

मतदानस्थल नजिकै ३६ वर्षीय युवक जोण्डेला शेर्पाको मृत्यु भएकाले दाहसंस्कार पछिमात्रै मतदानमा जाने तयारी भएको स्थानीय टाँसी शेर्पाले बताए । सामान्य बिरामी ती युवकको आज बिहान २:३० बजे मृत्यु भएको थियो । १० बजेपछि शव अन्त्येष्टि गर्ने र मतदानमा सहभागी हुने टाँसी बताउँछन् । अन्त्येष्टि गर्ने स्थल बस्तीनजिकै ५ सय मिटरको दूरीमा छ ।

यो मतदान केन्द्रमा घुन्सा र फलेका मतदाता आउने गर्छन् । यहाँ १ सय ६६ जना मतदाता छन् ।

‘थोरै मतदाता छौं । दुई तीन घण्टामा सक्किहाल्छ; नआत्तिनुहोस् भन्नुभएको छ,’ मतदान अधिकृत गंगाले भने, ‘११ बजेपछि चाहीँ आउनुहोला कि भन्ने छ ।’ निर्वाचन अधिकृतको कार्यालय तापेथोकबाट डेढ दिनको यो मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वप्रधानमन्त्री भट्टराईले देखाए मत संकेत, हुनसक्छ जरिवाना

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

भट्टराईले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्बिरमा मत संकेत प्रस्ट देखिएको छ । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो । सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ ।’

मत संकेत सार्वजनिक गर्न नहुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । त्यसो गरिएमा मतदान अधिकृतले जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

'कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन,' ऐनमा व्यवस्था गरिएको छ । त्यसो गरिएको अवस्थामा के भन्नेबारे उल्लेख छ, 'उपदफा (१)विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।'

भट्टराईले मेयरमा जनता समाजवादी पार्टीको चुनाव चिह्न छातामा मत संकेत गरेको प्रष्ट देखिएको छ । त्यस्तै, उपमेयरमा स्वस्तिक छाप लगाएको देखिएको छैन भने बाँकी पदमा पनि जसपाका उम्मेदवारलाई नै मतदान गरेको देखिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×