बारामा एमाले र जसपाका कार्यकर्ताबीच झडप

काठमाडौँ — बाराको पचरौता नगरपालिका २ मा नेकपा एमाले र जनता समाजवादीका कार्यकर्ताहरूबीच झडप हुँदा मतदान रोकिएको छ ।

सशस्त्र प्रहरीका एक सुरक्षा अधिकारीका अनुसार प्रहरीले झडप रोक्न आधा दर्जन अश्रुग्यास प्रहार गरेको थियो। घटनास्थलमा अहिले मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू घटनास्थल पुगेका छन् ।

उक्त स्थानमा दुवै पक्षका केही घाइते भएको बुझिएको छ । साथै केही मतपत्र पनि च्यातिएको स्थानीयहरूले बताएका छन् ।

यसैबीच बिहानैदेखि देवताल गाउँपालिका ७ पिपरपातीमा पनि कांग्रेस र लोसपाका कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको थियो । तर पिपरपातीमा अहिले मतदान सुरू भइसकेको छ । पिपरपातीमा झन्डै साढे २ घण्टा मतदान रोकिएको थियो ।

सदरमुकाम कलैयाबाट प्रमुख जिल्ला अधिकारीसहित गएको सुरक्षा प्रमुखहरूको टोलीले दुवै समूहबीच सहजीकरण गराएपछि मतदान सुरू भएको हो ।

यस्तै पचरौता गाउँपालिका वडा नं ४ स्थित बेलडारी मतदान केन्द्रमा जसपाका कार्यकर्ताले नक्कली मत खसाउन लागेपछि विवाद उत्पन्न भएको छ । जहाँ अहिले मतदान रोकिएको छ । यससँगै पचरौताका वडा २ का दुई वटा मतदान केन्द्र र वडा ४ को एउटा मतदान केन्द्रमा गरी दुई मतदान केन्द्रमा मतदान रोकिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?