लोकतन्त्रको अर्को उत्सव- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
स्थानीय तह निर्वाचन

लोकतन्त्रको अर्को उत्सव

२०४७ यता पहिलोपटक एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनमा ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुँदै
मकर श्रेष्ठ

काठमाडौँ — संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।

बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ । कांग्रेसका तर्फबाट महाराजगन्जको उपप्रमुख उम्मेदवार सुभावती कुर्मीको मंगलबार मृत्यु भएकाले जेठ ३ मा निर्वाचन हुनेछ । त्यस्तै दाङको तुलसीपुर नगरपालिका–१७ को निर्वाचन पनि जेठ ३ लाई तय गरिएको छ । एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मृत्यु भएपछि निर्वाचन सरेको हो ।

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ४ सय ९६ जना छन् । करिब २१ लाख मतदाता रहेको अनुमान छ ।

पालिकाअनुसार सबैभन्दा बढी काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता छन् । प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ मतदाता छन् । मतदानस्थल पनि प्रदेश १ मा सबैभन्दा बढी १ हजार ८ सय ७७ छ ।

निर्वाचनबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । ‘यो महत्त्वपूर्ण दिनमा आफ्नो मतको विवेकपूर्ण उपभोग गरी मतदानमा सहभागी भइदिन मतदातालाई आग्रह गर्छु,’ उनले भने, ‘मतदान ५ वर्षमा एकपटक मात्रै आउने भएकाले कोही पनि विमुख हुनु

हुँदैन । अवरोधबिना मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सबैलाई आग्रह गर्दछु ।’ निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउन सबै व्यवस्थापन सकिएको उनले बताए । शान्तिपूर्ण वातावरणमा मतदानको अधिकार सुनिश्चित गर्न सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको आयोगले जनाएको छ । कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।

निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् । यसमा ८९ हजार ३ सय १३ पुरुष र ५५ हजार ६ सय ९८ महिला उम्मेदवार छन् । आयोगका अनुसार २ सय ९३ नगर प्रमुखको पदमा ३ हजार २ सय ३८ जना र ४ सय ६० पालिकाको अध्यक्षमा ३ हजार ९२ जनाले उम्मेदवारी दिएका छन् । २ सय ९२ उपप्रमुखको पदमा १ हजार ९ सय ६४ र ४ सय ६० उपाध्यक्षको पदमा २ हजार १ सय ६३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै ६ हजार ७ सय ४३ वडा अध्यक्षको पदमा ३२ हजार ४ सय ९५ ले उम्मेदवारी दिएका छन् । ६ हजार ७ सय ४३ महिला सदस्यको पदमा २५ हजार ६ सय जना प्रतिस्पर्धामा छन् । १३ हजार ४ सय ८६ खुला वडा सदस्य पदमा ५३ हजार १ सय ७४ जना र ६ हजार ७ सय ४३ दलित महिला वडा सदस्यमा २३ हजार २ सय ८५ ले उम्मेदवारी दिएका छन् ।

आयोगले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरेको छैन । आयोगले विगतमा परिचयपत्र नपाएका, हराएका र नयाँ मतदातालाई मतदान केन्द्रबाटै बुधबार र बिहीबार परिचयपत्र वितरण गरिसकेको छ । परिचयपत्रमा नाम भएकाले परिचयपत्र नभएर मतदानबाट वञ्चित हुनु नपर्ने व्यवस्था आयोगले मिलाएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको पनि मताधिकार सुरक्षित गरिएको आयोगले जनाएको छ । मतदाताले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र र फोटोसहितको जग्गाधनी पुर्जा देखाएर पनि मतदान गर्न सक्ने छन् । फोटोसहितको जुनसुकै प्रमाण देखाए पनि मतदान गर्न पाउने आयोगले जनाएको छ । ‘मतदाता नामावलीमा नाम नभएका व्यक्तिले भने जुनसुकै कागज देखाए पनि मतदान गर्न पाउने छैन,’ थपलियाले भने ।

निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम विभागले अनुमान गरेको छ । पानी परे पनि मतदान प्रभावित नहोस् भन्नका लागि आयोगले मतदानस्थलमा त्रिपाल, प्लास्टिकको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ । मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने ठाउँमा ‘भित्र’ र बाहिर निस्कने ठाउँमा ‘बाहिर’ लेखिएको कार्ड राखिएको हुन्छ । मतदान केन्द्रमा महिला र पुरुष मतदाता अलग–अलग रूपमा लाम लाग्ने ठाउँको व्यवस्था गरिएको हुन्छ ।

त्यस्तै, मतदाताको नाम रुजु गर्ने कर्मचारी र लाममा बसेका मतदाताबीचमा सुरक्षाकर्मी खटिनेछन् । नाम रुजु गर्ने कर्मचारी, नमेटिने मसी वा मार्करले औंलामा चिनो लगाउने महिला स्वयंसेवक र मतपत्र दिने सहायक मतदान अधिकृत खटिएका हुन्छन् । मतदान केन्द्रमा उम्मेदवार र उसले तोकेको प्रतिनिधि पनि बसेका हुन्छन् ।

मतपत्रको अधकट्टीमा मतदाताले हस्ताक्षर गर्नुपर्ने हुन्छ । मतदान अधिकृत वा सहायक मतदान अधिकृतले मतदातालाई मतपत्र दिनुभन्दा पहिले नै मतपत्रको अर्धकट्टीको माथिको भागमा हस्ताक्षर गर्नुपर्छ । लेख्न नसक्ने मतदाताको दायाँ हातको बुढीऔंलाको छाप लगाउने व्यवस्था गरिएको छ । मतदान गरेको संकेतका रूपमा हातको बुढीऔंलामा नङ र मासुको जोर्नीमा नमेटिने मसीले चिनो लगाइदिन्छन् । कसैले पनि दोहोर्‍याएर मत हाल्न नआओस् भनेर मतदान गरेको प्रमाणका रूपमा मसी लगाउने गरेको हो ।

मतपत्र लिन मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । हस्ताक्षर नभएको मतपत्रमा छाप लगाएमा बदर भएको मानिन्छ । मतदान अधिकृतले गर्भवती, अशक्त, वृद्ध, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिनेछन् । कुनै मतदाताले मतदान सम्बन्धमा आफूले नजानेको कुरा मतदान अधिकृतलाई सोध्न पाइन्छ । कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मतदान गर्ने/नगर्ने कुरा भने मतदान अधिकृतले सिकाउन पाइँदैन । दृष्टिविहीन वा शारीरिक रूपले अशक्तता भएका व्यक्तिलाई परिवारको सदस्यले सघाउन सक्नेछन् ।

प्रकाशित : वैशाख ३०, २०७९ ०५:५१
प्रतिक्रिया
पठाउनुहोस्

मतदान कसरी गर्ने ?

नाम ढाटेर मतदान गर्न आउने व्यक्तिलाई तत्काल २५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई
मकर श्रेष्ठ

काठमाडौँ — मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ । मतदानका लगि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।

मतदाताले एक–एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ । त्यसैले हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्नेछ ।

मतपत्रको सबैभन्दा माथि राष्ट्रिय पार्टीको चुनाव चिह्न राखिएको छ । त्यसमुनि सम्बन्धित जिल्लामा सक्रिय पार्टीका चिह्न छन् । राजनीतिक दलको चिह्नपछि स्वतन्त्र उम्मेदवारको चिह्न राखिएको छ । ३६ जिल्लाको मतपत्रमा एक खण्ड मात्र छ भने बाँकी जिल्लाको मतपत्रमा दुई खण्ड छ । पहिलो ठाडो लहरमध्ये एउटामा अध्यक्ष/प्रमुखका लागि चिह्न राखिएको छ । अध्यक्ष/प्रमुखको चिह्न भएको माथि मतपत्र १ लेखिएको हुन्छ । मतपत्र १ को ठाडो लहरका चिह्नमध्ये एउटामा मात्रै छाप लगाउनुपर्ने हुन्छ ।

दोस्रो ठाडो लहरको मतपत्र २ मा उपाध्यक्ष/उपप्रमुखका उम्मेदवारको चिह्न हुनेछ । त्यसअन्तर्गत पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्ने हुन्छ । मतपत्र ३ मा वडाध्यक्षको चिह्न छ । यो लहरमा पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्छ । मतपत्र ४ मा महिला वडा सदस्य र मतपत्र ५ मा दलित महिला सदस्यको चिह्न हुन्छ । मतपत्र ४ र ५ मा पनि एक–एक चिह्नमा मात्रै छाप लगाउने हो । मतपत्र ६ मा दुई जना खुला वडा सदस्य छान्नका लागि हो । यसमा पहिलो सदस्यका लागि एउटा चिह्न र दोस्रोका लागि दुई वटा चिह्न दिइएको हुन्छ । ‘दुइटा चिह्न हुँदैमा दुई छाप लगाउनु हँुदैन । एउटा कोठामा एउटा मात्रै छाप लगाउने हो,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘ठाडो लहरमा एक–एक छाप लगाएर पनि प्रतिनिधि चयन गर्न सकिन्छ । एउटा दलको पहिलो सदस्य र अर्को दलको पनि पहिलो सदस्य मन पर्‍यो भने तल–माथि छाप लगाउन सकिन्छ । एउटा दलको दोस्रो सदस्य र अर्को दलको दुई वटा चिह्न भएको दोस्रो सदस्यमा पनि छाप लगाउन सकिन्छ । तेर्सोमा एउटा–एउटा छाप लगाए पनि हुन्छ ।’

मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । ‘पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ । मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ,’ अर्यालले भने, ‘मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।’ मतदानस्थल छिर्नुअघि नै कसलाई मत दिने भन्नेमा मतदाता स्पष्ट हुनुपर्ने सहायक प्रवक्ता अर्यालले बताए । हतार नगरी बिस्तारै मतदान गरे बदर हुने सम्भावना कम हुने उनले बताए ।

यसपालिको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । आयोगले नयाँ मतदाता र परिचयपत्र हराएर प्रतिलिपि बनाएकाको परिचयपत्र बुधबार र बिहीबार बाँड्दै छ । मतदान केन्द्रमा परिचयपत्र लिन पुगेका मतदातालाई मत हाल्ने र मतपत्र पट्याउने तरिका सिकाउने गरिन्छ । मतदाता नामावलीमा नाम भएकाले मात्र मतदान गर्न पाउनेछन् । ‘परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा जानकारी गराइन्छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न सक्ने छैन ।’ मतपत्रको आकार, रङ पहिलाको जस्तै भएकाले अलमल हुने अवस्था नभएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘मतदान गर्ने तरिका पनि त्यही हो,’ उनले भने ।

निर्वाचन आयोगले मतदाताले पालना गर्नुपर्ने नियमसमेत जारी गरेको छ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने, मतदानस्थलमा होहल्ला नगर्ने, कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज लगाउन नहुने आयोगले जारी गरेको मतदाताको कर्तव्यमा उल्लेख छ । त्यसमा मतदानको दिन सवारीसाधन प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख छ । मतदानका बेला मतपत्र सार्वजनिक गर्न, फोटो खिच्न पनि प्रतिबन्ध लगाइएको छ ।

कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ । छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ । मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री लैजान पाइने छैन ।

मतदानस्थलमा त्रिपाल

जल तथा मौसम विभागले मतदानको दिन पानी पर्न सक्ने जानकारी गराएकाले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । ‘मतदान हुने सबै मतदान केन्द्रमा वर्षातको पानीबाट मतदान कार्य र सोपश्चात् मतगणना कार्य प्रभावित नहुने गरी जोगाउनुपर्ने हुन्छ,’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ । आयोगले निर्वाचन सामग्रीसमेतको सुरक्षाका लागि पाल/त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गर्नुपर्ने भनेको छ ।

प्रकाशित : वैशाख २९, २०७९ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×