मतदानको अघिल्लो दिन सहायक मतदान अधिकृत पदमुक्त

राजकुमार कार्की

सिन्धुली — गोलन्जोर गाउँपालिका ६ को मंगला माध्यमिक विद्यालय घोक्सिला केन्द्रका सहायक मतदान अधिकृत तीर्थराज भण्डारी पदमुक्त भएका छन् । मतदान केन्द्र निर्माणमा संलग्न भएका सहायक मतदान अधिकृत भण्डारीलाई निर्वाचन आयोगमा उजुरी परेको भन्दै बिहीबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले पदमुक्त गरेको हो ।

मतदानको अघिल्लो दिन सहायक मतदान अधिकृत पदमुक्त

गोलन्जोर गाउँपालिकामा निजामतीतर्फ नायब सुब्बा पदमा कार्यरत भण्डारीले दुई दिन सहायक मतदान अधिकृतको तालिम लिएर केन्द्र निर्माणमा संलग्न भएको कर्मचारीलाई रिसीबी साँधेर हटाइनु नाजायज भएको गुनासो गरेका छन् ।

शुक्रबार सम्पन्न हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा संलग्न रहेका बेला मौखिक रुपमा आफू बर्खास्त भएको जानकारी पाएकाले कारण खुलाइदिन भण्डारीले आयोगसमक्ष माग गरेका छन् । तीन दिनअघि नियुक्ति बुझेर निर्वाचनको काममा खटिएको कर्मचारीलाई पदमुक्त गर्दा मनोबल गिर्ने भएकाले न्याय पाउनुपर्ने उनको भनाइ छ । आफूले कुनै पनि कर्मचारी संघ, संगठनको रसिद नलिएको र स्वतन्त्र बसेको उपहार बर्खास्ती पाएको भण्डारीको गुनासो छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सहायक मतदान अधिकृत भण्डारीविरुद्ध आयोगमा उजुरी परेकाले हटाइएको हो । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार सहायक मतदान अधिकृत भण्डारीलाई नहटाइए निर्वाचन शान्तिपूर्ण नहुने देखिएपछि आयोगबाटै हटाउनू भन्ने सूचना आएकाले पदमुक्त गरिएको हो ।

उनले भने, ‘हामीले त नियुक्ति गरेका हौं । उम्मेदवारको नाता पर्ने भनी उजुरी परेकाले हटाएर अर्को व्यवस्था गरेका छौं ।’

प्रकाशित : वैशाख २९, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?