१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वीरगन्जमा महिलाले चलाए ‘विशेष मतदान केन्द्र’

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिका ४ स्थित चिकित्साशास्त्र अध्ययन संस्थान मतदान केन्द्र ‘क’ र ‘ख’ महिलाले मात्रै सञ्चालन गर्ने भएका छन् । ‘विशेष मतदान केन्द्र’ नाम दिइएको यो मतदान केन्द्रमा ‘क’ र ‘ख’ गरी २ वटा मतदानस्थल रहेका छन् । 

वीरगन्जमा महिलाले चलाए ‘विशेष मतदान केन्द्र’

मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीसमेत अधिकांश महिला नै छन् । मतदान स्थल ‘क’ की प्रमुख वीरगन्ज महानगरपालिकाकी अधिकृत प्रतिज्ञा वैद्य हुन् भने ‘ख’ की प्रमुख नेपाल बैंक आदर्शनगर शाखाकी उपप्रबन्धक प्रतीक्षा सिंह हुन् । दुवै मतदानस्थलमा गरी कुल १ हजार ६ सय ९ मतदाता छन् । ‘क’ मा ७ सय ८४ र ‘ख’ मा ८ सय २५ मतदाता छन् । सुरक्षा प्रमुख पनि महिला नै छिन् । प्रहरी सहायक निरीक्षक भुवनकला ढुंगानाको नेतृत्वमा कुल एक दर्जन सुरक्षाकर्मी परिचालित भएकोमा तीमध्ये ३ महिला छन् ।

कर्मचारीतर्फ कुल १० महिला खटिएकोमा ९ महिला र १ मात्र पुरुष छन् । मतदान स्थल ‘क’ की प्रमुख वैद्यले मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भइसकेको बताइन् । आफूहरू मतदान केन्द्र सञ्चालन गर्न सक्षम भएकाले कुनै समस्या नरहेको उनले बताइन् । ‘सबै तयारी पूरा भइसकेको छ, हामीलाई मतदान केन्द्र सञ्चालन गर्न कुनै समस्या छैन,’ उनले भनिन्, ‘गत स्थानीय निर्वाचनमा पनि मैले आदर्शनगरस्थित बालमन्दिर मतदान केन्द्रको प्रमुख भएर निर्वाचन सम्पन्न गरेकी थिएँ ।’

मतदानस्थल ‘ख’ की प्रमुख सिंहले यसअघि २ वटा निर्वाचनमा आफू खटिसकिएकाले अनुभवको कमी नरहेको बताइन् । ‘योसहित मेरो तेस्रो अनुभव हो,’ उनले भनिन्, ‘हामी २ महिला अधिकृतको तालमेल राम्रो छ, सफल रुपमा निर्वाचन सम्पन्न गर्ने छौं ।’

तयारी पूरा
पर्साका सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । १४ वटा स्थानीय तह रहेका पर्सामा वीरगन्ज महानगरपालिका र अन्य १३ स्थानीय तह रहेका छन् ।

तीनमा १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र रहेका छन् । वीरगन्ज महानगरमा ५५ वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र रहेका छन् । पकाहामैनपुर गाउँपालिकामा मतदानस्थल छन् । त्यहाँ ६ मतदानस्थल र १५ वटा मतदान केन्द्र छन् ।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले निर्वाचनलाई लक्षित गरी जिल्लामा म्यादीसमेत गरी २ हजार ८ सय नेपाल प्रहरीको जनशक्ति परिचालन गरिएको बताए । त्यसबाहेक प्रहरी प्रधान कार्यालयबाट प्रहरी नायब उपरीक्षक र प्रहरी निरिक्षकसमेत गरी थप ३५ जना जुनियर/सिनियर अधिकृत जिल्लामा पठाइएकाले जनशक्ति अभाव नभएको उनले बताए ।

नेपाल प्रहरीबाहेक जिल्लामा सशस्त्र प्रहरीको ५ सय, नेपाली सेनाको ७ सय र राष्ट्रिय अनुसन्धानको २ दर्जन जनशक्ति पनि परिचालन गरिएको छ । निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरी उपरीक्षकसमेतको टोलीले रात्री गस्तीसमेत बढाएको प्रहरी उपरीक्षक बस्नेत बताउँछन् ।

प्रकाशित : वैशाख २९, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?