सुनसरीका सीमावर्ती क्षेत्रमा ६२ किमी सिल

दशगजाका बस्ती संवेदनशील क्षेत्र

सुनसरी — स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सुनसरीसँग जोडिएको भारतीय सिमानाको ६२ किलोमिटरसम्म क्षेत्र सिल गरिएको छ । अन्तर्राष्ट्रिय सीमा रेखा मानिने दशगजा क्षेत्रका कतिपय स्थानमा वारि र पारि नजिकै छिमेकी भएर बसेका बस्ती छन् ।

सुनसरीका सीमावर्ती क्षेत्रमा ६२ किमी सिल

ती बस्तीका बीचमा दशगजा भए पनि उत्तरतर्फ नेपाली र दक्षिणतर्फ भारतीय नागरिक बस्ने भएकाले सीमा सिल गरे पनि शुक्रबार हुने स्थानीय तहको चुनावमा जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनका लागि सम्भावित जोखिम नियन्त्रण गर्न चुनौती देखिएको छ ।

प्रशासनले सीमावर्ती क्षेत्रमा रहेका स्थानीय तहका निर्वाचन केन्द्रलाई अति संवेदनशील श्रेणीमा राखेर कडा निगरानी गरे पनि छुट्याउनै गाह्रो हुने दशगजा क्षेत्रका भारतीय बस्तीबाट हुनसक्ने जोखिम भने उच्च रहेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘७२ घण्टाको लागि सीमाक्षेत्र सील गरिएको छ । तर दशगजा क्षेत्रमा रहेकामध्ये भारतीय नागरिकबाट हुनसक्ने सम्भावित जोखिमलाई निगरानी गर्न सशस्त्र प्रहरी बल र पाँच किलोमिटरको दूरीमा नेपाली सेनाका क्याम्प पनि राखिएको छ । त्यति मात्र नभएर केही दिनअघि भारतीय प्रशासनसँग समन्वय गरिएकाले भारततर्फ पनि धेरै संख्यामा एसएसबीले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

निर्वाचनलाई लक्षित गरेर जिल्लाको ६२ किलोमिटर सीमामा मंगलबार रातिदेखि शुक्रबार १२ बजेसम्मका लागि सील गरिएको र दुवैतर्फका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ यादवले बताए ।

उनका अनुसार ७२ घण्टाका लागि सीमा सील गरे पनि आवश्यकता अनुसार बिहीबारसम्मका लागि भनेर विवाहको गाडी, दमकल, पेट्रोलिय डिजेल पदार्थका लागि भने खुला गरिएको छ । शुक्रबार दिउँसो भने एम्बुलेन्स र दमकल मात्र चलाउन दिने बाँकी सबैखाले सवारी साधन चलाउन निषेध गरिएको प्रजिअ यादवले बताए । स्थानीय तह निर्वाचनको बेला खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहले चलखेल गर्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुनसरीमा सीमा नाका सील गरिएको प्रजिअ यादवले बताए ।

उनले सीमा सील भएको अवधिमा कसैलाई पनि सीमावर्ती नाका वा क्षेत्र भएर आवातजावत गर्न पूर्ण रूपमा रोक लगाइएको बताए । सुनसरीका सीमा क्षेत्रमा ११ वटा सीमा प्रहरी चौकी र १० वटा बीओपी स्थापना गरिएका छन् । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी बिक्रम हुमागाईँले बताए । उनले निर्वाचनलाई भयरहित बनाउँदै सीमा सुरक्षा, मतपेटिकाको सुरक्षा, मतदानस्थलमा खटिने निर्वाचनसँग सम्बद्ध कर्मचारीहरुको सुरक्षामा सुनसरीमा ५ सय ६१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यसैगरी भारतीय सीमा सुरक्षा बल एसएसबीसँग सहकार्य गरेर विभिन्न २७ वटा स्थानमा चेक प्वाइन्ट स्थापना गर्दै सीमामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा नेपाल प्रहरी १ हजार १ सय ६६ जना, सशस्त्र प्रहरी ५ सय ६१ जना, राष्ट्रिय अनुसन्धानका कर्मचारी १९ जना, नेपाली सेना ३ सय ३० जना र म्यादी प्रहरी २ हजार ६८ जनागरी पाँच हजार ४४ जना खटाइएका छन् ।

सुनसरीका प्रमुख एसपी संजयसिंह थापाका अनुसरा सुनसरीका सीमावर्ती क्षेत्रका निर्वाचन केन्द्रहरु अति संवेदनशील भएकाले त्यहाँ हुने निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्न सुरक्षाकर्मीहरु खटाइएको छ ।

उनले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी नेपाल प्रहरीले निर्वाचन सुरक्षा रणनीति अपनाएको बताए । १२ वटा स्थानीय तह रहेको सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । ती स्थानीय तहहरुमामध्ये ५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदानस्थल रहेकोमा ४४ वटा अति संवेदनशील, ८० संवेदनशील र ४२ वटा सामान्य रहेको सुनसरी प्रशासनले जनाएको छ । निर्वाचनमा यसपटक ५ लाख ३४ हजार ७ सय ३५ मतदाता रहेका छन् ।

प्रकाशित : वैशाख २९, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?