उपत्यकामै १८५ मतदानस्थल संवेदनशील- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

उपत्यकामै १८५ मतदानस्थल संवेदनशील

काठमाडौंका ११५, ललितपुरका ५० र भक्तपुरका २० मतदानस्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन
प्रशान्त माली

ललितपुर — स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यकाका १८५ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थल संवेदनशीलको सूचीमा छन् । भौगोलिक विकटता, चुनावविरोधी समूहको गतिविधि तथा यातायात, सञ्चार र जनघनत्वको आधारमा मतदानस्थलाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सुरक्षा खतराको महसुस गरेर मतदानस्थलहरूलाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको बताए । ‘सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रबारे प्रकाशमा ल्याउन मिल्दैन,’ उनले भने, ‘बुथको सुरक्षा क्रमशः पहिलो घेरामा रहेर म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्रले गर्नेछन् ।’

उनका अनुसार सेना ‘मोबाइल टोली’ को रुपमा सुरक्षामा खटिनेछ । ‘प्रहरीमा डीएसपी, सशस्त्र र आर्मीमा मेजरको कमान्ड रहनेछ,’ उनले भने, ‘मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।’ काठमाडौंमा ३२० मतदानस्थल र ३ लाख २४२ मतदाता छन् ।

त्यस्तै, ललितपुरको ठुलादुर्लुङ, कालेश्वर, गिम्दी, आश्राङलगायतका ३० मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । पहाडी भूगोलका यी क्षेत्र विकट मानिन्छन् । ललितपुर प्रहरी प्रवक्ता एसपी रुद्रबहादुर शाहीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताए । ‘जिल्लाको दक्षिण भेगमा प्रहरीसँगै सेनाले पनि निगरानी बढाएको छ,’ उनले भने, ‘संवेदशनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

सहरी क्षेत्रमा पनि सुरक्षा

व्यवस्था कडा पारिएको छ ।’ ललितपुरमा २८८ मतदान केन्द्र छन् भने २ लाख ४३ हजार ८८४ जना मतदाता छन् ।

भक्तपुर प्रशासनले पनि २० वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाका कारण संवेदनशील सूचीमा राखिएका मतदानस्थलको नाम खुलाउन नमिल्ने बताइन् । निर्वाचनका लागि जिल्लाभर म्यादी प्रहरी र आर्मीबाहेक प्रहरी र सशस्त्रका मात्रै १ हजार ५ सय सुरक्षाकर्मी खटाएको उनले जानकारी दिइन् । ‘मतदानस्थलमा संरचना बनाउन पनि सुरु गरिसकेका छौं,’ उनले भनिन् । भक्तपुरमा २१९ मतदान केन्द्र छन् भने १ लाख ९९ हजार मतदाता छन् ।

प्रहरीले निर्वाचनलाई लक्षित गरी अन्य मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । ‘मोबाइल, मोटरसाइकल र पैदल गस्ती बढाइएको छ । एकान्त, भीडभाड र जनघनत्व बढी भएको क्षेत्रमा सिभिल ड्रेसमा पनि प्रहरी परिचालन गरिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

उनका अनुसार उपत्यकाका तीनवटै जिल्लामा मादक पदार्थ सेवन तथा बिक्रीवितरणमा कडाइ गर्नुका साथै होटल, रेस्टुरेन्टहरू तथा नेवारी बस्तीभित्रका भट्टी पसलमा समेत निगरानी बढाइएको छ । चुनावविरोधी गतिविधि हुने, दलका कार्यकर्ताबीच झैझगडा र अन्य हिंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रहरीले मादक पदार्थ बिक्रीवितरण गर्ने पसलहरूमा ‘स्टिङ अपरेसन’ नै थालेको छ ।

ललितपुर प्रहरीका अनुसार सोमबार र मंगलबार मात्रै गोदावरी क्षेत्रबाट २ सय लिटर अवैध मदिरा नस्ट गरिएको छ । ललितपुरका एसपी शाहीले निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण नगर्न कडा निर्देशन दिएको बताए । ‘सानेपा, कुपन्डोल, झम्सीखेल, बखुडोललगायत क्षेत्रका होटल रेस्टुरेन्ट सञ्चालकलाई साँझ ७ बजेभित्र पसल बन्द गर्न निर्देशन दिएका छौं,’ उनले भने । भक्तपुर प्रजिअ शर्माले निर्वाचन आचारसंहिता पालना गर्न माइकिङ गरिरहेको बताइन् । ‘उल्लंघन गर्नेलाई कारबाही गरिनेछ,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २९, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्

मतदातालाई स्वास्थ्य सेवाकै चिन्ता

हरेक चुनावमा उम्मेदवारहरुले गाउँमै सहज र सर्वसुलभ उपचार सेवाको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरे पनि वाचा पूरा नहुँदा सर्वसाधारण निराश
प्रशान्त माली

ललितपुर — आसन्न स्थानीय निर्वाचनको मौन अवधि मंगलबार मध्यरातबाट सुरु हुँदै छ । प्रचारका लागि एक दिनको मात्रै समय बाँकी रहेकाले ललितपुरको दक्षिणी भेगमा सबै दलका उम्मेदवारहरूलाई मत माग्ने चटारो छ । दुर्गम पहाडी भेगमा घण्टौं हिँडेर पनि उम्मेदवारहरु भोट माग्न घरदैलौमै पुगेका छन् ।

चुनावी रमझम उत्कर्षमा पुगे पनि बागमती गाउँपालिका–६ आश्राङकी ५४ वर्षीया राजकुमारी भुलुनलाई भने अर्कै पिरलो छ । शुक्रबार बेलुका गोरुले हानेपछि उनका ४ वटा करङ भाँच्चिए । जसको उपचारका लागि उनी अहिले लेले टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचाररत छिन् । आइतबार अस्पतालमै भेटिएकी उनी मधुमेहपीडित समेत हुन् । प्रत्येक डेढ/दुई महिनामा उपचारकै लागि सहर धाउनुपर्दाको सकस उनले राम्रैसँग अनुभव गरेकी छन् । त्यसकै कारण पनि उनलाई चुनावको मुखमा नेताहरूले गर्ने वाचा पूरा होलान् भन्ने विश्वास छैन । ‘घरदैलोमा विभिन्न दलका उम्मेदवार भोट माग्न र सहयोग गर्नुपर्छ भन्दै आइरहेका छन्, हामी भने चुनावभन्दा पनि उपचारका लागि कता जाने भनेर सोचिरहेका छौं,’ उनले भनिन् ।

कोन्ज्योसोम गाउँपालिका शंखुकी ७९ वर्षीया चिनमाया तामाङको खुट्टामा एक्कासि घाउ भयो । हिँडडुल गर्न मुस्किल परेपछि उपचार गराउन आइतबार ३ घण्टा कष्टकर यात्रा गरेर आनन्दवन अस्पताल पुगिन् । ‘हाम्रा दुःख भनिसाध्यै छैनन्,’ उनले दुखेसो पोखिन्, ‘चुनावमा यो गर्छु र त्यो गर्छु भनेर वाचा गर्छन् तर चुनावपछि सबै बिर्सिन्छन् ।’ २०७४ मा निर्वाचित जनप्रतिनिधिले जिल्लाको पालिकास्तरको अस्पतालमा पत्थरी, एपेन्डिसाइटिस, हातखुट्टा भाँच्चिएको, बर्थिङ सेन्टरलगायतको उपचार सेवाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए पनि पूरा नगरेको उनको गुनासो छ ।

मतदाताको प्रमुख चासो सहज र सर्वसुलभ स्वास्थ्य सेवामा छ । त्यसैकारण पनि हरेक उम्मेदवारले घरदैलो र आमसभामा स्वास्थ्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन् । पालिकास्तरको अस्पताल सय बेडको बनाउने, सुरुङ मार्ग, छुट्टै बाहिरी चक्रपथ र हेटौंडा–बनेपा सडक निर्माण गर्ने, जडिबुटीको हब, कृषि पकेट क्षेत्र, पर्यटन प्रवर्द्धनलगायत महत्त्वाकांक्षी योजनाअघि सारेका छन् ।

महांकालको प्रमुखमा माओवादी केन्द्रबाट भगीरथ तिमिल्सेना, कांग्रेसबाट गणेश केसी र एमालेबाट कमला वाइवा लामाबीच टक्कर छ । लामा २०७४ मा उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा माओवादीबाट डोल्मा लामा र एमालेबाट पुरुषोत्तम हुमागाईंबीच प्रतिस्पर्धा छ । बागमतीको प्रमुखमा कांग्रेसका वीरबहादुर लोप्चन र एमालेबाट नवराज सञ्जेल चुनावी मैदानमा छन् । लोप्चन निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा माओवादीबाट भक्तबहादुर दर्लामी र एमालेबाट नमुना बोम्जन दोङबीच कडा प्रतिस्पर्धा छ ।

त्यस्तै, कोन्ज्योसोमको प्रमुखमा माओवादी केन्द्रबाट गोपी स्याङतान र उपाध्यक्षमा कांग्रेसबाट राजन घिमिरे प्रत्याशी छन् । एमालेबाट अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा रनिता तामाङ प्रत्याशी छन् । गत चुनावमा अध्यक्षमा स्याङ्तान र घिमिरे नै आमनेसामने थिए । स्याङतानले १ हजार ७ सय ९८ मत ल्याएर घिमिरेलाई ६६ मतले पराजित गरेका थिए । एमालेका लामा पनि यसअघिको चुनावमा अध्यक्षका उम्मेदवार थिए । उनी ३ सय मतान्तरले पराजित भएका थिए ।

बागमती प्रमुखका प्रत्याशी नवराज सञ्जेलले पनि पालिकाकास्तरको अस्पताल सय बेडको बनाउने योजना रहेको सुनाए । ‘स्वास्थ्य सेवा पहुँच सहज बनाउन सय बेडको अस्पतालको योजना छ । त्यस अतिरिक्त शिक्षामा सुधार नभई चेतनामा सुधार हुँदैन । प्राविधिक मैत्री शिक्षालय बनाउने योजनामा छु,’ उनले भने, ‘साना जलविद्युत् आयोजना सञ्चालनमा ल्याउने योजना पनि छ । वाग्मती नदीमा जलविद्युत् आयोजनाको सम्भावना प्रचूर छ ।’

माओवादी केन्द्रबाट महांकाल प्रमुखका प्रत्याशी तिमिल्सेनाले जनताले आफूलाई जिताएमा मानिखेलस्थित पालिकास्तरको अस्पताल सय बेडको बनाउने प्रतिबद्धता जनाए । ‘गाउँपालिकाको ७० प्रतिशत विकास बजेट दुरुपयोग रोक्न, सुशासन कायम गर्न मेरो उम्मेदवारी हो,’ उनले भने, ‘अहिले हेटौंडा–काठमाडौं–बनेपा २ सय ५७ किमि दूरीमा पर्छ । त्यही बाटो भट्टेडाँडाको छपेली हुँदै लान सकेमा १ सय ५० किमि दूरी घट्नेछ । गोटीखेल क्षेत्र मुग्लिङजस्तो विकास हुनेछ ।’

महांकाल प्रमुखमा एमालेका प्रत्याशी लामाले ५ वर्षको अवधिमा गरेका अधुरा काम पूरा गर्न आफूले पुनः उम्मेदवारी दिएको बताइन् । ‘निवर्तमान उपाध्यक्ष हुँदा २०३० सालदेखिको विवाद मिलाएको छु । स्थानीय स्रोतसाधनको उपयोग गरेर महिला उद्यमीको विकास गरेको छु,’ उनले भनिन्, ‘४५ प्रतिशत घरमा बिजुली र ८० प्रतिशत घरमा

खानेपानी पुर्‍याएको छु ।’ उनले जडिबुटी, कृषिको महत्त्वपूर्ण क्षेत्र भएकाले त्यसको विकास गरी राजस्व भित्र्याउन सकिने बताइन् ।

२०७४ को स्थानीय चुनावमा महांकालमा एमाले, वाग्मतीमा कांग्रेस र कोन्ज्योसोममा माओवादी विजयी भएका थिए । महांकालमा ३२ सिटमध्ये २५ सिट एमालेले, कांग्रेसले ६ र माओवादीले २ सिट जितेका थिए । वाग्मतीमा कांग्रेसले २३, एमालेले १२ र माओवादीले ३ सिट ल्याएका थिए । कोन्ज्योसोममा माओवादीले १४, कांग्रेसले ९ र एमालेले ४ सिट हात पारेका थिए ।

प्रकाशित : वैशाख २७, २०७९ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×