१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तारजाली र सीसी क्यामेराले घेरिए मतगणनास्थल

आश गुरुङ

लमजुङ — लमजुङमा मतदान नहुँदै मतदानस्थल तयार पारिएको छ । बढी सुरक्षा हुने हिसाबले सरकारी कार्यालयमा मतगणनास्थल व्यवस्थापन गरिएको हो ।

तारजाली र सीसी क्यामेराले घेरिए मतगणनास्थल

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतगणनास्थल तारजालीले घेरेको छ । मतगणनादेखिने गरी सीसी क्यामेरा जडान गरिएको छ । मतगणनाका बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपाइनएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । ‘मतगणना निकै संवेदनशील हुन्छ । कतिबेला के हुन्छ या हुँदैन, थाह छैन’ उनले भने, ‘घटना हुन नदिनु नै हाम्रो कर्तव्य हो ।’

२०७४ को स्थानीय तह चुनावमा भरतपुरमा मतपत्र च्यातेको घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन आयोगले तारजालीको व्यवस्था गरेको छ । मतदानस्थलमा हुने असुरक्षा र हुनसक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । ‘मतदान सकिएपछि मतपत्र राखिएको बाकस सुरक्षित राख्नुपर्ने हुन्छ । मतगणना सुरक्षित तबरले हुनुपर्छ । हामी निष्पक्ष चाहन्छौं,’ उनले भने, ‘धाँधली हुनबाट रोक्न र सुरक्षा सतर्कता अपनाउन तारबार र सीसी क्यामेरा जडान गरेका छौं ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेंसीसहरमा करिब साढे ४ लाख रुपैयाँबराबरको सीसी क्यामेरा जडान गरेको छ । स्थानीय तहमार्फत जडान हुने उक्त सीसी क्यामेरापछि स्थानीय तहले नै लानेछन् । ‘बेंसीसहरमा जडान भएको सीसी क्यामेरामार्फत आयोगले सिधै यहाँ मनिटरिङ गर्न सक्छ । सिधै निर्वाचन आयोगले हेर्न मिल्छ,’ मुख्य निर्वाचन अधिकृत खनालले भने । अन्य स्थानीय तहमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि स्थानीय तहकै सहयोगमा सीसी क्यामेरा जडान भएको छ । तारजालीका लागि सिँचाई कार्यालयसँग समन्वय गरिएको र मतगणना सकिएपछि फिर्ता गरिने बताए । ‘बाँसहरु, काम गर्दा लागेको ज्याला हामी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालयले बेहोरेका छौं,’ उनले भने ।

लमजुङमा ४ नगरपालिका र ४ गाउँपालिका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको जिल्ला समन्वय समितिको हलमा मतगणना हुनेछ । सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको छ । मध्यनेपाल नगरपालिकामा एउटा भवन भाडामा लिएर मतगणनास्थल बनाइएको छ । क्व्होलासोंथर गाउँपालिकाको मतगणना शारदा माविको भवनमा हुनेछ । सबै ठाउँमा तारजाली र सीसी क्यामरासहित मतगणनास्थल बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?