मतदान केन्द्र पुगे कर्मचारी

सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार ८ सय २३ मतदाता
मदिरा सेवन, उत्पादन, वितरण गरेको भेटिएमा कारबाही
विनोद भण्डारी

विराटनगर — प्रदेश १ का १४ वटै जिल्लामा मंगलबार साँझ मतपत्र पुगिसकेको छ । प्रदेशका ३३ लाख ४७ हजार ३ सय ८४ मतदाताका लागि १ हजार ८ सय ७७ मतदानस्थल र ४ हजार ५१ मतदान केन्द्र तय गरिएको छ ।

मतदान केन्द्र पुगे कर्मचारी

सबै जिल्लाका मतदानस्थल र केन्द्रमा मंगलबार मतपत्र पुगेको प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले बताए । प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार प्रदेशको निर्वाचन सुरक्षाका लागि १७ हजार ४ सय २५ म्यादी प्रहरी र १० हजार नेपाल प्रहरी परिचालन गरिएको छ । त्यससँगै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलले परिचालन गरेको जनशक्तिबारे सशस्त्र प्रहरी प्रदेशका प्रमुख डीआईजी कमल गिरीले खुलाउन चाहेनन् ।

प्रदेशमा सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार ८ सय २३ मतदाता छन । त्यसका लागि ३ सय मतदान केन्द्र र ८ सय २० मतदानस्थलको व्यवस्था गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । ताप्लेजुङमा ८९ हजार ६ सय ८०, पाँचथरमा १ लाख ४० हजार २ सय २४, इलाममा २ लाख २४ जार ७ सय ४८ मतदाता छन् । यस्तै, झापामा ६ लाख ४६ हजार २ सय ३४, संखुवासभामा १ लाख १७ हजार ७ सय ३१, तेह्रथुममा ७२ हजार ८ सय ९५, भोजपुरमा १ लाख २५ हजार ९ सय २६, धनकुटामा १ लाख १५ हजार ९ सय ६४, सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५, सोलुखम्बुमा ८० हजार १९, खोटाङमा १ लाख ४३ हजार ७ सय ५२, ओखलढुंगामा १ लाख १७ हजार ८५ र उदयपुरमा २ लाख २३ हजार १ सय ३८ मतदाता छन् ।

मतदान अगाडिको गतिविधिले सबै जिल्लाको चुनावी माहोल बनेको छ । मतदान र मत गणनाको व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने गरी प्रशासनिक संयन्त्र सक्रिय भएर लागेको छ । पाँचथरका आठवटै स्थानीय तहका मतदान केन्द्रमध्ये अधिकांशमा आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र म्यादी प्रहरी मंगलबार अपराह्न पुगेका छन् ।

जिल्लाभर तोकिएका १ सय १ मतदानस्थल र १ सय ७६ वटै मतदान केन्द्रका लागि तोकिएका अधिकृतहरूले सोमबारदेखि नै सामग्री बुझेर गन्तव्यमा पुगेको मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए । सामग्री बुझ्न मंगलबार बिहानदेखि निर्वाचन कार्यालयमा भीड लागेको थियो । १ लाख ४० हजार २ सय २४ मतदाता रहेको पाँचथरमा मतदान सम्पन्न गर्न ९ सय कर्मचारी सहित २ हजार १ सय सुरक्षाकर्मी खटेका छन् ।

संखुवासभामा पनि सबै केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगेका छन् । निर्वाचन अधिकारी जयप्रकाश बस्नेतका अनुसार १ सय ३ मतदानस्थलका १ सय ६२ केन्द्रमा अधिकृत सहितको टोली मंगलबार पुगेको हो । अति संवेदनशील मानिएको भोटखोलाका किमाथांका, चेपुवा, च्याम्ताङका केन्द्रमा पनि निर्वाचन टोली सामग्रीसहित पुगिसकेको छ । यो जिल्लाका ७ अति संवेदनशील, ७९ संवेदनशील र १६ सामान्य मतदान केन्द्र छन् ।

जिल्लाहरूमा व्यवस्थापकीय तयारीसँगै चुनावमा शालीन माहोल कायम रहोस् भन्ने तर्फ पनि सतर्कता अपनाइएको छ । समग्र तयारी पूरा भएको धनकुटामा जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्षित गरी मदिरा उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न बन्देज लगाएको छ । मर्यादित र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत मदिरा प्रतिबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ को रहेको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न मदिरामा कडाइ गरिएको उनले बताए । मदिरा सेवन, उत्पादन, बिक्री, वितरण तथा ओसारपसार गरिएको भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : वैशाख २८, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?