तनहुँमा सत्तारुढ दलबीच आंशिक गठबन्धन

सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलकै गृहजिल्ला तनहुँमा आंशिक गठबन्धन भएको छ । सत्तारुढ दलबीच जिल्लामा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन गर्ने तयारी भए पनि सिटको भागबन्डा नमिल्दा १० पालिकामध्ये ४ पालिकामा मात्रै आंशिक गठबन्धन भएको छ ।

तनहुँमा सत्तारुढ दलबीच आंशिक गठबन्धन

भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र घिरिङ गाउँपालिकामा मात्रै गठबन्धन भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । यी पालिकामा पनि दुई पक्षबीच मात्र गठबन्धन भएको छ । भिमादको मेयरमा समाजवादी र उपमेयरमा कांग्रेस, शुक्लागण्डकीको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी, भानुको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी र घिरिङको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

अन्य ६ पालिकामा भने सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । वरिष्ठ नेता पौडेलको पालिका व्यास नगरपालिकामा पनि गठबन्धन हुन सकेन । गठबन्धनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग प्रयास भएको थियो तर सिटको भागबन्डा नमिलेपछि सबैले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराए । एकीकृत समाजवादीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका शंकरनारायण श्रेष्ठले भने उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादी व्यासको मेयर पदमा उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्र र कांग्रेसले मेयर पदमा समाजवादीसँग समन्वयको कोसिस गर्दै छ ।

कांग्रेसका जिल्ला सचिव खनालले भने, ‘समाजवादीको पनि केही भोट छ; उनीहरूको पार्टीबाट मेयरको उम्मेदवारी फिर्ता लिएको हुँदा त्यो भोट कांग्रेसको पोल्टामा ल्याउने प्रयास भइरहेको छ ।’ भिमादमा कांग्रेसले समाजवादीलाई मेयर पद दिएको हुँदा व्यासमा सहयोग गर्छ कि भन्ने आशा रहेको उनले बताए ।

त्यस्तै, कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र समूह बनाएर नेकपा एमाले तनहुँसँग चुनावी तालमेल गरी निर्वाचनमा होमिएका छन् । उनले व्यासको मेयरमा आफ्नै छोरा दीपकराज जोशीलाई उठाएका छन् । जोशीका प्रतिस्पर्धी कांग्रेसका पूर्वसभापति बैकुण्ठ न्यौपानेलाई वरिष्ठ नेता रामचन्द्र पोडेलको साथ छ ।

जिल्लावासीले नेतृत्व परिवर्तन चाहेको भन्दै छोरालाई मेयर पदमा उठाएको उनले बताए । जोशीले एमालेसँगको गठबन्धनले आफ्ना छोरा दीपकराजलाई मात्र होइन, कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएकालाई जिताउन कांग्रेसको भोट काट्ने रणनीति बनाएका छन् ।

यता जोशीसँग व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर र आँबुखैरेनी गाउँपालिकामा गठबन्धन गरेको एमालेले ऋषिङ गाउँपालिकामा भने माओवादी केन्द्रसँग गठबन्धन गरेको छ । यस पालिकामा अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् ।

जिल्लामा कांग्रेसका १४ हजार र एमालेका ६ हजार ५ सय क्रियाशील सदस्य छन् । यसैगरी, कांग्रेसको निर्णयप्रति असन्तुष्ट भई पाटीबाट राजीनामा दिएका पूर्वजिल्ला सचिव विश्व बाँस्तोला पनि यतिबेला जोशीकै पक्षमा देखिन्छन् । उनले चुनावी प्रचारप्रसारको समयमा ४ दिनअघि केशवटारमा भएको चुनावी भेलालाई जोशीकै पक्षबाट सम्बोधन पनि गरेका थिए । जोशी र पौडेलको विवादले गर्दा कांग्रेस तनहुँको राजनीतिलाई ठूलो असर गर्ने बाँस्तोलाको शंका छ । ‘तर‚ नेताहरूले यो विषयमा केही मतलब गरेको देखिँदैन,’ उनले भने, ‘स्थानीय निर्वाचनमा कांग्रेसले गरेका केही गलत निर्णयले गर्दा नेता तथा कार्यकर्ताहरू असन्तुष्ट छन्; त्यतातिर पनि चासो देखाएको पाइँदैन ।’

कांग्रेसभित्रको असन्तुष्टिले जोशी र एमाले समूहलाई फाइदा हुने राजनीतिक वृत्तमा चर्चा गर्न थालिएको छ ।

त्यस्तै जिल्लाको १० वटै पालिकाको ८५ वटा वडा तहसम्म ४४५ पदका लागि उम्मेदवारी दर्ता गरेका एक हजार ६३६ उम्मेदवारहरू यतिबेला आ-आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् ।

प्रकाशित : वैशाख २७, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?