कर्णालीमा बन्न सकेन गठबन्धन- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कर्णालीमा बन्न सकेन गठबन्धन

एमालेलाई कमजोर पार्न गठबन्धन दलले कर्णालीका सबैजसो स्थानीय तहमा गठबन्धन प्रयास गरे पनि असफल
२० स्थानीय तहमा मात्र गठबन्धन भए पनि अन्यमा एकीकृत समाजवादीको उपस्थितिले एमालेलाई जित निकाल्न सहज देखिन्न
कृष्णप्रसाद गौतम

सुर्खेत — सत्तारूढ दलबीच कर्णाली प्रदेशका सबै स्थानीय तहमा गठबन्धन हुन नसके पनि त्यसको फाइदा विपक्षी दल एमाले लिन सक्ला कि नसक्ला भन्ने आकलन सुरु भएको छ । अघिल्लो स्थानीय तह निर्वाचन–२०७४ मा एमालेले २७ तथा कांग्रेस/माओवादीले २५/२५ स्थानीय तहमा चुनाव जितेका थिए । कर्णालीका ७९ मध्ये २० स्थानीय तहमा मात्र सत्ता गठबन्धन भए पनि अन्यमा एकीकृत समाजवादीको उपस्थितिले एमालेलाई जित निकाल्न सजिलो देखिन्न ।

पार्टी विभाजनको असर बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली एक महिनाको अन्तरमा दुई पटक राजनीतिक कार्यक्रमका सिलसिलामा कर्णाली आएका थिए । चैत १२ मा जुम्ला पुगेर राजनीतिक सभामा सहभागी भएका ओलीले ४ वैशाखमा हुम्ला सदरमुकाम सिमकोटको अदानचुलीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

राजनीतिशास्त्री अमर ओली विभाजनको असर एमालेलाई स्थानीय तहको राजनीतिमा परेको बताउँछन् । ‘पार्टी फुटेपछि पहिलेजस्तो त हुँदै हुँदैन । अन्य दुई ठूला दलको साथ र सत्तामा हुनुको फाइदा समाजवादीले लिने देखिन्छ,’ उनले भने । एमालेलाई थप कमजोर पार्न गठबन्धन दलले कर्णालीका सबैजसो स्थानीय तहमा गठबन्धन प्रयास गरे पनि सफल भएन । स्थानीय राजनीतिक स्वार्थ नमिल्दा सत्तारूढ दल आ–आफ्नै सुरले निर्वाचनमा होमिएका छन् । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल पार्टी विभाजनपछि पुरानो साख फर्काउन एमालेले कोसिस गरिरहेको बताउँछन् । ‘पार्टीभन्दा व्यक्ति हेरेर भोट आउनुपर्ने हो, तर हाम्रोमा पार्टी हेरेर आइरहेको छ,’ उनले भने, ‘गठबन्धन नयाँ भएकाले एकले अर्कोलाई विश्वास नगर्ने वातावरण र मतदाताको अलमलको केही फाइदा एमालेलाई पनि हुन सक्छ ।’

कर्णालीका धेरैजसो स्थानीय तहमा गठबन्धन सफल नभए पनि केही जिल्लामा २ दलले मात्र तालमेल गरेका छन् । जस्तो कि, सुर्खेतमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ भने गठबन्धनबाट एकीकृत समाजवादी ‘आउट’ भएको छ । माओवादीले एक पालिकामा प्रमुख (चौकुनै गाउँपालिका) र ४ पालिकामा उपप्रमुख पाउने गरी कांग्रेससँग गठबन्धन गरेको देखिन्छ । रुकुम पश्चिममा कांग्रेसले ४ स्थानीय तहमा एमालेसँग गठबन्धन गरेको छ भने माओवादीले एकीकृत समाजवादीसँग तालमेल गरी प्रचारप्रसार तीव्र बनाएको छ । कालीकोटका ९ मध्ये ७ प्रमुख पद माओवादी आफैंले लिने गरी एकीकृत समाजवादीसँग तालमेल भएपछि कांग्रेस ‘आउट’ भएको छ ।

कालीकोटका सबैजसो स्थानीय तहमा माओवादीका लागि चन्द समूह चुनौती बनेको देखिन्छ । चन्द समूहले कालीकोटका सबै स्थानीय तहमा स्वतन्त्रबाट उम्मेदवारी दिएको छ । चन्द समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला भएकाले पनि कालीकोटमा चन्द समूहको वर्चस्व छ । चन्द समूहको प्रभाव क्षेत्र मानिने नरहरिनाथको अध्यक्षमा केन्द्रीय सदस्य एटम बिसी र उपाध्यक्षमा कलसा विक, रास्कोट नगरपालिका प्रमुखमा संविधानसभा–०६४ की सदस्य धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुख फूलटौरा विकलगायतले उम्मेदवारी दिएका छन् । तत्कालीन माओवादीका धेरैजसो पुराना नेता चन्द समूहतिर भएकाले माओवादीलाई कालीकोटमा चुनाव जित्न मुस्किल हुने स्थानीय अगुवा दमनबहादुर बमले बताए ।

माओवादी केन्द्रका लागि कर्णाली प्रभाव क्षेत्र मानिन्छ । गत स्थानीय तह निर्वाचनमा माओवादीले देशभर १ सय ६ सिट जित्दा कर्णालीबाट मात्रै २५ सिट अर्थात् कुल जितको झन्डै २४ प्रतिशत जित हासिल गरेको थियो । नागरिक अगुवा टीकाराम ढकाल अर्थमन्त्री जनार्दन शर्मा र कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतको आन्तरिक प्रतिस्पर्धाका कारण माओवादीलाई आफ्नो गढ कायम राख्न समस्या हुने आकलन गर्छन् । पूर्व प्रदेशसभा सदस्यहरु ठम्मर विष्ट र धर्मराज विष्टलगायत प्रभावशाली नेता एमालेमा गएकाले माओवादीलाई आफ्नो साख जोगाउन मुस्किल भएको उनको भनाइ छ । ‘विवादास्पद र सांसद नै नभएका कार्चेन लामालाई प्रदेश सरकारमा मन्त्री बनाउँदा पनि माओवादीप्रति कार्यकर्ता असन्तुष्ट छन्,’ उनले भने, ‘यसअघि गठबन्धन र नेकपा हुँदाको फाइदा पनि एमालेभन्दा माओवादीले लिएको थियो, तर जताततै फाइदा लिने प्रवृत्तिले माओवादीलाई कमजोर बनाउँदै लगेको छ ।’

कांग्रेसका लागि गठबन्धन नै समस्या भएको ढकालले बताए । ‘कांग्रेसको प्रभाव पहिलेभन्दा राम्रो देखिएको थियो,’ उनले भने, ‘कार्यकर्ताको चाहनाविपरीत नेताहरुले गठबन्धन गर्दा पार्टीको संस्थापनइतर समूह मौन बसेको छ, जसले पार्टीलाई नै घाटा पुर्‍यायो ।’ उनले सुर्खेत, दैलेख, जुम्लालगायत जिल्लामा पुराना नेताहरु मौन बस्दा कांग्रेसको अवस्था कमजोर हुँदै गएको बताए ।

माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पहिलेभन्दा बढी सिट जित्ने गरी चुनावी कार्यक्रमलाई निरन्तरता दिइएको बताइन् । ‘कर्णाली हाम्रो आधार क्षेत्र हो, यो चुनावमा नयाँ स्पिरिटका साथ पार्टीलाई झन् सशक्त बनाउन जुटेका छौं,’ उनले भनिन्, ‘हाम्रा लागि केही चुनौती भए पनि पहिलो पार्टी बन्न कसैले रोक्दैन ।’ एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले देश एमालेमय भएका बेला कर्णालीमा पनि त्यसको लहर चलेको बताए । थप १० सिट जित्ने गरी निर्वाचनमा होमिएकाले आफूहरुको उभार कसैले रोक्न नसक्ने उनको दाबी छ । चुनावी परिणामपछि कुन दलको हैसियत के हो भन्ने प्रस्ट देखिने कांग्रेस प्रदेश सभापति ललितजंग शाही बताउँछन् ।

प्रकाशित : वैशाख २७, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिममा दिनहुँजसो झडप, असुरक्षित बन्दै निर्वाचन

रूकुम पश्चिममा चुनावी प्रचारप्रसारका क्रममा कांग्रेस–माओवादी कार्यकर्ताबीच झडप हुँदा सातायता २५ जना घाइते, ११ को अवस्था गम्भीर
कृष्णप्रसाद गौतम

सुर्खेत — चुनावी प्रचारप्रसारका क्रममा आइतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोलागाउँमा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप भयो । २ जना घाइते भए । प्रहरी तुरुन्तै घटनास्थलमा खटियो र थप क्षति हुन पाएन ।

त्यसैबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री जनार्दन शर्मासहितको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको थियो । बैठकमा निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्ने र एकअर्काको कार्यक्रमलाई अबरोध नगर्ने सहमति भयो । झडपले नकारात्मक सन्देश गएको र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै दुवै पक्षबाट संयुक्त अपिल जारी भयो । तर, २४ घण्टा नबित्दै सोमबार फेरि कांग्रेस र माओवादी कार्यकर्ता कुटपिट र आगजनीमा उत्रिए । माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रयोग गरेको एउटा मोटरसाइकल जलाउनुका साथै २ वटा मोटरसाइकल र एउटा गाडीमा तोडफोड गरिदिएका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार लु१ज २६६१ नम्बरको जिप, भे७प ३०६५ र भे८प ३६२० नम्बरको मोटरसाइकल तोडफोड भएको छ । जलाइएको मोटरसाइकलको नम्बर खुलेको छैन ।

आफ्ना कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको भन्दै कांग्रस कार्यकर्ताले नगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

आइतबार मात्रै दुवै दलले झडप नगर्ने र आ–आफ्ना कार्यक्रम सञ्चालन गर्दा उत्तेजक भाषण नगर्ने, एक वडाका कार्यकर्ता अर्को वडामा नबोलाउने र निर्वाचनलाई शान्तिपूर्ण बनाउने सहमति गरेका थिए ।

शनिबार साँझ पनि चौरजहारी–६ खागलमा माओवादी कार्यकर्ताहरूले घरदैलो गरिरहेका कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा १० जना घाइते भएका थिए । घाइतेमध्ये लक्ष्मण बोहरा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । त्यसै रात एमाले नेता चन्द्रबहादुर विकमाथि पनि आक्रमण भएको छ । एक सातायता जिल्लाको आठबीसकोट, बाँफिकोट र त्रिवेणीमा विपक्षी दलका कार्यकर्ताबीचको झडपमा २५ जना घाइते भएका जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए । जसमध्ये गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रेफर गरिएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा दिनहुँजसो भइरेहका झडपले सुरक्षा निकायका प्रमुखहरूसमेत आजित भएका छन् । ‘बैठकमा नेताहरूले शान्तिपूर्वक प्रचारप्रसार गर्ने निर्णय गर्नुहुन्छ,’ जिल्लाका एक सुरक्षा अधिकारीले भने, ‘तर एउटा पार्टीको कार्यकर्ता देख्नबित्तिकै अर्को पार्टीका कार्यकर्ताले आक्रमण गर्ने प्रवृत्ति छ ।’

दिनहुँ झडपका घटना हुँदा मतदातामा समेत त्रासको वातावरण बनेको नागरिक अगुवा श्याम केसीले बताए । ‘यस्तै अवस्था रहे मतदाताहरूले कसरी ढुक्कले मतदान गर्छन् ?,’ उनले भने, ‘किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नहरूलाई पक्राउ गरेको छैन । प्रहरी घटनाअघि मुकदर्शक बन्दा मतदातामा थप त्रास फैलिएको छ । प्रहरीले कम्तीमा हवाई फायर गरेर पनि भीडलाई नियन्त्रण गर्न सक्थ्यो, त्यतिसम्म पनि प्रयास भएन ।’

स्थानीय कविराज खड्काले मतदातालाई सुरक्षित बनाउन दलहरू नै जिम्मेवार बन्नुपर्ने बताए । ‘केन्द्रमा नेताहरूले गठबन्धन गरेका छन्, यहाँ भने दिनहुँ झडप भइरहेको छ,’ उनले प्रश्न गरे, ‘दलका कार्यकर्ता आफैं असुरक्षित छन् भने हामीले के सुरक्षाको आस गर्ने ?’ केन्द्रमा माओवादी र कांग्रेसले गठबन्धन गरे पनि रुकुम पश्चिममा भने फरक गठबन्धन छ । यहाँ कांग्रेस र एमाले तथा माओवादी र एकीकृत समाजवादीले गबन्धन गरेका छन् । ‘दुवैले एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा झडप चलिरहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिताअनुसार दुवै पक्षले प्रचारप्रसार गरे मतदाता पनि ढुक्क रहने अवस्था हुन्छ ।’

यसअघिको स्थानीय निर्वाचनमा जिल्लाका ६ वटै स्थानीय तहमा माओवादी विजयी भएको थियो । ‘माओवादीमा फेरि युद्धकै धङ्धङी कायमै छ,’ कांग्रेस जिल्ला सभापति ओलीले भने, ‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि ऊ आत्तिएको छ । उसँग राजनीतिक संस्कार नै बसेन ।’ उनले अर्थमन्त्री शर्माको छायामा प्रहरी प्रशासन पर्दा माओवादी कार्यकर्ता अराजक बन्दै गएको आरोपसमेत लगाए । ‘शान्तिपूर्ण वातावरणमा प्रचारप्रसार गर्दा पनि उहाँहरूले भाँजो हालिरहनु भएको छ,’ माओवादी जिल्ला संयोजक रोकाले भने, ‘हाम्रा साथीहरूले क्रियाको प्रतिक्रिया मात्र दिएका हुन् ।’ आचारसंहिताविपरीतका कार्य नगर्न कार्यकर्तालाई निर्देशन दिइसकेको उनले बताए ।

एक सुरक्षा अधिकारीका अनुसार अहिले चौरजहारी, आठबीसकोट र त्रिवेणीमा दिनहुँजसो झडपका घटना भइरहेका छन् । ‘फरक विचारबिचको गठबन्धन र लामो समयको द्वन्द्वको मनोविज्ञान कायम हुँदा यो अवस्था आइरहेको छ,’ ति अधिकारीले भने । उनका अनुसार जिल्लाका ७६ मतदानस्थलमध्ये १९ मतदानस्थल अति संवेदनशील छन् । विगतका निर्वाचनमा घटेका घटना र सञ्चार तथा सडक असुविधाका कारण समस्या देखिएका स्थानलाई अति संवेदनशील मानिए पनि अहिले त्यसबाहेकका ठाउँमा समेत झडप भइरहेको छ । उनले अझै १/२ दिन यस्तै अवस्था रहे मतदाताहरू भोट हाल्न जान पनि डराउनुपर्ने स्थिति आउने बताए ।

दुवै दलको विवाद मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ पटक सर्वदलीय बैठक बसिसकेको प्रजिअ परमानन्द घिमिरेले बताए । ‘हामीले एकीकृत सुरक्षा रणनीतिअनुसार जिल्लाभरि पर्याप्त सुरक्षाकर्मी खटाएका छौं,’ उनले भने, ‘दुवै दलले आचारसंहिताअनुसार अघि बढ्ने निर्णय गरेका कारण शान्ति सुरक्षाको अवस्थामा अब सुधार हुनेछ ।’

प्रकाशित : वैशाख २७, २०७९ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×