कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन

थाहामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

प्रताप विष्ट

हेटौंडा — उम्मेदवारहरुको दैनिकी आजभोलि अति व्यस्त र थकानपूर्ण देखिन्छ । बिहान सवेरै उठ्ने, समर्थक र कार्यकर्ता जम्मा पार्ने, झण्डा हातमा बोकेर र्‍याली निकाल्ने, टोलटोल धाउने , वडा–वडामा पुगेर सभा गर्ने । दिनभर व्यस्त देखिन्छन् उनीहरू ।

थाहामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

जतिजति चुनावको दिन नजिक आउँदै छ, उति नै उनीहरूको दौडधुप बढ्दो छ । चुनावी प्रचार प्रसार, घरदैलो र कोण सभा गर्दागर्दै उनीहरुको दिन बित्ने गरेको छ । उम्मेदवार र कार्यकर्तारुको यस्तो क्रम केही सातादेखि नै चलिरहेको छ ।

पर्यटकीय नगरीको रुपमा परिचित मकवानपुरको थाहा नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरु मतदातालाई आफूतिर आकर्षित गर्न घरदैलो, र्‍याली र कोणसभामा व्यस्त छन् । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विष्णुबहादुर विष्टले मेयरमा उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट अच्युतम ढकाल मेयरको प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धन आफ्नो विरासतलाई निरन्तरता दिन चुनावी माहोल बनाउँदै घरदैलोमा पुगिरहेको छ । त्यसैगरी एमालेका उम्मेदवार र कार्यकर्ताहरु पनि बिहानैदेखि अवेरसम्म घरदैलो र कोणसभामा व्यस्त छन् । शनिबार गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार साविकको आग्रा गाविसमा घरदैलो गर्न पुगेका थिए ।

२०७४ सालको निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धनबाट माओवादीका लवशेर विष्ट उक्त नपाको मेयरमा विजयी भएका थिए । यसबीचमा विष्टको कामलाई लिएर थाहा नगरपालिकासँगै जिल्लामा पनि सकारात्मक प्रतिक्रिया आए ।

अहिलेको निर्वाचनमा पनि माओवादी र कांग्रेस गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । गठबन्धनबाट माओवादीको तर्फबाट विष्टले मेयरमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका भरत गोपालीले उपमेयरमा उमेदवारी दिएका छन् । १२ वटा वडामा फैलिएको उक्त नगरपालिकाका २ वटा वडामा मात्र कांग्रेस र माओवादीबीच गठबन्धन भएको हो ।

सत्ता गठबन्धनको विरासतलाई चुनौती दिँदै एमालेले अच्युतम ढकाललाई मेयरमा र कल्पना बलामीलाई उपमेयरमा उमेदवारी गराएको छ । रुपचन्द विष्ट (थाहा) को जन्मथलो र पर्यटकीय क्षेत्र भएकाले थाहा नगरपालिकाको निर्वाचन सबैको चासोको विषय बन्न पुगेको छ । रुपचन्द्र विष्ट‘थाहा’को योगदानलाई चिरस्थायी बनाउन भन्दै उक्त नपाको नाम थाहा नगरपालिका नामाकरण गरिएको थियो। दामन, पालुङ, आग्रा, बज्रबाराही, चित्लाङ र टिष्टुङसहित साविकको ६ वटा गाविस समेटेर उक्त नगरपालिका घोषणा गरिएको हो ।

यसअघि माओवादीले जितेको यस नपामा गठबन्धनको विरासत भत्काउन एमाले प्रयासरत देखिएको छ । आफूहरूसँग प्रस्ट मिसन र जुझारु संगठन भएको एमालेका नेताहरू बताउँछन् । गठबन्धनका नेताहरू भने आफूहरूसँग जनताको साथ रहेको बताउँछन् ।

२०७४ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाले माओवादीका उम्मेदवारलाई सघाएको थियो । तर जनमोर्चाले अहिले मेयरमा आफ्नै उमेदवार शुभराज गोलेलाई उठाएको छ । जसकारण गठबन्धनको उम्मेदवारलाई चुनौती थपिएको छ ।

२०७४ को निर्वाचनमा गबन्धनका उम्मेदवार लवशेर विष्टले ९ हजार ९१ मत ल्याएर विजय भएका थिए भने उनका निकटतम प्रतिष्पर्धी विष्णुप्रसाद ढकालले ६ हजार ५ सय ४९ मत ल्याएका थिए । उपमेयरमा खड्ग गोपालीले ७ हजार ३ सय ७ मत ल्याएर जितेका थिए भने उनको प्रतिद्धन्द्धी कल्पना बलामीले ६ हजार ७ सय ४५ ल्याएका थिइन् ।

यद्यपि थाहा नगरपालिकामा २०७४ निर्वाचनभन्दा अहिलेको निर्वाचन गठबन्धन र एमाले दुवैका लागि पेचिलो बन्दै गएको छ । थाहा नगरपालिकाका मेयर लवशेर विष्ट पदबाट राजीनामा दिएर गठबन्धनका उमेदवारलाई जिताउन मैदानमा उत्रेका छन् । आफूले गरेका राम्रा कामलाई निरन्तरता दिन गठबन्धनको उम्मेदवार विजयी गराउन पदबाट राजीनामा दिएर चुनाव प्रचार प्रसारमा लागेको बताए ।

एमाले थाहाका इन्चार्ज ढकाल भने पार्टी विभाजनको खासै असर नपरेको र विगतको भन्दा संगठन विस्तार व्यापक रुपमा गरेकाले आफूहरूको अवस्था बलियो भएको बताउँछन् । संयोग नै मान्नु पर्छ, गत निर्वाचनमा थाहाको मेयरमा विष्ट र ढकालबीच प्रतिष्पर्धा थियो भने अहिले पनि मेयर पदमा उनीहरूबीच प्रतिष्पर्धा छ ।

प्रकाशित : वैशाख २७, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?