३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कांग्रेससँग माओवादी–एकीकृत समाजवादी सशंकित

कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले बागी उम्मेदवारी दिएर अन्य दललाई सहयोग गरिरहेको गुनासो
बबिता शर्मा

काठमाडौँ — सत्ता गठबन्धनले विभिन्न पालिकामा तालमेल गर्दै साझा उम्मेदवारी दिए पनि कांग्रेसको पूरै मत आफ्ना उम्मेदवारलाई आउनेमा सहयात्री दल माओवादी र एकीकृत समाजवादी ढुक्क देखिएका छैनन् । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि गठबन्धन टुट्ने दाबी गरिरहेकाले पनि सत्तारूढ दलहरू आपसमा सशंकित देखिएका छन् । 

कांग्रेससँग माओवादी–एकीकृत समाजवादी सशंकित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभामा स्थानीय प्रसंग उठाएर कांग्रेसका तर्फबाट अपेक्षाकृत सहयोग नभएको संकेत गरेका छन् । ‘गठबन्धन अझै प्रस्ट भएको देखिनँ । यहाँ (कैलारी गाउँपालिका) का हाम्रो पार्टीका उम्मेदवारलाई जुनसुकै रूपमा भए पनि जिताउन अपिल गर्न चाहन्छु,’ दाहालले भनेका छन्, ‘यहाँ कांग्रेसको कसैले उम्मेदवारी दिएको छ, यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । हाम्राविरुद्ध कुनै खालका धोका, बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।’ गठबन्धनबीच भागबन्डा हुँदा उक्त गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । सहमतिविपरीत कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी परेपछि माओवादीले उपाध्यक्षमा पनि उम्मेदवारी दिएको छ ।

संविधान र लोकतन्त्रको रक्षा तथा मुलुकमा विकास र सुशासनका लागि पाँच दलीय गठबन्धन बनेको नेताहरूले दाबी गर्दै आएका छन् । तर स्थानीय निर्वाचनमा देशभर तालमेल गर्ने उनीहरूको प्रयास सफल भएन । तालमेल गरिएका कतिपय पालिकामा पनि माओवादी, एकीकृत समाजवादी र जसपाको भागमा परेको सिटमा कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । यसले सहयात्री दलका नेता असन्तुष्ट छन् । खास गरी कांग्रेसको संस्थापन पक्षले तालमेलको भावनाअनुसार आपसी सहयोगका लागि कोसिस गरे पनि शेखर कोइराला पक्षले असहयोग रहेको गठबन्धनका अन्य दलका शीर्ष नेताहरूको बुझाइ छ । ‘कांग्रेसमा संस्थापनको कुरा मानेर हिँड्ने र नमान्ने पनि हुन्छ । यो पुरानै चरित्र हो,’ माओवादी नेता गणेश साहले भने, ‘अहिले म मधेस प्रदेशमा छु । यहाँ शेखरजीहरूको विरोध त छैन तर असहयोग देखिन्छ । त्यसले केही ठाउँमा भोटको मात्रा कम होला तर समग्रमा कांग्रेसकै मत तल झार्दिन सक्छ ।’

कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले तालमेलको मर्मविपरीत बागी उम्मेदवारी दिएर अन्य दलका उम्मेदवारलाई सहयोग गरिरहेको पनि गठबन्धन दलका नेताहरूको गुनासो छ । पाँच दलीय गठबन्धनको आइतबार पोखरामा आयोजित चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको भूमिकामाथि प्रश्न उठाए । ओलीले प्रधानमन्त्री पद गुमाएको उदाहरण दिँदै उनले दम्भ राख्ने दल र नेताको भविष्य नहुने भएकाले कांग्रेसलाई इमानदारी देखाउन आग्रह गरेका थिए । ‘धेरै दम्भी हुँदा ओलीले प्रधानमन्त्री गुमाए । हामीले पनि दम्भ पाले त्यस्तै नियति भोग्नुपर्ने हुन्छ,’ नेपालको भनाइ थियो, ‘कहिलेकाहीं कांग्रेसमा दम्भ देखिन्छ । दम्भ पाले केपीकै हालत हुन्छ । ठूलो सानो नभनौं र सबैको अस्तित्व स्विकारौं ।’ सभामा माओवादी अध्यक्ष दाहालले ओलीको अभिव्यक्ति र कांग्रेसको असन्तुष्ट समूहतर्फ लक्ष्य गर्दै भनेका थिए, ‘गठबन्धन टुटाउने प्रयास र षड्यन्त्र चलिरहेको छ ।’

कांग्रेसका संस्थापन पक्षका एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई असफल पार्न नेता कोइराला र महामन्त्री गगन थापा गठबन्धनबीच भएको तालमेलअनुसार चुनावी अभियानमा जोडिएका छैनन् । ‘शेखर र गगनजीलाई अहिलेको गठबन्धन मन परेको छैन । शेखरजीलाई पार्टी सभापतिमा हारेको बदला लिन मन छ । गगनजीले पार्टी हित होइन आफ्नो हित हेरिरहनुभएको छ,’ ती नेताले भने, ‘यसले सहयात्री दलहरूमा आंशका हुनु स्वभाविक हो । तर सभापतिले आफ्नोतर्फबाट पुरै कोसिस गर्नुभएको छ । गठबन्धनका उम्मेदवारले नै जित्छन् ।’

भरतपुर, काठमाडौं, पोखरा र धनगढीमा भएका पाँच दलीय गठबन्धनका संयुक्त चुनावी सभामा कोइराला पक्ष सहभागी भएको छैन । भरतपुरमा बिहीबार भएको सभामा कांग्रेस नेता कोइराला, महामन्त्री थापा र विश्वप्रकाश शर्मा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनीहरू गएनन् । शुक्रबार काठमाडौंमा भएको सभामा पनि थापा सहभागी थिएनन् । महामन्त्री थापा काठमाडौं महानगरको चुनावमा केन्द्रित छन् ।

आफूनिकट नागेश कोइराला विराटनगर महानगरमा मेयरका उम्मेदवार रहेको भन्दै शेखर कोइराला उहीं बसेर सक्रिय छन् । नेता कोइराला र थापाले माओवादीले मेयर पाएको भरतपुर र एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरपालिकामा असहयोग गरे त्यसले प्रभाव विराटनगरमा पर्न सक्ने गठबन्धनमा रहेका नेता बताउँछन् । ‘उहाँहरू (कोइराला पक्ष) ले अन्यत्र असहयोग गर्नुभयो भने विराटनगरका उम्मेदवारलाई असहयोग हुन सक्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले कान्तिपुरसँग भने, ‘तर त्यस्तो नहोला, सबैतिर सहयोग आदानप्रदान हुन्छ होला ।’

कांग्रेसमा कोइराला पक्ष सुरुदेखि गठबन्धनको विपक्षमा थियो । उक्त पक्षको भूमिकाबारे कांग्रेस संस्थापन पक्षीय एक नेताले भने, ‘उहाँहरू एमसीसीमा गठबन्धन तोड्न लाग्नुभयो, नसकेपछि चुनावमा दाउ खेल्दै हुनुहुन्छ । बालकोट र उहाँहरूको चासो मिलेको छ, यो संयोग हो वा योजना, पछि खुल्ला ।’

सहमति भएका ठाउँमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नेतामाथि पार्टीले कारबाही नगर्दा शंका उत्पन्न भएको एक नेताले बताए । ‘गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले बागीलाई सम्बन्धित पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो । कांग्रेसले कारबाही गरेको छैन । त्यसले पनि आशंका थपिएको हो,’ उनले भने । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको इमानदारी र नैतिकता परीक्षण हुने बताउँछन् । ‘हामीले इमानदारीपूर्वक एक–अर्कालाई सहयोग गरेर निर्वाचन जित्नुपर्छ । जनमोर्चा इमानदार छ, अरूबाट पनि त्यस्तै अपेक्षा गर्छ,’ उनले भने ।

आफ्नो पार्टीका मतदाताप्रति अविश्वास उत्पन्न भएका बेला सोमबार धनगढीमा कांग्रेस सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारले अपिलमार्फत उम्मेदवारी नत्यागे पार्टीले कारबाही गर्ने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले चैत १५ मा आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको थियो । कांग्रेसको सोही निर्णयअनुसार ६ महानगर र ११ उपमहानगरको केन्द्रबाट तालमेल गरिएको थियो । अन्यमा जिल्ला तहबाट देशव्यापी प्रयास भए पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मा तालमेल भएको छ । एकतिहाइभन्दा पनि कम अर्थात् २८ प्रतिशतमा मात्रै तालमेल सम्भव भएको हो । सेट तालमेल भएकामध्ये कांग्रेसले १ सय ३४, माओवादीले ४९, एकीकृत समाजवादीले १८, जसपाले ४ र राष्ट्रिय जनमोर्चाले ४ पालिकामा प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् । तिनैमध्ये केहीमा बागी उम्मेदवारी परेकामा न्यून मात्रै पछि हटेका छन् ।

प्रकाशित : वैशाख २७, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?