कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
स्थानीय तह निर्वाचन

बाँकेमा बिरादरी भोटको भर

रूपा गहतराज

नेपालगन्ज — बढ्दो गर्मी र चुनावी तापले बाँकेको राजनीतिक सरगर्मी एक्कासि बढाएको छ । बाँकेको विकट नरैनापुरमा अध्यक्षकी उम्मेदवार पद्मावती यादव पति दिनेशचन्द्रको फोटो बोकेर उम्मेदवारी दर्ता गराउन पुगेकी थिइन् । पद्मावती एमालेका तत्कालीन केन्द्रीय सदस्य दिनेशचन्द्र यादवकी पत्नी हुन । दिनेशचन्द्र कोभिडले बिते पनि बघौडा क्षेत्र समेटिएको नरैनापुरमा यादव पारिवारको प्रभाव उस्तै छ ।

बाँकेमा बिरादरी भोटको भर

चारवटा चुनावमा प्रतिस्पर्धा गरेका यादवले ०७० को संसदीय चुनावमा विजय हासिल गरेका थिए । धेरैपटक पराजित भए पनि उनी हरेक चुनावमा निकटतम प्रतिस्पर्धी भने भइरहे । एमालेको बलियो संगठन नभएको यस ठाउँमा यादवको विरादरी मतका कारण उनले उल्लेख्य मत प्राप्त गरेको बताइन्छ । त्यही कुरालाई हेक्का राख्दै एमालेले आसन्न स्थानीय तह निर्वाचनमा यादव–पत्नी पद्मावतीलाई अध्यक्षको उम्मेदवार बनाएको हो ।

यहाँका धेरै महिला घरभन्दा बाहिर निस्कँदैनन् । घुँघट अनि पर्दाभित्र रहने ती महिला गाउँमा अपरिचित मान्छे आए भने झ्याल–ढोकाबाट नियाल्छन् । गाउँपालिकामा पुगेर सेवा लिने महिला नगन्य छन् । यहाँ स्नातक तह उत्तीर्ण एक जना महिला पनि छैनन् । ६५ वर्षीया पद्मावती अहिले जनताको घरदैलोमा पुगेर मत माग्दै छिन् । राजनीतिक परिवारकी सदस्य रहे पनि पद्मावती यसरी जनताको घरघरमा पुगेको पहिलो पटक हो ।

पति दिनेशचन्द्र ०५१, ०५६, ०६४ र ०७० सालको चुनावमा होमिँदा पद्मावती घरकै बागडोर सम्हालिरहेकी थिइन् । मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको यो पालिकामा हात जोड्दै हिँडेकी पद्मावतीले आफूले जित्दा सबैलाई साथमा लिएर नरैनापुरको विकास गर्नर्े प्रतिबद्धता जनाएकी छन् ।

कांग्रेसबाट रामचन्द्र मौर्यले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी साबिकको लक्षमणपुर गाविस अध्यक्ष हुन् । पालिकामा राम्रो छवि बनाएका उनको नरैनापुरमा राम्रो पकड छ । ०७४ मा नरैनापुरमा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक अहमद शाहले चुनाव जितेका थिए । उनी अहिले पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । यो पालिकामा १८ हजार मतदाता छन् । ‘विरादरी मतको बलमा चुनाव जितिन्छ भन्ने भ्रम मात्र हो,’ नरैनापुरका पुत्तन अलि दर्जीले भने, ‘जनता पहिलाजस्तो लाटा छैनन् तर राम्रो काम गर्नेलाई जनताले अवश्य विश्वास गर्नेछन् ।’

नरैनापुर मात्र होइन, मधेसी बाहुल्य जानकी र डुडुवा गाउँपालिकामा पनि विरादरी जनमत भएकालाई दलले उम्मेदवार बनाएका छन् । दलहरू आफू कमजोर रहेका पालिकामा वैचारिक र संगठनात्मक भन्दा ज्यादा व्यक्तित्व, जातीय र विरादरी भोटको आसमा चुनावमा होमिएका छन् । जानकी गाउँपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष रामनिवास यादवको गत भदौ १२ गते निधनपछि उपाध्यक्ष भूमिसरा धितालले पालिकाको नेतृत्व गर्दै आइन् । एमालेले रामनिवासका छोरा २९ वर्षीय हिमांशु यादवलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

डुडुवामा पनि एमालेले तत्कालीन होलिया गाविस अध्यक्षसमेत भइसकेकी सरोजकुमारी यादवलाई पालिका अध्यक्षको उम्मेदवार बनाएको छ । उनी लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री बनेका जसपा सांसद विजयबहादुर यादवकी पत्नी हुन् । जसपाले सांसदबाट निलम्बन गरेपछि यादव सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन् । कांग्रेस जिल्ला सचिव रहेका यादव ०७४ मा डुडुवा पालिका अध्यक्षमा टिकट नपाएपछि पार्टी त्यागेर जसपा प्रवेश गरेका थिए । राजनीतिक विश्लेषक जनार्दन आचार्य यसलाई राजनीतिक कुसंस्कारका रूपमा लिन्छन् । ‘विरासत र परिवारवादले लोकतन्त्रलाई कमजोर बनाउँछ । जो पहुँचमा छ, उसैले पालैपालो अवसर पाउनु राम्रो होइन,’ उनले भने, ‘त्यसो भए पहुँचबाहिरका व्यक्तिले कहिले अवसर पाउने ? लोकतन्त्रभित्र यस्तो प्रवृत्ति निरंकुशता हो ।’

०७४ मा बाँकेका आठमध्ये कोहलपुर, जानकी, खजुरा र बैजनाथमा एमालेले जितेको थियो । राप्तीसोनारी, डुडुवामा कांग्रेस र नरैनापुर संघीय समाजवादी फोरम (हाल जसपा) र नेपालगन्जमा राप्रपाले जितेका थिए ।

प्रकाशित : वैशाख २७, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?