कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कीर्तिपुरवासीलाई कस्तो लाग्दैछ चुनाव ?

'त्रिवि काखैमा छ, तर हामीले लाभ उठाउन सकेका छैनौं'

काठमाडौँ — मेलम्चीको पानीले कीर्तिपुरवासी अस्तव्यस्त देखिन्छन् । खबर नगरि आएको मेलम्चीलाई संगालेर राख्न कीर्तिपुरवासी हतारिँदैछन् । कतिका अनुहारमा खुसीले उज्यालो देखिन्छ भने कसैलाई खासै उत्साह छैन। हप्ताको २ पटक मात्र पानी आउने कीर्तिपुरमा यसरी मेलम्ची उर्लिएपछि ‍पानी जोगाउने चक्करमा कीर्तिपुरवासीले आकाशबाट झरेको पानीलाई पनि बेवास्ता गरेका छन् ।

कीर्तिपुरवासीलाई कस्तो लाग्दैछ चुनाव ?

ट्यांकी, घरका गाग्री, ग्यालिन भर्न सबैलाई भ्याइनभ्याइ छ । दृश्य हेर्दा लाग्छ, कीर्तिपुरवासीमा कसले धेरै पानी जम्मा गर्ने ? भन्ने प्रतिस्पर्धा नै चलिरहेको छ । जसरी कीर्तिपुरका उम्मेदवारलाई वैशाख ३० को स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याउने चर्को होडबाजी चलेको छ ।

कीर्तिपुर नगरपालिकामा नेकपा एमालेका केश रत्न बज्राचार्य, नेपाली कांग्रेसका राजकुमार नकर्मी र नेकपा माओवादी केन्द्रका शिव शरण महर्जन एक्ला-एक्लै भिड्न तयार छन् । वडास्तरमा सत्तारुढ दलको चुनावी गठबन्धन भयो । तर प्रमुख र उपप्रमुखमा भने सत्ता गठबन्धनका दलहरुमा खासै मिलेमतो हुन सकेन । नेपाली कांग्रेस र जसपाबीच मात्रै तालमेल भयो । एमाले र माओवादी कांग्रेस र जसपाको गठबन्धसँग एक्लै भिडिरहेका छन् ।

छेउको बाटोदेखि घरसम्म पानी लैजाने सुरसारमा रहेछन् वडा १, देवपोखरीका ४२ वर्षीय भीमबहादुर महर्जन । बाटोदेखि घरको दूरी २५ मिटर । घरसम्म पानी पुर्‍याउन पाइपको आवश्यकता थियो । आफूसँग भएको पाइपले घरसम्म धेरै पानी नपुर्‍याउने भएपछि कसो गरौं, के गरौंको भावमा बाटैमा उभिएका थिए महर्जन । 'तपाईंलाई चुनाव लागेको छैन ?' हामीले प्रश्न राख्यौं । प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए, 'हामीलाई कहाँ चुनाव लाग्छ ? अहिले मेलम्ची लागेको छ । अब यहाँ पानीको धेरै समस्या छ । फेरि मेलम्ची कहिले आउँछ पनि ठेगान हुँदैन ।'

कीर्तिपुरमा खानेपानीको समस्या पूरानै हो । हप्तामा २ पटक आउने पानीमै कीर्तिपुरवासी भर पर्छन् । आक्कलझुक्कल आउने मेलम्चीको भर हुँदैन । वडा १ मा बस्दै आएका महर्जन आगामी स्थानीय निर्वाचन जित्नेले खानेपानीको यो समस्यालाई समाधान गरिदिउन् भन्ने चाहन्छन् । उनी मात्र होइन, अधिकांश कीर्तिपुरवासीकै माग यही छ । 'हुन त पुराना उम्मेदवारले कीर्तिपुरवासीको समस्या समाधान गरिदिएकै जस्तो लाग्छ । पछिल्लो समय हरेक टोलमा बाटोमा ढुंगा छाप्ने काम भयो । कहीँ पोखरी बनिरहेको छ । अब नयाँ आउनेले पनि राम्रो काम गरोस्,'महर्जनले भने, 'तर, यतिका वर्षदेखि भोट हाल्दै आएको छु, अहिलेसम्म खासै कसैले राम्रो काम गरेको छैन । अब जित्नेले राम्रो काम गरोस् जनताको समस्या बुझिदिओस्।'

मेलम्चीका कारण भीमबहादुरलाई बोल्ने फुर्सद दिएन । देवपोखरीकै श्याम राजभण्डारीले भने सही व्यक्तिलाई मात्र भोट दिने बताए । ४१ वर्षीय राजभण्डारी भन्छन्, ‘पार्टी पौवा, पोखरी बनाएका छन् । राम्रो बनेको छ । काम त गरेका छन् नेताहरुले । निरन्तरता दिनुपर्छ ।कीर्तिपुरवासी खुसी नै छौँ ।’


त्यतिकैमा पाटीमा एक्लै झोक्राइरहेका थिए पानबहादुर महर्जन । पाटीमा एउटा समूह तास खेल्दै थियो । उनी घरि तास खेलेतिर ध्यान दिन्थे, कहिले टोलाउँथे । वडा १० का पानबहादुरले १६ वर्षको उमेरदेखि नै मतदान गर्दै आएका छन् । अहिले उनी ८३ वर्षका भए । 'तपाईंको वडामा उठेको उम्मेदवारको नाम थाहा छ ?' हामीले कुराकानी प्रश्नबाट सुरु गर्‍यौं । उनले झट्ट जवाफ दिए, 'खोइ नाम नै याद हुँदैन ।'

'भोट त हाल्नुहुन्छ होला नि ?'

लरबरिएको आवाजमा उनले भने, 'पाँच-पाँच वर्षमा एकपटक भोट हाल्ने हो । जसले राम्रो काम गर्छ जस्तो लाग्छ त्यसलाई भोट दिन्छु । रुखमा हाल्यो भने नेकपा एमाले रिसाउँछ । राम्रो काम गर्नेलाई भोट दिन्छु । आफ्नो मनमा जो छ त्यसलाई भोट हाल्छु नि ।' छेउमै रहेका उनका साथी जोगमान महर्जनले भने वर्षौंदेखि आफूले भोट दिएको उम्मेदवारले जितिसकेपछि चुनावमा गरेको बाचा बिर्सने गरेको बताए । 'कुनैले काम गरिदिन्छन्, कतिले गरिदिँदैनन् । अब कसले जित्छ भन्ने कुरा पनि चुनावअगाडि केही थाहै हुँदैन । अहिले चुनावमा यस्तो गर्छु भन्नेहरुले जितेपछि सबै वाचा बिर्सन्छन्,' खोक्दै बोलेका जोगमानले आफ्नो विचार राखे ।

उम्मेदवार र दलहरुलाई चुनावको चटारो भए पनि कीर्तिपुरवासीलाई खासै चुनावले छोसकेको छैन । उनीहरु हिजोजस्तो देखिन्थे आज उस्तै छन् । उनीहरुका समस्या ज्युँका त्युँ छन् । चुनावले कीर्तिपुरको मुहार भने फेरिदिएको छ । अधिकांश घर पार्टीका झन्डाले रंगिएका छन् । टोलटोलमा उम्मेदवारका तस्वीरसहितका ब्यानर । घरको दैलोमै आइपुग्छन् उम्मेदवार । ‍पार्टीका प्रचार टोली बिहानै टोलवासीलाई चुनावी गीत, नाराले उठाउन आउँछन् । यस्तो चुनाव प्रचारसँग दिक्क सबिता महर्जनलाई पनि उम्मेदवारले देखाउने सपनामा विश्वास छैन । 'यस्तै हो, विकास गर्छु त भन्छन् तर गर्दैनन् । उम्मेदवारहरुलाई चुनावको बेलामा मात्र देख्न पाइन्छ । त्यसैले मलाई त भोट हाल्न मन लाग्दैन,' टोपी सिउँदै गरेकी सबिताले सुनाइन्, 'अब जितेर जाने उम्मेदवारले बाटोघाटो बनाइदिओस् । धारा, पानीको सुविधा बनोस् । यहाँ पानीको समस्या छ । पानी हरेक दिन आइदिओस् ।'

सबिता १२ जनाको परिवारमा बस्छिन् । एक्ला-एक्लै मैदानमा उत्रेका उम्मेदवारबीचको प्रतिस्पर्धा उनीहरुले नियालिरहेका छन् । भोट माग्न आउने सबै उम्मेदवारलाई 'भोट तपाईंलाई नै' भन्दै फर्काइदिन्छिन् । 'भोट त हाल्नैपर्छ । हाल्न गएन भने बोलाउन आउँछन् । तीन जना उम्मेदवारमा कडा प्रतिस्पर्धा छ । महिलाका हिसाबले संगीताले जितोस् भन्ने पनि लाग्छ,' सबिताले भनिन् ।

घुम्दै जाँदा वडा नं १० पुग्यौं । घरका भित्ताहरुमा कोरिएका नेवारी सँस्कृति झल्किने चित्रहरु । पुन: ठडिएका रहेछन् भूकम्पले क्षति पुर्‍याएका घरहरु । कुँदिएका झ्याल, ढोका र प्राचीन दरबारको झल्को दिने इँटाले बनेका घरले कीर्तिपुरको साँस्कृतिक पाटो जोगाइरहेको देखिन्थ्यो । पोखरी अनि ढुंगेधाराका पुन:निर्माणले कीर्तिपुरको सौन्दर्य बढाइदिएको छ । नवनिर्मित पार्टीमा साथिहरुसँग गफिँदै गरेका त:ननिका ६६ वर्षीय कृष्ण श्रेष्ठ भेटिए । जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क उपचार तथा औषधिको व्यवस्था गर्दिनुपर्ने उनको माग छ । 'बिरामी भएको मान्छेलाई नि:शुल्क उपचार गर्नुपर्छ । अनि शिक्षा पनि नि:शुल्क दिनुपर्छ । काम गर्ने अनि जनतालाई सुविधा दिने नेतालाई हामी भोट हाल्छौँ,’ श्रेष्ठले भने ।

कीर्तिपुर वडा नं १० नयाँबजारकी गंगादेवी महर्जनलाई पनि चुनाव लागिसकेको रहेछ । उनी आफ्नी साथीकी छोरीलाई वडा सदस्यमा जिताउन प्रचार–प्रसारमा लागेकी छन् । बाघरभैरव मन्दिर परिसरमा उनी नेकपा माओवादी केन्द्रको झण्डा र पम्पलेटसहित भेटिइन् । उनले कुन पार्टीको जनप्रतिनिधि राम्रो वा नराम्रो भन्दा पनि आफ्नो नजिककोलाई सहयोग गरेको बताइन् ।

कीर्तिपुरका सामाजिक अभियान्ता भरत महर्जनका अनुसार ५ वर्षअघि चुनिएका जनप्रतिनिधिहरुले जनताको ध्यानाकर्षण गर्न र मन जित्न फल्चामा लगानी गरे पनि यसमा जीवन्तता नभरेको गुनासो गर्छन् । उनी भन्छन्, ‘सम्पदामा बढी आकर्षण हुन्छ ।त्यसैले पनि यसमा बढी जोड दिए जनप्रतिनिधिहरुले । फल्चाको प्राण भनेको भजन प्रथा हो । साँस्कृति क्रियाकलाप जस्तै भैरव मास्क प्रदर्शन, समयबजी बाँड्ने, भजन गाउनाले फल्चाले प्राण भर्छ ।भविष्यमा कुनै खास फल्चालाई केन्द्रित गरेर युवाहरुको गुठी निर्माण गर्नुपर्छ । उनीहरुलाई सिकाउनुपर्छ ।’

उनले अलपत्र परेको अवस्थामा रहेको युद्ध स्मारक पार्क पनि पूरा गर्नुपर्ने भन्दै कीर्तिपुर नगरपालिका र त्रिभुवन विश्वविद्यालयको समस्या सल्टाउन पनि अबको चुनिने जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताए । ‘कीर्तिपुर नगरपालिकाभित्र ६५०० रोपनी जग्गामा त्रिवि फैलिएको छ। शैक्षिक केन्द्रको रुपमा कीर्तिपुर चिनिए पनि आफ्नै काखमा भएको त्रिविबाट कीर्तिपुरवासीहरुले शैक्षिक तथा आर्थिक लाभहरु उठाउन भने सकेका छैनन् । त्रिविले गर्दा कीर्तिपुर रिंङरोडसँग नजोडिएको र पिछडिएको जस्तो मनोविज्ञान कीर्तिपुरवासीमा छ । २०१६ सालमा गरिएको ६५०० जग्गा अधिग्रहण गरिएकोमा करिब आधा जग्गाको मुआब्जा स्थानीयले पाएका छैनन् । कतिपय परिवारहरु सुकुमबासी जस्तै बाँचिरहेका छन् । यसको पनि व्यवस्थापन हुनुपर्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २६, २०७९ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?