दिनहुँ झडप, असुरक्षित बन्दै मतदाता

कृष्णप्रसाद गौतम

सुर्खेत — आइतबार दिउँसो चौरजहारी नगरपालिका–१० खोलागाउँमा प्रचारप्रसारको क्रममा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भए । प्रहरीले तुरुन्तै ‘एक्सन’ लियो र थप क्षति हुन पाएन । त्यसैबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री जनार्दन शर्मासहितको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको थियो ।

दिनहुँ झडप, असुरक्षित बन्दै मतदाता

बैठकमा निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्ने र एकअर्काको कार्यक्रमलाई अबरोध नगर्ने सहमति भयो । तर आइतबार साँझ मुसीकोट नगरपालिका–८ घोरखानीमा फेरि झडप भयो ।

दिनहुँको झडपले सुरक्षा निकायका प्रमुखहरु समेत आजित छन् । ‘बैठकमा नेताहरुले शान्तिपूर्वक प्रचारप्रसार गर्ने निर्णय गर्नुहुन्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘तर एउटा पार्टीको कार्यकर्ता देख्नबित्तिकै अर्को पार्टीका कार्यकर्ताले आक्रमण गर्ने प्रवृत्ति छ ।’ जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले घोरखानी घटनाको विवरण आउन समय लागेको बताए ।

शनिबार साँझ पनि चौरजहारी नगरपालिका–६ खागलमा माओवादी कार्यकर्ताहरुले घरदैलो गरिरहेका कांग्रेस कार्यकर्ताहरुमाथि आक्रमण गर्दा १० जना कांग्रेस कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये कांग्रेस कार्यकर्ता लक्ष्मण बोहरा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने शनिबार राति एमालेका नेता चन्द्रबहादुर विकमाथि पनि आक्रमण भएको थियो ।

एक साताको समयमा जिल्लाको आठबीसकोट, बाँफिकोट र त्रिवेणीमा दुई दलका कार्यकर्ताहरुबीचको झडपमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये गम्भीर भएका ११ जनालाई उपचारको लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।

दिनहुँ झडपका घटना हुँदा मतदाताहरु त्रसित भइरहेको नागरिक अगुवा श्याम केसीले बताए । ‘यस्तै अवस्था रहे मतदाताहरुले कसरी ढुक्कले मतदान गर्छन ?,’ उनले भने, ‘किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नहरुलाई पक्राउ गरेको छैन, प्रहरी घटनाअघि मुकदर्शक बन्दा मतदातामा थप त्रास फैलिएको छ, प्रहरीले कम्तिमा हवाइफायर गरेर पनि भीडलाई नियन्त्रण गर्न सक्थ्यो, त्यतिसम्म पनि प्रयास भएन ।’ स्थानीय कविराज खड्काले मतदातालाई सुरक्षित बनाउन दलहरु नै दलहरु नै जिम्मेवार बन्नुपर्ने बताए । ‘माथि ठूला नेताहरुले गठबन्धन गरेका छन्, यहाँ भने दिनहुँ झडप भइरहेको छ,’ उनले भने, ‘दलका कार्यकर्ताहरु आफैं असुरक्षित छन् भने हामीले के सुरक्षाको आस गर्ने ?’ उनका अनुसार गाउँमा कार्यकर्ताहरु एक्लै हिँड्नसक्ने अवस्था छैन ।

केन्द्रमा माओवादी र कांग्रेसले गठबन्धन गरे पनि रुकुम पश्चिममा भने फरक गठबन्धन छ । जिल्लामा कांग्रेस र एमाले तथा माओवादी र समाजवादीले गठबन्धन गरेका छन् । ‘दुवैले एक अर्काको अस्थित्व स्वीकार्न नसक्दा झडप चलिरहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिताअनुसार दुवै दलले प्रचारप्रसार गरे मतदाता पनि ढुक्क रहने अवस्था हुन्छ ।’ यसअघिको स्थानीय तह निर्वाचनमा जिल्लाका ६ वटै स्थानीय तह माओवादी केन्द्र विजयी भएको थियो । ‘माओवादीमा फेरि युद्धकै धङ्धङी कायमै छ,’ कांग्रेस सभापति प्रेमप्रकाश ओलीले भने, ‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि ऊ आत्तिएको छ, माओवादीसँग राजनीतिक संस्कार नै भएन ।’ उनले अर्थमन्त्री जनार्दन शर्माको छायाँमा प्रहरी प्रशासन पर्दा माओवादी कार्यकर्ता अराजक बन्दै गएको आरोप लगाए ।

माओवादी जिल्ला संयोजक सचिन रोकाले जुनसुकै ठाउँमा पनि कांग्रेसले निहुँ खोज्ने काम गरिरहेको बताए । ‘शान्तिपूर्ण वातावरणमा प्रचारप्रसार गर्दा पनि उहाँहरुले जिस्क्याउन खोज्नुभएको छ,’ उनले भने, ‘हाम्रा साथीहरुले क्रियाको प्रतिक्रिया मात्र दिएका छौं ।’ आफूहरुले शान्तिपूर्वक प्रचारप्रसार गरिरहेको र कांग्रेसले त्यसमा भाँजो हालिरहेको आरोप लगाए । झडपका घटनामा संलग्न नहुन कार्यकर्ताहरुलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।

माओवादी र कांग्रेस कार्यकर्ताहरुको झडपका कारण जिल्ला दिनहुँ अशान्त बन्दै गएको एक सुरक्षा अधिकारीले बताए । उनका अनुसार अहिले चौरजहारी, आठबीसकोट र त्रिवेणीमा दिनहुँजसो झडपका घटना भइरहेका छन् । ‘फरक तरिकाको गठबन्धन हुँदा र दुवै दलबीच तीव्र प्रतिस्पर्धा हुँदाको परिणाम पनि हो यो,’ उनले भने, ‘लामो समयको द्वन्द्वको मनोविज्ञान पनि कायम हुँदा यो अवस्था आइरहेको छ ।’

उनका अनुसार जिल्लाका ७६ मतदानस्थलमध्ये १९ मतदानस्थल अति संवेदनशील छन् । विगतका निर्वाचनमा भएको झडप र सञ्चार तथा सडक असुविधाका कारण समस्या देखिएका स्थानलाई अति संवेदनशील मानिए पनि अहिले नयाँ ठाउँमा झडप भइरहेको उनको भनाइ छ । ‘रेफ्रीले त्यसबेला खेल खेलाउन सक्छ, जुन समयमा खेलाडीहरु समझदार र अनुशासित बन्छन्,’ उनले भने, ‘यहाँ त उनीहरुले अर्को दलका कार्यकर्तालाई हिट एण्ड रन गर्ने प्रवृत्ति देखियो ।’ उनले अझै १/२ दिन यस्तै अवस्था रहे मतदाताहरु भोट हाल्न जान पनि डराउनुपर्ने स्थिति आउने बताए ।

दुवै दलको विवाद मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ वटा सर्वदलीय बैठक आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । ‘हामीले एकीकृत सुरक्षा रणनीतिअनुसार जिल्लाभरि पर्याप्त सुरक्षाकर्मी खटाएका छौं,’ उनले भने, ‘आइतबार फेरि कार्यकर्ताहरुलाई संयमित हुन दुवै दलले संयुक्त विज्ञप्ति जारी गर्ने र निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्ने निर्णय भएको छ, अब सोमबारदेखि शान्ति सुरक्षाको अवस्था सुधार हुने आशा गरौं ।’

प्रकाशित : वैशाख २६, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?