जनमुक्ति पार्टीको घोषणापत्र : आवासविहीनका लागि आवासदेखि निःशुल्क एम्बुलेन्स सेवासम्म- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

जनमुक्ति पार्टीको घोषणापत्र : आवासविहीनका लागि आवासदेखि निःशुल्क एम्बुलेन्स सेवासम्म

माधव ढुंगाना

भैरहवा — निर्वाचित जनप्रतिनीधिलाई राज्यको तर्फबाट उपलब्ध हुने पारिश्रमिक र कुनै पनि भत्ता नलिएर गरिब परिवारका बालबालिकाको शिक्षामा खर्च गर्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले सोमबार भैरहवामा आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । 


आउँदो स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा हुने निर्वाचनका लागि उक्त पार्टीले घोषणापत्र जारी गरेको हो । नगरपालिकाको प्रमुख, उपप्रमुखसहित आठवटा वडाध्यक्ष पदमा राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दिएको छ ।

घोषणपत्र सार्वजनिक गर्दै पार्टीका संघीय परिषद् सचिव मोजिव अलीले आफ्नो पार्टीबाट उम्मेदवारी दिएका कुनै पनि उम्मेदवार निर्वाचनमा निर्वाचित भएमा तलब/भत्ता नलिने र गरिब बालबालिकाको शिक्षामा लगानी गर्ने बताए । ‘राज्यको तर्फबाट जनप्रतिनिधिलाई उपलब्ध हुने अन्य सुविधाको हकमा पनि निर्वाचनपछि बस्ने पार्टीको पहिलो बैठकले टुंगो लगाउने छ‚’ अल‍ीले भने ।

पार्टीको ४० बुँदे घोषणापत्रमा आवासविहीन गरिबका लागि निःशुल्क मेयर आवास योजना, आत्मनिर्भर पर्यटन युवा स्वरोजगार, निःशुल्क शौचालय सफाइ, गरिबका लागि कपडा र फुड बैंक स्थापना, वृक्षारोपण हरियाली, शिक्षा, स्वास्थ्य, कृषि, पार्किङ, विभिन्न करमा छुटको व्यवस्था, खानेपानी, निःशुल्क एम्बुलेन्स सेवालगायत विषयलाई समेटिएको छ ।

प्रकाशित : वैशाख २६, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

औद्योगिक लगानीको हब लुम्बिनी

पहिले चामल, गहुँ, तेललगायत खाद्यान्नमा आधारित उद्योगको बाहुल्य थियो, अहिले ठूला र अत्याधुनिक प्रविधिका सिमेन्ट र छड उत्पादनमा यस क्षेत्रमा औद्योगिक क्रान्ति नै आएको छ
माधव ढुंगाना

भैरहवा — लुम्बिनी प्रदेशमा पर्ने भैरहवा क्षेत्रलगायत आसपासका तराईका जिल्ला औद्योगिक लगानीको हबका रूपमा अगाडि बढ्न थालेका छन् । उत्पादनमूलक र सेवामूलक उद्योगको विकासका लागि यस क्षेत्रलाई मुलुककै धेरै सम्भावनायुक्त स्थान मान्न थालिएको छ । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र अनुकूल वातावरण भएकै कारण पछिल्ला वर्षमा यस क्षेत्रमा उद्योग खुल्ने क्रम तीव्र छ । 

आर्थिक भविष्य उज्यालो देखेर नै पर्यटन र वस्तुगत उद्योगका लागि यस क्षेत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गरिरहेको छ । तीन दशकअघिसम्म यस क्षेत्रमा सञ्चालित ठूला उद्योग सीमित भएकाले औ‍ंलामा गन्न सकिन्थ्यो । लगानी करोडौंमा सीमित थियो । अहिले खर्बौंको लगानी पुगेको छ ।

तीन दशकअघिसम्म यस क्षेत्रमा चामल, गहुँ, तेललगायतका खाद्यान्नमा आधारित उद्योगको बाहुल्य थियो । अहिले ठूला र अत्याधुनिक प्रविधिका सिमेन्ट र छड उत्पादनमा यस क्षेत्रमा औद्योगिक क्रान्ति नै आएको छ । दुई दशकको अवधिमा नेपालको कुल सिमेन्ट उत्पादनमा ४० प्रतिशत र छड उत्पादनमा झन्डै ५० प्रतिशत योगदान लुम्बिनी प्रदेशबाट छ । सिमेन्ट र छडबाहेक यस क्षेत्रमा पर्यटकीय होटल, खाद्यान्न, चाउचाउ, औषधि, बिस्कुट, जुत्ता–चप्पल, प्रशोधित पानी, कुखुराको दाना, प्लाइउड, फोम (गद्दा), जुस, कागज, दाल, मैदा, प्लास्टिकजन्य, इँटा, मदिरा तथा बियर, अटोमोबाइल्स, ग्यास, टायल उद्योगको स्थापना बढ्दो छ ।

स्वदेशको आफ्नै चुनढुंगा उत्खनन गरी क्लिंकर उत्पादनसहितको सिमेन्ट उत्पादन गर्ने नेपालका १२ वटामध्ये ६ वटा ठूला सिमेन्ट उद्योग यसै प्रदेशमा छन् । दुई दर्जनको संख्यामा क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योग छन् । यसैगरी नेपालमा सञ्चालनमा रहेका १८ वटा छड उद्योगमध्ये ९ वटा यसै प्रदेशमा छन् । सिमेन्ट र छड उत्पादनमा २ सय अर्ब रुपैयाँभन्दा धेरै लगानी यस क्षेत्रमा रहेको व्यवसायीको भनाइ छ । यस प्रदेशमा रहेका पहाडी जिल्लामा जडीबुटीमा आधारित उद्योग सञ्चानका लागि उत्तिकै अनुकूल सम्भावना छ ।

भैरहवा–लुम्बिनी सडक खण्ड, भैरहवा–भुमई हुलाकी सडक, भैरहवा–बुटवल सडक खण्डमा जताततै औद्योगिक विस्तारसँगै सहरीकरण तीव्र छ । भैरहवा क्षेत्रमा उद्योगका लागि आवश्यक जमिनको अभाव र मूल्य महँगो पर्न थालेपछि छिमेकी जिल्ला कपिलवस्तु र नवलपरासीतर्फ पनि औद्योगिकीकरण विस्तार हुँदै जान थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनी यसै प्रदेशमा रहनु र यस क्षेत्र भौगोलिक रूपमा भारतको प्रमुख औद्योगिक क्षेत्रहरूबाट पायक पर्ने मध्य भागमा अवस्थित रहनु नै यस क्षेत्रको औद्योगिक विकास र औद्योगिक लगानीको हब बन्नुको मुख्य आधार हो । यो प्रदेश मुलुकभित्रै पनि मध्यभागमा रहनु, मिश्रित समाज भएकाले आपसी सद्भाव कायम रहनु, धमाधम भौतिक पूर्वाधार निर्माण हुँदै जानु र छिमेकी मुलुकसमेत विकसित हुनुले यस क्षेत्रमा औद्योगिक लगानीको वातावरण अन्य क्षेत्रमा धन्दा धेरै हुनुको मुख्य कारण हो ।

उद्योग सञ्चालनका लागि आवश्यक औद्योगिक क्षेत्र, विद्युत्, आईसीपी (एकीकृत चेक पोस्ट), रेलवे सम्पर्कजस्ता पूर्वाधार भैरहवा र आसपासका क्षेत्रमा नहुँदानहुँदै पनि भौगोलिक रूपमा पायक पर्ने नाका र औद्योगिक कच्चा पदार्थ उत्पादन गर्ने भारतका औद्योगिक सहरबाट नाकासम्म ढुवानीका लागि सडक राम्रो भएकाले औद्योगिक लगानीको वातावरण बनेको प्रसिद्ध औद्योगिक समूह सिद्धार्थ ग्रुपका प्रबन्धनिर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल बताउँछन् । ‘विद्युत्, औद्योगिक क्षेत्र, आईसीपी, रेलवे कनेक्टिभिटी जस्ता पूर्वाधार यस क्षेत्रमा उपलब्ध भइदिए लुम्बिनी क्षेत्र मुलुककै एक नम्बरको औद्योगिक क्षेत्र हुने थियो,’ उनले भने, ‘कच्चा र तयारी माल धेरै उत्पादन गर्ने भारतको गुजरात, राजस्थान, हरियाणा, पन्जाबजस्ता औद्योगिक सहरबाट ढुवानीका लागि छोटो र पायक पर्ने ठाउँ वा नाका सुनौली/भैरहवा नै हो ।’

अढाइ दशकअघिसम्म भारतको बिहार प्रदेश कानुनी र सुरक्षाका दृष्टिले उत्तर प्रदेशको तुलनामा उति राम्रो मानिँदैनथ्यो । जति बेला भारतको गुजरात र राजस्थान मात्र सिमेन्टको कच्चा पदार्थ क्लिंकर उत्पादन हुने र त्यहाँबाट ढुवानी गरी नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना क्रमको तीव्र विकास भएको थियो । त्यही आधारमा लुम्बिनी क्षेत्रमा सिमेन्ट उद्योगको बाहुल्य र धेरै लगानी भएको हो । यही अवस्था छड उद्योग र अन्य औद्योगिक कच्चा पदार्थ आयात गरी उत्पादन गर्ने उद्योगहरूको पनि हो ।

छड उत्पादनका लागि पनि आवश्यक फलामे ब्लेडको आयात भारतको दुर्गापुर, बंगाल, राहुलकेला, छत्तीसगढबाट नेपालमा आयात हुने गर्छ र ती ठाउँबाट आयात गर्न सुनौली/भैरहवा नाका नै सहज र छोटो दूरीमा छ । सरकारी तथ्यांकअनुसार गत वर्ष भारतबाट ६५ लाख क्विन्टल धान, ६३ लाख क्विन्टल चामल, ५८ लाख क्विन्टल मकै र ३९ लाख क्विन्टल गहुँ आयात भएको थियो । खाद्यान्न बढी उत्पादन गर्ने भारतको पन्जाब, हरियाणा, राजस्थान, उत्तरप्रदेशबाट पनि लुम्बिनी प्रदेशका नाका पायक पर्ने भएकाले खाद्यान्नमा आधरित ठूला उद्योग यस प्रदेशमा सञ्चालन भएका हुन् । भैरहवा क्षेत्रमा मात्रै १६ वटा ठूला र अत्याधुनिक मैदा उद्योग सञ्चालनमा छन् ।

लुम्बिनीका कारण भौतिक पूर्वाधार तयार पार्न राज्यले चासो देखाएकाले यस क्षेत्रको महत्त्व बढ्दै गएको भए पनि खासगरी मधेस आन्दोलन र नाकाबन्दीका बेला यो नाका सर्वाधिक सुरक्षित रहेकाले औद्योगिक लगानीका लागि यो क्षेत्र सबैको रोजाइमा पर्न थाल्नुको मुख्य कारण भएको सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् । ‘नाकाबन्दी र मधेस आन्दोलनले एक दिन पनि भैरहवा भन्सार नाका अवरुद्ध नभएकाले यो नाका सबैभन्दा सुरक्षित रहेको सन्देश मुलुकभरि फैलियो,’ उनले भने, ‘लुम्बिनी क्षेत्रमा शान्ति सुरक्षा र सामाजिक सौहार्दपूर्ण वातावरण कायम छ ।’

बुटवल–लुम्बिनी १ सय ३२ केभी प्रसारण आयोजना र आयोजनाअन्तर्गत भैरहवाको मनैयामा निर्माणाधीन विद्युत् सबस्टेसन सञ्चालनमा आएपछि भैरहवा र आसपासको क्षेत्र औद्योगिक हबका रूपमा स्थापित हुनेछ । लुम्बिनीका कारण १५ किमि हवाई दूरीभित्र उद्योग स्थापना गर्न नपाइने र तीव्र गतिमा बढ्दो सहरीकरणका कारण भैरहवा आसपासमा उद्योगका लागि आवश्यक जग्गाको अभाव हुन थालेको छ । यसका कारण पछिल्लो समयमा भैरहवा–परासी हुलाकी सडक खण्डअन्तर्गतको नवलपरासी र कपिलवस्तु क्षेत्रमा उद्योग विस्तार हुने क्रममा छ ।

लुम्बिनी क्षेत्रबाट औद्योगिकीकरण र पर्यटनका माध्यमबाट ठूलो फाइदा लिन सरकारले भैरहवासम्म १ सय ३२ केभीएको विद्युत् प्रसारणको व्यवस्था, भैरहवामा निर्माण गर्ने भनिएको एकीकृत चेक पोस्ट (आईसीपी) को शीघ्र सञ्चालन, औद्योगिक क्षेत्रको स्थापना र भारतको नौतनवासम्म रहेको रेलमार्गलाई आईसीपी र सेजसम्म जोड्ने कार्यलाई प्राथमिकतामा राख्न पनि जरुरी छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ६ लेनको बेलहिया–बुटवल व्यापारिक मार्ग, विशेष आर्थिक क्षेत्र (सेज), मोतीपुरमा प्रस्तावित ठूलो औद्योगिक क्षेत्र, धकधही क्षेत्रमा निर्माण हुने तयारीमा रहेको औद्योगिक करिडोर, चार लेनमा निर्माण भएको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तु सडक, भैरहवाको बेथरीदेखि अमुवा हुँदै बुटवल पूर्व–पश्चिम राजमार्गमा जोडिने चार लेनको सडक, देवदह–मणिग्राम–मानपकडी–सूर्यपुरा हुँदै लुम्बिनी जोड्ने बुद्ध सर्किट सडक, भैरहवा नजिकैको सञ्चालनमा आउन लागेको १ सय ३२ केभीए विद्युत् प्रसारण आयोजनालगायत पूर्वाधारले लुम्बिनीलाई औद्योगिक लगानीको हब बनाएका हुन् ।

प्रकाशित : वैशाख २५, २०७९ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×