१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रमुख नेताकै जिल्लामा गठबन्धन गडबड

मित्रवत् प्रतिस्पर्धा गर्ने भनिए पनि रूकुम पश्चिममा कांग्रेस र माओवादीबीच कुटाकुट, झापा, रूकुम पश्चिम र रोल्पामा कांग्रेस–एमाले तालमेल
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसभित्र सत्ता गठबन्धन दलबीच चुनावी समीकरणको मत निर्माणमा अगुवाइ गर्ने नेता हुन्, रामचन्द्र पौडेल । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनपछि चुनावी तालमेल नगर्ने भनिरहेका बेला पौडेलकै बलमा कांग्रेस सत्ता साझेदार दलसँग मिलेर चुनावमा जान तयार भएको थियो । सिंगो पार्टीलाई गठबन्धनमा होम्ने पौडेलकै जिल्ला तनहुँमा भने सत्तारूढ दलबीच तालमेल हुन सकेन ।

प्रमुख नेताकै जिल्लामा गठबन्धन गडबड

उनको गृहनगर व्यास नगरपालिकासहित ६ स्थानीय तहमा सत्तारूढ दल छुट्टाछुट्टै चुनाव लडिरहेका छन् । चारवटा स्थानीय तहमा मात्र आंशिक गठबन्धन भएको छ ।

चुनावी गठबन्धन निर्माणका लागि रातदिन खटेका प्रमुख दलका अन्य नेताका गृहजिल्लामा पनि गठबन्धन अस्तव्यस्त छ । ‘मित्रवत्’ रूपमा अलग–अलग चुनावी प्रतिस्पर्धा गर्ने भनिएका जिल्लामा सत्ता साझेदार दलका कार्यकर्ताबीच हिंसात्मक झडपसमेत भएका छन् । यसले नेताहरूलाई आफ्नै जिल्लामा अप्ठेरो बनाइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुराका ७ वटै स्थानीय तहमा गठबन्धन हुन सकेको छैन । जिल्लाको सबैभन्दा ठूलो पर्शुराम नगरपालिकामा माओवादीले नेतृत्व दाबी गरेपछि जिल्लाभर तालमेल हुन नसकेको कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउदले बताए । २०७४ को निर्वाचनमा साउदले ५ सय २६ मतान्तरले माओवादीका शेरसिंह माल (डायमन्ड) लाई मेयरमा पराजित गरेका थिए । ‘हामीले जति प्रयास गर्दा पनि भागबन्डामा कुरा मिल्न सकेन, त्यसपछि मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुग्यौं,’ साउदले भने ।

डडेलधुरामा सत्तारूढ दल अलग–अलग प्रतिस्पर्धा गरिरहेका बेला कांग्रेसबाट बाहिरिएको पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल समूह र एमालेबीच तालमेल भएको छ । मल्ल समूह कांग्रेस (बीपी) मा सामेल भएर करुवा चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिएको छ । डडेलधुराको समस्याबारे देउवा जानकार नभएका होइनन्, तर उनको ध्यान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्री रेनुलाई जिताउन बढी केन्द्रित छ । ‘हामीले बालुवाटारमै पुगेर जिल्लामा ध्यान दिनुपर्‍यो, अहिले चुनाव हारियो भने भोलि संसदीय निर्वाचनमा पनि असर पर्छ भनेर सम्झाएका थियौं,’ डडेलधुरा कांग्रेसका एक नेताले भने, ‘तर उहाँले जिल्लाको समस्या आफैं मिलाऊ, यता आएर समस्या समाधान हुँदैन भनेर हकार्नुभयो ।’ कांग्रेसले तय गरेको चुनावी सभाको कार्यतालिकामा डडेलधुरा समावेश गरिएको छैन । देउवापत्नी आरजु राणा डडेलधुरा पुगेर ‘कांग्रेसले नजितेका पालिकामा बजेट नपठाइने’ विवादास्पद अभिव्यक्ति दिएर फर्केकी छन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको जिल्ला रौतहटका १८ वटा पालिकामै सत्ता गठबन्धनबीच तालमेल भएन । भागबन्डा नमिलेपछि उनीहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । गठबन्धनका लागि मनोनयन गर्ने बेलासम्म प्रयास भए पनि सहमति हुन सकेन ।

कांग्रेसमा पौडेलजस्तै चुनावी गठबन्धनको पक्ष वातावरण निर्माण गर्ने अर्का नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापा र निर्वाचन क्षेत्रमा गठबन्धन अपूरो छ । सिटौलाको निर्वाचन क्षेत्र झापा–३ का भद्रपुर नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र कांग्रेस र माओवादीबीच तालमेल भएको छ । हल्दिबारी गाउँपालिकामा एक्लाएक्लै लडेका छन् भने कचनकवल गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको छ । त्यहाँ कांग्रेसबाट अध्यक्ष र एमालेबाट उपाध्यक्ष उम्मेदवार छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र पर्ने मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा भने कांग्रेस र माओवादीबीच तालमेल छ । झापामा माओवादी केन्द्रले आफ्नो हैसियतभन्दा बढी भाग मागेको कारण गठबन्धन सफल हुन नसकेको कांग्रेसको भनाइ छ । २०७४ को निर्वाचनमा झापाका १ सय ३१ वडामध्ये ६ वडामा मात्र माओवादीले जितेको थियो । कुनै पनि पालिकामा प्रमुख–उपप्रमुख जित्न नसकेको माओवादी केन्द्रले यस पटक कांग्रेससँगको गठबन्धनमा ९ पालिका उपप्रमुख र ३० वडाध्यक्ष पाएको छ । झापाका जिल्ला सभापति देउमान थेबेले स्थानीय परिस्थिति हेरेर एमाले र राप्रपासँग पनि गठबन्धन भएको बताए । उनका अनुसार दमक नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच गटबन्धन भएको छ । ‘गठबन्धन हुन नसकेको स्थानीय तहमा पनि सहमतिमै गठबन्धन दलबीच स्वस्थ प्रतिस्पर्धा गर्ने कुरा भएको छ,’ उनले भने ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि गठबन्धन अधूरो छ । त्यहाँका ९ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेसी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा मात्र कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएको छ । एकीकृत समाजवादी जिल्लाभर एक्लै प्रतिस्पर्धामा छ । २०७४ को स्थानीय तहमा कांग्रेसले ६ र एमालेले ३ पालिका प्रमुख जितेका थिए । गठबन्धन भएका पालिकामध्ये चौकुनेमा माओवादी केन्द्रले प्रमुख र अन्य चारवटामा उपप्रमुख पाएको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहजिल्ला गोरखाका ११ स्थानीय तहमध्ये गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा मात्र माओवादी केन्द्र र जसपाबीच तालमेल भएको छ । कांग्रेस भने यीसहित सबै पालिकामा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । भट्टराईको गृहपालिका पालुङटार नगरपालिकामा कांग्रेस र जसपाबीच तालमेलको प्रयास भए पनि सम्भव भएन । भट्टराईले काठमाडौंमा कांग्रेस सभापति देउवासँग सहमति गरी वैशाख १६ मा पालुङटारका कांग्रेसका मेयर उम्मेदवारको उम्मेदवारी फिर्ता लिन लगाएका थिए । तर फिर्ताको पत्र ढिलो पुग्दा उनको उम्मेदवारी कायम भयो । त्यसपछि पनि देउवाले पालुङटारमा जसपाका मेयर उम्मेदवारलाई सघाउन निर्देशन दिएका थिए । तर गोरखा नगरपालिकामा कांग्रेसलाई सघाउन गरिएको प्रस्ताव जसपाले नमानेपछि जिल्ला तहमा केन्द्रको सहमति पालना हुन नसकेको कांग्रेसका एक जिल्लास्तरीय नेताले बताए ।

माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्माको गृहजिल्ला रुकुमपश्चिम र वर्षमात्र पुनको गृहजिल्ला रोल्पामा पनि गठबन्धन दलबीच तालमेल भएको छैन । रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस र एमालबीच तालमेल भएको छ । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भए पनि अन्य ५ पालिकामा माओवादी केन्द्र एक्लै चुनावी प्रतिस्पर्धामा छ । रुकुम पश्चिममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप पनि भइरहेको छ । पाँच दलीय गठबन्धनले केन्द्रबाट तालमेल हुन नसकेको खण्डमा मित्रवत् प्रतिस्पर्धा गर्ने, तर सत्ता साझेदारबाहेक अन्य दलसँग गठबन्धन नगर्ने निर्देशन दिए पनि रुकुम पश्चिममा दुइटै निर्देशन कार्यान्वयन हुन नसकेको हो । शुक्रबार राति चौरजहारी र आठबीसकोट नगरपालिकामा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई प्रहरीसहित १० जना घाइते भएका छन् । गत निर्वाचनमा ६ वटै स्थानीय तह माओवादी केन्द्रले जितेको थियो । त्यसैले माओवादी केन्द्र आफ्नो पकड कायमै राख्न चाहन्छ भने कांग्रेसले माओवादी केन्द्रलाई कमजोर पार्न एमालेको सहारा लिएको छ । पुनको गृहजिल्ला रोल्पाका १० वटा स्थानीय तहमै सत्ता गठबन्धन दलबीच तालमेल हुन सकेको छैन । त्रिवेणी गाउँपालिका, माढी गाउँपालिका, थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिकामा माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र नेत्रविक्रम चन्द समूहको गठबन्धन बनेको छ ।

गठबन्धन निर्माणमा सक्रिय रहेका प्रमुख नेताहरूले आफ्नो जिल्लाको समस्यामा ध्यान दिन नसक्दा गठबन्धन संकटमा परेको हो । निर्वाचन नजिकिँदै जाँदा प्रमुख नेताहरू जिल्लातिर जान थालेका छन् । कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार सभापति देउवासहित तनहुँ पुगेर फर्केका छन् । पौडेलको गृहनगर व्यास नगरपालिकामा कांग्रेसबाट निष्कासित भएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले एमालेसँग गठबन्धन गरेर छोरा दीपकराजलाई मेयर उठाएका छन् । उपसभापति खड्का आइतबार सुर्खेत गएर पालिकास्तरीय चुनावी आमसभामा सहभागी भएका छन् । सभापति देउवा सोमबार गृहजिल्ला डडेलधुरा पुग्ने कार्यक्रम रहेको पार्टीका डडेलधुरा जिल्ला सचिव शेरबहादुर भण्डारीले बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालको गृहजिल्ला चितवनमा भने वडास्तरमै सबै पालिकामा समीकरण भएको छ । दाहालकी छोरी भरतपुर महानगरपालिकामा पुनः नगर प्रमुख उठेकी छन् । उनको जितलाई सहज बनाउन सत्ता गठबन्धन दलले सबै पालिकामा वडास्तरमै गठबन्धन गरेको हो । माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र (आरसी) अधिकारीले केन्द्रमा बनेको पाँच दलीय गठबन्धनको भावनाअनुसार वडास्तरबाटै गठबन्धन मजबुत भएको बताए ।

प्रकाशित : वैशाख २६, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?