१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्वाचन नजिकिँदा पर्सामा अपराध र उजुरी घट्दै

शंकर आचार्य

पर्सा — प्राय भीडभाड भइरहने जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरुमा पहिले जस्तो भीडभाड र चहलपहल छैन । व्यक्तिगत तथा सामूहिक रुपमा उजुरी लिएर आउनेहरुको संख्या पनि घटेको छ ।

निर्वाचन नजिकिँदा पर्सामा अपराध र उजुरी घट्दै

अपराधको दर कम भएको छ भने अपराध गरेर हिरासतमा पर्नेहरुको संख्या पनि घट्दो मात्रामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार स्थानीय तहको चुनाव नजिकिँदै गर्दा अपराध र अपराधीसँग जोडिएका अनौठो खाले प्रवृत्ति देखिएको छ ।

‘हाम्रो बिगतको पनि अनुभवले यस्तै देखाउँछ, देशमा जब जब निर्वाचनको माहोल बन्दै र निर्वाचन नजिकिँदै जान्छ, साबिकको भन्दा अपराध घट्ने र उजुरबाजुर गर्ने प्रवृत्ति पनि घटेर जान्छ,’ डीएसपी खनालले भने, ‘यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको हुनु पर्छ । जिल्ला प्रहरी र मातहतका इकाइहरुमा भीडभाड घट्दो क्रममा छ ।’

पछिल्ला दिनहरुमा जग्गा जमिन, साँध सिमाना, रिसइबी राखेर कुटपिट गरेको, घर निर्माण गर्दाको विवाद भएर पर्ने उजुरीको संख्या करिब ७५ प्रतिशतले घटेको उनले बताए ।

यस बाहेक ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध, बैंकिङ कसुरका अपराध जस्ता दैनिकजसो भइरहने अपराधको संख्या पनि घटेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय र यसको मातहतका जिल्लाभरका इकाइहरुमा रहेका हिरासतमा नयाँ थुनुवा थपिने क्रम पनि घटेको उनले बताए ।

‘सामान्यत: जिल्ला प्रहरी कार्यालय र यस मातहतका इकाइहरुको हिरासतमा दैनिक १ सय ५० जनासम्म थुनुवा हुने गरेकोमा हाल भने यो संख्या घटेर १ सयको हाराहारीमा झरेको छ,’ उनले भने, ‘उजुरबाजुर र सबैखाले अपराधको दर घटेपछि स्वभाविक रुपमा थुनुवाको संख्या पनि कम हुने हो ।’

गाउँघरमा निर्वाचन नजिकिएसँगै धेरै सर्वसाधारणहरु विभिन्न उम्मेदवारको पक्षमा लागेर प्रचार प्रसारमा संलग्न भएको तथा उनीहरुलाई उजुरबाजुर गर्न सहजिकरण गरी दिने व्यक्तिहरु पनि चुनावमै व्यस्त भएको हुनाले उजुरबाजुर गर्न आउने प्रवृत्ति घटेको हुनसक्ने उनको आकलन छ। ‘केहीले आफ्ना व्यक्तिगत समस्याहरुको सम्बन्धमा निर्वाचनपछि उजुरबाजुर गर्ने सोच बनाएको हुनसक्छ,’ खनालले भने, ‘निर्वाचनपछि ह्वात्तै उजुरबाजुरको क्रम बढन सक्छ ।’

प्रकाशित : वैशाख २५, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?