१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तामाङ बस्ती भोट बैंक मात्रै

प्रशान्त माली

ललितपुर — न ढलको व्यवस्था छ, न त सडक बत्ती नै । दक्षिणकाली जाने मल्लकालीन बाटोको भीर उस्तै । कलिलै उमेरदेखि यस्तै अप्ठ्यारो बाटो भएर हरेक दिन घण्टौं हिँडेर खानेपानी ओर्सार्दै आएकी छन् ललितपुर महानगरपालिका–२२ फर्सिडोलकी ७२ वर्षीया ठूली तामाङ ।

तामाङ बस्ती भोट बैंक मात्रै

ललितपुर महानगरको अधिकांश भाग सहरीकरणतर्फ लम्कँदै गर्दा फर्सिडोलको तामाङ बस्ती अझै पनि विकट छ । २०३३ देखि चुनावमा भाग लिँदै आएको बताउने तामाङले हरेक पटक खानेपानी समस्या समाधान हुने आसमा मतदान गरिन् । जितेर गएकामध्ये कतिपय मन्त्री बने । महानगरमा गाभिएपछि २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसबाट प्रमुख/उपप्रमुख, माओवादी केन्द्रबाट वडाध्यक्ष भए । तर, समस्या भने ज्युँका त्युँ छ । उनी गुनासो गर्छिन्, ‘डाँडाबाट रसाएर आएको पानी जम्मा पारेर खाइरहेको छु । चुनावभरि यो गर्छौं, त्यो ल्याइदिन्छौं भन्छन्, जितेर गएपछि फर्केर आउँदैनन् ।’

...

फर्सिडोलकी ५९ वर्षीया देवी वाइबाको घर डाँडाको बीचमा पर्छ । भूकम्पले नजिकैको मुहानको पानीमा लेउ जम्ने समस्या भयो । अहिले घण्टौं हिँडेर खानेपानी संस्थानले बोरिङ गरेको ठाउँबाट पानी ल्याउनुपर्ने बाध्यता छ । उनले पनि खानेपानीकोआशामा धेरै नेतालाई भोट दिइन् । तर, अहिलेसम्म पूरा नभएको गुनासो गर्छिन् । ‘चुनावको समयमा भोजभतेर गरेर आश्वासन बाँड्छन्, हामी भोट हाल्छौं । चुनाव जितेपछि बेवास्ता गर्छन्,’ उनले भनिन् । गएको चुनावमा आफूलाई मनपर्ने पार्टीलाई भोट हाले पनि यसपटक विकासप्रेमीलाई चुन्ने उनले बताइन् ।

...

फर्सिडोलकै ५८ वर्षीय देवराज लामाको समस्या पनि उस्तै छ । पानीकै लागि आधा राति नै उठेर मुहानमा जानुपर्ने उनी बताउँछन् । नेताहरूले धेरै झुक्याएको भन्दै उनले पनि यसपटक हाम्रोभन्दा पनि राम्रो लाई जिताउने योजना रहेको बताए ।

...

प्रायःले ललितपुर महानगर भन्नेबित्तिकै लगनखेल, जावलाखेल, पुल्चोक, कुपन्डोल र पाटन दरबार क्षेत्र सम्झने गर्छन् । तर, बुङ्मती बस्तीबाट दक्षिण भेगमा पर्ने फर्सिडोल महानगरअन्तर्गत परे पनि विकासमा कसैको ध्यान जान सकेको छैन । २०७३ मा सुनाकोठी, हरिसिद्धि, धापाखेल, बुङ्मती र खोकना गाभेर महानगर बनाइएको थियो ।

महानगरको एक मात्र तामाङ बस्तीका ८० घरधुरीका बासिन्दाले दशकौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अन्य ठाउँमा जस्तै यहाँ पनि चुनाव रौनक छाएको छ । भूकम्पले लडेका घरमा जस्ताले छाएको स–साना झुपडीमा छन् । बस्तीमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र अन्य दलका झन्डा टाँगिएको देखिन्छ । पार्टीका आ–आफ्ना सम्पर्क कार्यालय छन् ।

प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणा/प्रतिबद्धतापत्रमा खानेपानी समस्या समाधान गर्ने उल्लेख गरे पनि पिछडिएको विपन्न बस्ती लक्षित ठोस योजना न गठबन्धनले अघि सारेको छ न त एमाले र अन्य पार्टीले नै । कांग्रेसबाट महानगर प्रमुखका प्रत्याशी चिरीबाबु महर्जनको प्रतिबद्धतापत्रमा मकवानपुरको सिस्नेरी खोलाको पानी महानगर ल्याउने योजना छ । यसबाहेक प्र्रत्येक वडामा चिकित्सकसहितको क्लिनिक सञ्चालन, प्लास्टिकको झोलामुक्त सहर, कोर क्षेत्रमा विद्युतीय गाडी सञ्चालन, लगनखेलदेखि शंखमूलसम्म ढल बिछ्याउने, सिटी हल, आधुनिक पार्किङजस्ता योजना ल्याए पनि विपन्न वर्गलाई भने समेट्न सकेको देखिँदैन ।

‘मेलम्ची खानेपानी नपुगेको स्थानमा डिप ट्युवेल खनेर भए पनि पानी खुवाउँछु । महानगरको २९ वटै वडाका सडक डेढ इन्च मोटो कालोपत्र गर्नेछु,’ महर्जनले भने । उनले चक्रपथबाहिरका साबिकका गाविसमा सडकबत्ती राख्न ठेकेदारले सर्भे गरिरहेको बताए । ‘चक्रपथबाहिरका बस्तीको विकासका लागि अन्य वडाको तुलनामा थप बजेट पनि विनियोजन गरेको छु,’ उनले भने । एमालेको घोषणापत्रमा पनि सहरी गरिबलाई विद्युत् र खानेपानीको पहुँच सुनिश्चित गरिने भनिएको छ । बेरुजु फर्छ्यौट, भष्टाचार शून्यमा झार्ने, विद्युतीय सूचना प्रणाली अवलम्बन, उपभोक्ता हित संरक्षण, कालाबजारी, नाफाखोर प्रवृत्तिलाई निरुत्साहित, भाषा, कला, संस्कृति विकास, हरियाली प्रवर्द्धनजस्ता महत्त्वाकांक्षी योजना छन् ।

एमालेबाट महानगर प्रमुखका प्रत्याशी हरिकृष्ण व्यञ्जनकारले चक्रपथबाहिरका बस्तीमा आधुनिक कृषि प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने बताए । ‘कृषकलाई अनुदानका सामग्री वितरण गरी घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गर्छु,’ उनले भने । राप्रपाले भने कृषि र पशुसम्बन्धी योजना प्राथमिकतामा राखेको छ । कृषि उद्योगमा रोजगारी प्रवर्द्धन, चिस्यान केन्द्र, एक वडा एक उत्पादन, सुपथ मूल्यमा कृषि मल र औजार अनुदान वितरणजस्ता योजना छन् । विवेकशील साझाले भ्रष्टाचार नियन्त्रण, सुशासन, विद्युतीय यातायात, कला संस्कृति जर्गेना, खुला क्षेत्रको संरक्षण लगायत योजना ल्याएको छ ।

राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले आफूले जितेमा घरेलु उद्योग स्थापना गर्नेलाई १० वर्षसम्म कर छुट दिने बताए । उनले तामाङ बस्तीको खानेपानी समस्या समाधान गर्न दक्षिणकाली शेषनारायणबाट पानी ल्याउने बताए । विवेकशील साझाका उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले सम्बन्धित ठाउँको समस्याबारे अध्ययन गरेर समाधान गरिने जनाए । तर, ‘चोहो’ गुठी अध्यक्ष चन्द्रबहादुर तामाङ चुनावका बेला बाँडेको आश्वासनलाई भोटको राजनीतिको संज्ञा दिन्छन् । ‘हरेक चुनावमा राजनीतिक दलका नेता–कार्यकर्ताले खानेपानी समस्या समाधान र सडकलगायत पूर्वाधार विकास गर्ने भन्दै भोट माग्छन् । जितेपछि नाकमुख नै देख्न नपाउने भएपछि नेताप्रति विश्वास लाग्न छोड्यो,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?