चुनावबीच मतदातामा छैन उत्साह‚ विपन्नलाई छाक टार्नै पिरलो

अनिश तिवारी

सिन्धुपाल्चोक — आर्थिक अभावका कारण महँगो उपचार गर्न नसक्दा बाह्रबिसे-९ राम्चेका सुकुमान तामाङले तीन वर्षअघि तीन वर्षका छोरा वनकाइलालाई गुमाए । श्रीमती बोल्न शारीरिक रुपमा अशक्त छिन् । दुई छोरा र एक छोरी हुर्काउने जिम्मेवारी उनैमाथि थोपरिएको छ । पुर्ख्यौली गरिबीले सुकुमानले पढलेख गर्न सकेनन् । जीविकोपार्जनका लागि भारी बोक्न थाले । ६८ वर्षको उमेरमा पनि उनी जीवनयापन निर्वाह गर्नका लागि भारी बोक्न विवश छन् ।

चुनावबीच मतदातामा छैन उत्साह‚ विपन्नलाई छाक टार्नै पिरलो

चुनावी अभियानमा होमिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता आफ्ना उम्मेदवारसहित चर्को स्वरमा नारा लगाउँदै चुनावी प्रचारमा हिँडिरहँदा उनमा भने कुनै उत्साह छैन । ‘हाम्रो पार्टीले विपन्नलाई सक्षम बनाउनेछ; यो मजदुरको पार्टी हो; कृषकका लागि खट्नेछ,’ यस्ता अनेकौं नारा सुनेपछि तामाङ झनै निराश देखिए ।

‘यी सबै झूट बोल्दैछन्, अघिल्लो चुनावमा यही भन्थे; अहिले पनि यही भन्छन् । के हाम्रो अवस्था केही बदलिएको देख्नहुन्छ ?,’ मजदुरी गर्दागर्दै फाटेको कपडा र नाम्लो देखाउँदै तामाङले प्रश्न गरे ।

बुढ्यौली शरीरमा उनिएका मैला‚ धुजाधुजा परेका कपडा लगाएका बाह्रबिसे नगर बजार टोलका ८५ वर्षे तुलसी श्रेष्ठ हिँड्दै चुनावी कार्यक्रमछेउ काम्दै आइपुगे । कोही आफन्त नभएका उनलाई तीन वर्षयता शरीरको दाहिनेपट्टीको भाग नचल्ने भएपछि मागेरै खान पनि कष्टदायी हुने गरेको उनी सुनाउँछन् । भूकम्प र पराकम्पनले पुर्ख्यौली घरजग्गा भास्सियो । बजारछेउको जग्गालाई भोटेकोसीले बगायो । त्यसपछि अन्यत्र जग्गा नभएकाले उनले अन्यत्र घर बनाउन सकेनन् । नौ वर्षअघि श्रीमती हेलमाया पनि बितिन्; त्यसपछि वृद्ध तुलसीको दुःखको अध्याय सुरु भयो । थोत्रो टहराबाट चुहिएर आएको पानीले कुहिन लागेका काठको फलेकमाथि पुराना तन्नाको ओछ्यानमा तुलसी आफ्नो बुढ्यौलीका दिन गनिरहेका छन् ।

बाख्राको बड्क्यौलाले दुर्गन्धित बनेको उनको टहराभित्रको अवस्थाले उनको दुःखलाई देखाउँछ । ‘खै ! यी सब नाटकी रैछ नाटकी; एक बोरा चामल र ब्ल्यांकेट दिएर सबै नेतासेता बेपत्ता भए । यहाँ छाक टार्नै मुस्किल भइरहेछ,’ उनले दुखेसो गरे । मजदुर जुंगे र अशक्त तुलसीजस्ता पात्र बाह्रबिसे नगरमा मात्रै दुई दर्जनभन्दा बढी छन् भने जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान तथा पूर्वाधार )का अनुसार जिल्लाभर रहेका अशक्त वर्गका पीडितको संख्या १ हजार २ सय ८१ रहेको छ । जसमा मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै ४ सय ७ जना अशक्त पीडित छन् । मजदुर र अशक्तको अवस्थालाई देखेर अघिल्लो निर्वाचनमा मुख्य दलले विपन्नलाई आत्मनिर्भर बनाएर समृद्ध र अशक्त वृद्धवृद्धाको संरक्षणजस्ता अनेक एजेन्डा लिएका थिए । यस पटक पनि केहीबाहेक अधिकांशले पुरानै एजेन्डा दोहोर्‍याएको देखिन्छ । तर यिनीको अवस्था भने उही पुरानै छ ।

मतदातामा छैन उत्साह
अघिल्लो स्थानीय तह २०७४ मा झैं जिल्लाको तीन नगरदेखि नौ गाउँपालिकाभर दल र स्वतन्त्र उम्मेदवार आफ्नो समृद्ध एजेन्डा र कार्यक्रम बोकेर मत माग्दै घरदैलो अभियानमा लागिरहेका छन् । चार दलले आचरसंहिताविपरीत जिल्लाको बाह्रबिसे, मेलम्ची र चौतारा साँगाचोकगढी नगरको मुख्य गाउँदेखि बजाभर झन्डा, तोरणले सजाएका छन् ।

चर्को आवाजमा दललाई देवत्वकरण गरिने खालका गीत बजाउँदै नेता/कार्यकर्ताहरू सवारीसाधन कुदाइरहेका छन् । तर‚ पहिलेजस्तो उत्साह भने मतदाताबीच एकरत्ति पनि छैन । अघिल्लो निर्वाचनमा को, कस्तो उम्मेदवार ? कसले जित्ने ? कसरी ? जस्ता बहस चिया पसलदेखि बस्तीबजारसम्म चल्ने गर्थ्यो । अहिले कसैलाई केही वास्तै छैन ।

‘अघिल्लो निर्वाचनयता मतदाता निरासिएका छन्; समृद्ध घोषणापत्र र कुरा मात्रै ठूला, चुनावको बेला मात्रै सम्झने नेताको प्रवृत्तिले स्थानीय दिक्क भएका छन्,’ स्थानीय अगुवा चक्रध्वज तिवारीले भने । स्थानीय निर्वाचनका लागि २ हजार १ सय १४ उम्मेदवारले भव्य रौनका साथ मनोनयन दर्ता गरेका थिए ।

प्रकाशित : वैशाख २३, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?