कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण छैन : ओली

चित्रांग थापा

बेलौली, कैलाली — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि मजबुत राष्ट्रिय शक्ति आवश्यक भएकाले एमालेलाई बलियो बनाउन स्थानीय चुनावबाटै थालनी गर्नु पर्ने बताएका छन । उनले विविधतायुक्त देशलाई राष्ट्रिय एकतामा आबद्ध गरी समृद्ध बनाउन एमाले मात्रै सक्षम भएको दाबी गरे ।

रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण छैन : ओली

बिहीबार कैलालीको पूर्वी भेगमा पर्ने बर्दगोरिया गाउँपालिकाको बौनियामा चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मुलुकमा एउटा बलियो पार्टी आवश्यक रहेको कुरा आफूले बुझेको बताए । ‘मैले त पार्टी एकीकृत गरेर पनि थाहा पाइसके, जोडजाड गरेर नहुँदो रहेछ, त्यसैले स्थानीय चुनावदेखि नै एमालेलाइ बलियो पार्टी बनाउन आवश्यक छ ।’

उनले एमाले देश बनाउन चाहने पार्टी भएको उल्लेख गर्दै हुलाकी सडक, पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने र रेल मार्ग थालनी गर्ने जस्ता काम एमाले सरकारले सुरु गरेको बताए । एमालेले, सुकुम्बासी, मुक्त हलिया तथा कमैयाका समस्या समाधान गर्न भूमि आयोग गठन गरेको ओलीले बताए । उनले ११ लाख सुकुम्वासीलाई जगा दिने गरी भइरहेको काम बर्तमान सरकारले रोकेको आरोप लगाए ।

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेकपा एमालेमा हुँदा शेर जस्तो भए पनि अहिले भिजेको बिरालो मुसा जस्तो भएको बताए । ‘कांग्रेसको पछाडि पछाडि लाग्ने माधव र प्रचण्डले गठबन्धनको आमसभामा बोल्न नपाएपछि बालुवाटारमा रुवावासी गर्नुपरेको छ,’ उनले भने, ‘आज भरतपुरमा बल्ल बोल्न पाउने भएका छन, बिचराहरुको के हाल भयो ?’

कांग्रेसले स्थानीय चुनावमा जारी गरेको घोषणा पत्रमाथि कडा टिप्पणी गर्दै ओलीले कांग्रेसको घोषणा पत्रमा धरहरा, रानीपोखरी, दरबार हाइस्कुल बनाएको विकास कार्यको विरोध गरिएको बताए । ‘विकास गर्ने हो, जनतालाइ के दिनु पर्छ भन्ने कुरा प्रमुख हो, घोषणा पत्रमा आफ्ना अध्यक्षको नाम ८ पटक उल्लेख गरेको छ, एमाले अध्यक्षको चाहिँ ४२ पटक उल्लेख गरिएको छ,’ उनले भने ।

उत्तरमा मोहन्याल, दक्षिणमा जोशीपुर, पूर्वमा लम्की चुहा र पश्चिममा घोडाघोडी नगरपालिका पर्ने बर्दगोरियाको बौनियामा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री ओलीले टीकापुर घटनाको प्रसंग पनि निकाले । उनले रेशम चौधरीलाई मुद्दा लगाउने कुनै कारण नभएको बताए । यस विषयमा थारु कल्याण्कारी सभासँग ६ बुँदे सहमति गरेको उल्लख गर्दै वर्तमान सरकारले १० महिनासम्म यस विषयमा कुनै काम गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले एमालेबाहिर रहेका कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरे । ‘एमालेका माथिका ठूला नेताबाहेक सवै कार्यकर्तालाई एमालेमा आउन आग्रह गर्दछ,’ उनले भने ।

स्थानीय निर्वाचन घोषणा भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका अध्यक्ष ओलीले कैलालीको बौनिया, कञ्चनपुरको बेलौरी र धनगढीको चुनावी सभालाई पनि आजै सम्बोधन गरेका थिए ।

प्रकाशित : वैशाख २२, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?