मौलिक मुद्दामा स्वतन्त्र उम्मेदवार

फरक पृष्ठभूमिका उम्मेदवारको आर्थिक सशक्तीकरणदेखि भ्रष्टाचार निर्मूल, शिक्षा र स्वास्थ्यजस्ता एजेन्डा प्राथमिकतामा
मधु शाही

काठमाडौँ — देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरमा मात्रै ३५ जना स्वतन्त्र उम्मेदवार छन् । तर, तीमध्ये एक/दुई जना मात्र चर्चामा छन् । प्रमुख/उपप्रमुख पदमा उम्मेदवारी दिएर पनि ओझेलमा परेका स्वतन्त्र उम्मेदवारका मुद्दा भने ‘खास’ छन् ।

मौलिक मुद्दामा स्वतन्त्र उम्मेदवार

तेह्रथुम घर भएका दीपक सिलवाल १७ वर्षदेखि काठमाडौंमा भाडाको घरमा बस्दै आएका छन् । आफन्तको घरमा बस्दै आएका उनले यसैका आधारमा बसाइँसराइ गराए । दुर्गम जिल्लामा बेलैमा उपचार नपाएर समस्यामा परेका गर्भवतीको उद्धार र उपचार गर्न लागे । शारीरिक रूपमा अशक्त बालबालिकाको सेवा थाले । उनका अनुसार सिन्धुपाल्चोक, जाजरकोट, धादिङ, सोलुखुम्बु लगायत जिल्लाका १२ जना सुत्केरीको उद्धार गरे । समयमै हेलिकोप्टर उपलब्ध हुन नसकेपछि सुत्केरीको ज्यानै जाने खतरा उनले प्रत्यक्ष देखेका छन् । तर, स्रोत र साधनबिना सेवा गर्न नसकिने महसुस गरे । अनि राजनीतिक बाटो राजे ।

यस पटकको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । तर महानगरको चुनावी सरगर्मीमा उनी कतै चर्चामा छैनन् । प्रमुख पदमा उम्मेदवार बन्नुको कारणचाहिँ मुख्यगरी एउटै छ ः आमा जोगाउन हेलिकोप्टर किन्ने । ‘किनौं हेली बचाऊ चेली’, उनको चुनावी नारा छ । हाल होस्टलमा बस्दै आएका उनले अनशन बसेर चुनावी अभियान चलाउने योजना छ । उनले यही नारा सहितको भिडियो बनाएर सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । उनलाई थाहा छ, महानगरपालिकामा जित्नु सहज छैन । तर, यही नाराले मतदाताको मन छुने उनको आशा छ ।

काठमाडौं महानगरको प्रमुख पदका स्वतन्त्र उम्मेदवार निमकान्त पाण्डे पेसाले पत्रकार हुन् । ३१ वर्षदेखि निरन्तर सम्पादकीय जिम्मेवारी पूरा गर्दै आएका उनी मालेदेखि एमालेसम्मको राजनीतिक कार्यकर्ता भए । राजनीतिक दलको कुरा एउटा, काम अर्कै गर्ने परिपाटीदेखि उनी दिक्क भएका थिए । नयाँ सोच ल्याएको माओवादी पार्टी पनि उस्तै शैलीमा देखिन थालेपछि पाण्डेले राजनीतिप्रति वितृष्णा जागेको बताए । लामो समय कुनै पार्टीमा आबद्ध नभएका उनले राजनीतिक दलको अहम् चिर्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको समर्थन छ । जिते भने उनको पहिलो काम महानगरभित्र भएका भ्रष्टाचारको नालीबेली खोतल्नु रहेको छ । भ्रष्टाचार न्यूनीकरण गर्न सके महानगरको जस्तोसुकै विकास सम्भव हुने उनको बुझाइ छ । ‘महानगर अहिले विकासभन्दा पनि भ्रष्टाचार गर्ने थलो भएको छ,’ उनी भन्छन्, ‘यसलाई चिर्न पनि मेरो उम्मेदवारी महत्त्वपूर्ण छ ।’

काठमाडौंको बल्खु घर भएका ६६ वर्षे पाण्डेले चुनावी प्रचारमा ठूलो रकम खर्च गरेका छैनन् । युवा मतदाताका लागि सामाजिक सञ्जाल चुनाव माग्ने गतिलो आधार बनाएका छन् भने बूढापाका भेट्न घरदैलो गर्दै छन् । ‘जब मतदाताको घरदैलो पुग्छु, अधिकांशले दलका नेतालाई गाली गरिरहेको पाउँछु,’ उनले सुनाए । जनताले स्वतन्त्र उम्मेदवारलाई राजनीतिक दलको विकल्पका रूपमा देखेको उनले महसुस गरेको बताए । ‘जनता स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा खुसी हुन्छन्, अनि नेताको गुनासो पोख्छन्,’ उनले भने ।

काठमाडौं महानगरमा प्रमुख पदको उम्मेदवार ज्ञानु लामा तामाङको चुनावी एजेन्डा रोचक छ । दलालले जग्गा खाइदिएपछि उनको नाममा केही पनि छैन । श्रीमान्को हिंसा सहन नसकेर सम्बन्धविच्छेद गरिन् । एउटा छोरो पाल्न पनि उनलाई गाह्रो भयो । ४५ वर्षीया लामा महिला हिंसा र विभेद हटाउन प्रमुख पदमा उम्मेदवारी दिएको बताउँछिन् । आफूजस्तै दुःखमा परेका महिलाको उद्धार गर्न चाहन्छिन् । ‘दलाली चरित्र, भ्रष्टाचार र कुरीतिविरुद्ध लड्न मेयर पद जित्न आवश्यक छ,’ उनी भन्छिन्, ‘एउटा दुःखीले नै दुःखी जनताको मर्म बुझ्छ, त्यसैले चुनावमा उठे ।’ महानगरको उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनको भिजन भने अलि फरक छ ।

उनले महानगरको मुहान फेर्न आफैंबाट पहल गर्न जरुरी ठानिन् । ‘जुनसुकै पार्टीले जनतालाई प्रयोग मात्रै गरेको’ उनको आरोप छ । नुवाकोट जेसिसको संस्थापक अध्यक्षसमेत रहेकी विद्या कुनै समय नेपाली कांग्रेसको भ्रातृ संगठनमा आबद्ध थिइन् । ‘पार्टीले सपना देखाउँछन्, पूरा गर्दैनन्,’ उनी भन्छिन् ।

समाजसेवामा आबद्ध सरिना लाखे (श्रेष्ठ) ललितपुर महानगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार हुन् । समाज सेवाको कर्मलाई दीर्घायु बनाउन उनलाई प्रमुख पदमा उठ्ने चाह जाग्यो । ‘चखाउने विकास होइन, अघाउने विकास गर्नेछु’ उनको भनाइ छ । विगतको स्थानीय सरकारले महिला उत्थान र युवा रोजगारमा खासै लगानी नगरेको उनको आरोप छ । स्वास्थ्य, शिक्षा, रोजगारी, सरसफाइजस्ता महानगरका सूक्ष्म गतिविधि समेटेर उनले चुनावी घोषणापत्र तयार गरी प्रचारमा लागेकी छन् ।

ललितपुरका ५६ वर्षे अजरमान जोशी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । उद्योग व्यवसायको ज्ञान र समाज सेवाबाट बटुलेको अनुभवलाई महानगरपालिकामा उपयोग गर्ने सोचेर उनी उम्मेदवार बने । यतिबेला दिनभर जनताको घरदैलो पुगेर मत मागिरहेका छन् । उनको चुनावी घोषणापत्र ललितपुर महानगरपालिकाको आर्थिक सशक्तीकरणमा केन्द्रित छ । हस्तकलाका उद्योगको प्रशस्त सम्भावना रहेकाले महानगरभित्र त्यसैलाई आधार बनाएर पर्यटन प्रवर्द्धनमा जोड दिने उनको योजना छ । ‘मलाई शुभचिन्तकले नै उपमेयरमा उठ्न सल्लाह दिए,’ उनी भन्छन्, ‘उहाँहरूको सपना पूरा गर्न लागेको छु ।’ स्थानीय निर्वाचन कुनै पनि राजनीतिक दल र नेताको भावना थोपर्ने थलो नभएको उनको धारणा छ । स्थानीयले स्थानीयलाई उठाएर जिताउने संस्कारको विकास गर्न स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले राम्रो काम नगरेको दाबी गर्दै सत्य त्वायनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नगरपालिकाले सञ्चालन गरेको ‘देको मिबा इतापाके जग्गा एकीकरण आयोजना’ ले जग्गा वितरणमा विभेद गरेको भन्दै डेढ वर्षदेखि आन्दोलन गरिरहेका पीडित सत्यले जनप्रतिनिधिले जनताको मर्म नबुझेको गुनासो गरे । जनप्रतिनिधिले पीडितको पक्षमा काम नगरेको, भेट्न खोज्दा समयसमेत नदिएको, आयोजना लम्बाएर जग्गाधनीलाई दुःख दिएको, जथाभावी जग्गा कटौती र नीतिगत भ्रष्टाचार गरेको लगायतका असन्तुष्टि जनाउँदै पीडित संघर्ष समिति बनेको छ, जसमा उनी आबद्ध छन् । ‘मलाई नेता हुने मन थिएन, जनप्रतिनिधिले कामै गर्न छाडेपछि उठ्न बाध्य भएको हुँ,’ उनले भने ।

मानव अधिकारको क्षेत्रमा २४ वर्षदेखि संघर्ष गरिरहेका सत्य अधिवक्ता पनि हुन् । गरिबी, भोकमरी जस्ता विषयमा उनले अध्ययन गरेका छन् । भक्तपुर काठमाडौंको नजिकै भएर पनि सधैं गरिबी भोग्नुपरेको उनको अध्ययन अनुभव छ । भक्तपुर सांस्कृतिक रूपले सम्पन्न भए पनि पर्यटन प्रवर्द्धन नभएकाले आफ्नो उद्देश्य पर्यटनबाटै समृद्ध नगर बनाउने रहेको उनले बताए ।

प्रकाशित : वैशाख २२, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?