कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनमत देखाउन सर्वसाधारण खोसाखोस

‘अघिपछि मतलब नगर्ने नेताहरु हात जोड्न घरमै आइपुग्छन् । गाडीमा राखेर प्रचारमा हिँड्न अनुरोध गर्छन् ।’
ठाकुरसिंह थारु

बाँके — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्नो पक्षमा जनमत देखाउन राजनीतिक दल सर्वसाधारणलाई प्रचारप्रसारमा लैजान खोसाखोस गरिरहेका छन् । सर्वसाधारणलाई प्रचारमा लैजान उम्मेदवारले अटो रिक्सा, मोटरसाइकल, ट्याक्टर र साना सवारी साधनहरु घरमै पठाउने गरेका छन् ।

जनमत देखाउन सर्वसाधारण खोसाखोस

कुनै पनि दलमा नलागेका सर्वसाधारणहरुलाई दलका उम्मेदवारले आफ्नो पक्षमा ल्याउन कसरत गर्दै आएका छन् । कतिपय सर्वसाधारण एक दिन एउटा र अर्को दिन अर्को पार्टीको प्रचार गरिरहेको देख्न सकिन्छ । प्रचारमा लगिएका सर्वसाधारणलाई उम्मेदवारले चिसो पेय पदार्थ, पानी र बिस्कुट, भेली खुवाउने गरेका छन् ।

त्यस्तै, साँझको समयमा खाजाको व्यवस्था मिलाइएको छ । ‘एउटा पार्टी आउँछ हाम्रो प्रचारमा जानु पर्‍यो भन्छन् । अर्को पार्टी आएर हामीसँग प्रचारमा हिँड्नु पर्‍यो भन्छन्,’ डुडुवा गाउँपालिकाका आशाराम मौर्य भन्छन्,‘अघिपछि मतलब नगर्ने नेताहरु हात जोड्न घरमै आइपुग्छन् । गाडीमा राखेर प्रचारमा हिँड्न अनुरोध गर्छन् ।’

यसअघि बोल्न र नमस्कार गर्न फुर्सद नपाउने नेतालाई चुनाव आएपछि मात्रै सर्वसाधारणको घरदैलौमै पुग्ने गरेका छन् । सर्वसाधारण भने भोट पाएपछि नचिन्ने प्रवृत्ति नदोहोर्‍याउन नेताहरूलाई सुझाव दिइरहेका छन् ।

‘हामी कुनै पनि पार्टीमा लागेका छैनौँ । चुनाव आएपछि भोट दिने गरेका छौँ । अहिले घरमा काम पनि छैन । त्यसैले गाडी लिएर जोकोही आयो भने गाडी चढेर प्रचारमा जान्छौँ,’ बैजनाथ गाउँपालिका पेडारी गाउँका एक सर्वसाधारण भन्छन्, ‘चुनाव आएपछि खुबै रमाइलो भइरहेको छ । गाडी चढ्न पाइएको छ । खाजा पनि सित्तै खाइएको छ ।’

प्रकाशित : वैशाख २१, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?