कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आश्वासन बोकेर घरदैलोमा उम्मेदवार

सूर्यविनायक, मध्यपुर र चाागुनारायणमा मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनबीच
भक्तपुर नगरमा नेमकिपा बलियो
लिला श्रेष्ठ

भक्तपुर — ‘एक पटकलाई विश्वास गर्नुस् । नगर बनाउँछु । तपाईंको वृद्धाभत्ता घरमै पुर्‍याउन आउँछु,’ ८४ वर्षीया रामभक्त दुवाललाई भोट माग्न आइपुगेका एक युवा उम्मेदवार भन्दै थिए । यी वृद्धले पनि हस् बाबु तपाईंको जय–जय होस् भन्दै बिदा गरे । दिनभर एक्लै घर कुरेर बिताउने सूर्यविनायक–६ का दुवाललाई भेट्न हिजोआज उम्मेदवारहरू आइरहन्छन् । 

आश्वासन बोकेर घरदैलोमा उम्मेदवार

कुनै पार्टीकाले घरमै वृद्धाभत्ता पुर्‍याउने आश्वासन दिन्छन् त कुनैले आफूलाई जिताए निःशुल्क स्वास्थ्य उपचार गरिदिने आस देखाउँछन् । कसैले त निःशुल्क धार्मिक स्थल घुमाउने आश्वासनसमेत दिएका दुवाल बताउँछन् । ‘धेरैले धेरै थरीका सपना बाँडेका छन्, खै कसले जितेर के गर्छ ?’ उनले भने, ‘पाँच वर्षअघि भोट माग्न आउनेले पनि यस्तै आवश्वासन दिएका थिए, वृद्धाभत्ता लिने बेला बैंकमा घण्टौं लाइन बस्न पर्‍यो ।’ दुवालले जीवनमा धेरै चुनावहरू देखेका छन् । उम्मेदवारले धेरै सपना देखाएर सबै पूरा नगरे पनि केही केही प्रयासहरू भने गरेको उनी बताउँछन् ।

‘नमुना नगर बनाउने, विकासको मूल फुटाउने नारा त सबै पार्टीका उम्मेदवारको साझा भइसक्यो,’ चाँगुनारायण खरिपाटकी सरस्वती थापाले भनिन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण, सडक, कृषि, ढल व्यवस्थापन लगायतका योजनाहरू सबैको एउटै छ ।’ झन्डै १० वर्षदेखिको नगरकोट मूल सडकले दिएको सास्ती भोग्दा कुनै दलका उम्मेदवारलाई मतदान गर्ने इच्छा भने नभएको उनी बताउँछिन् ।

भक्तपुरका चारवटै स्थानीय तहमा चुनावी सरगर्मी सुरु भइसकेको छ । गठबन्धनका उम्मेदवारका एक किसिमका एजेन्डा/प्रतिबद्धता छन् भने एमाले, नेमकिपा, राप्रपालगायत दलका उम्मेदवारका आफ्नै घोषणापत्र, एजेन्डा/प्रतिबद्धता छन् । चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा उम्मेदवार र समर्थहरूले तिनै प्रतिबद्धता र एजेन्डा दोहोर्‍याउने गरेका छन् ।

भक्तपुरका स्थानीय तहमा सत्तारूढ गठबन्धन, नेमकिपा र एमालेबीच त्रिपक्षीय भिडन्त छ । निर्वाचन कार्यालय भक्तपुरका अनुसार आसन्न निर्वाचनमा जिल्लाको चार नगरमा ९ सय २८ उम्मेदवार प्रतिस्पर्धामा छन् । एमाले उम्मेदवार मदनसुन्दर श्रेष्ठले गएको ५ वर्षमा पूरा नभएका योजनालाई पूर्णता दिने प्रतिबद्धतासहित मत माग्दै छन् ।

कोभिड महामारीमा आफ्नो नेतृत्वले नगरवासीलाई भरपुर सेवा प्रदान गरेको, सम्पदा संरक्षण तथा पुनर्निर्माण र फोहोर व्यवस्थापनमा सफल भएको दाबी श्रेष्ठको छ । ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३ सय शय्यामा विस्तार गरी नर्सिङ कलेज सञ्चालन गर्न प्रतिबद्ध छु,’ उनले भने । २०७४ को निर्वाचनमा नेमकिपासँग मिलेर जितेका मेयर श्रेष्ठ यसपल्ट एक्लै लड्दै छन् । एमालेबाट उपप्रमुखमा उत्तरा नेपाल चुनावी मैदानमा छिन् ।

अघिल्लो निर्वाचनमा प्रमुखबाहेक बहुमतसहितको उपप्रमुखको नेतृत्वमा विजयी कांग्रेस आसन्न निर्वाचनमा गठबन्धनको उम्मेदवार सहित प्रतिस्पर्धामा छन् । नगर प्रमुखमा कांग्रेसका तर्फबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठको उम्मेदवारी छ । गठबन्धनको उम्मेदवारले मध्यपुर थिमिमा आफ्नै एजेन्डा/प्रतिबद्धतालाई लिएर घरदैलोमा निस्किएका छन् । उनीहरूको एजेन्डमा विशेषतः शिक्षा, स्वास्थ्य, सरसफाइ, सामाजिक सुरक्षा, प्रशासनिक सेवा र सुधार, सामाजिक सांस्कृतिक र भाषिक संरक्षण र विकास, खानेपानी, कृषि तथा उद्योग, विकास निर्माण र संरक्षण, पर्यटन प्रवर्द्धन, रोजगार स्थापनालगायत समेटिएको छ ।

अघिल्लो निर्वाचनमा मध्यपुर थिमिमा एमालेसँग गठबन्धन गरेर पनि उपप्रमुखमा पराजित नेमकिपाले आसन्न निर्वाचनमा एक्लै लड्दै छ । नेमकिपाले मध्यपुर थिमि नगर प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दिक्षा बाडेलाई उभ्याएको छ । यसपल्टको निर्वाचनमा मध्यपुर थिमिमा एमाले र गठबन्धन बीचकै प्रतिस्पर्धा निश्चित जस्तै छ । मध्यपुर थिमि नगर प्रमुखमा १३ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, अघिल्लो निर्वाचनमा विजयी सूर्यविनायक नगर प्रमुखको नेतृत्व सम्हालेका वासुदेव थापा पुनः उम्मेदवार बनेका छन् । पाँच वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल निर्माण, विद्युतीय र आधुनिक ऊर्जा, जलस्रोत तथा सिँचाइ, सडक तथा यातायात, आवास, कृषिमा उल्लेख्य सुधार गरेको दाबी गर्दै थापाले आगामी दिनमा नगरलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रेको बताउँछन् । एमालेका तर्फबाट नगर प्रमुखका लागि वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई (तिमिल्सिना) चुनावी मैदानमा छन् ।

गठबन्धनका तर्फबाट सूर्यविनायक नगर प्रमुखका उम्मेदवार निशान ढुंगेल छन् । उनले मतदाताको मतको ऋणलाई खेर जान नदिने प्रतिबद्धतासहित घरदैलो अभियानमा छन् । ‘नगरलाई सम्पूर्ण तवरबाट व्यवस्थित सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने, ‘मतदाताको मतको ऋणलाई विकास निर्माणले चुक्ता गर्ने प्रणसहित मैदानमा उत्रेको छु ।’ उनीसँगै गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतको उम्मेदवारी छ । मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनकै उम्मेदवारको देखिन्छ । सूर्यविनायकमा गठबन्धन भने पनि कांग्रेस र नेकपा एकीकृत समाजवादी मात्र मिलेको छ । नेकपा माओवादी केन्द्रले एक्लै लड्दै छ ।

केन्द्रका तर्फबाट सूर्यविनायक नगर प्रमुखमा कल्पदिप राई र उपप्रमुखका उम्मेदवार नमुना चौलागाईं छिन् । नेमकिपाका तर्फबाट प्रमुखमा श्यामु बिशुंके र उपप्रमुखमा चनमती खुलिमुलीले उम्मेदवारी दिएकी छन् । राप्रपाका तर्फबाट नगर प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण शर्मा ढुंगेलको उम्मेदवारी छ । सूर्यविनायक नगर प्रमुख पदमा १२ र उपप्रमुखमा ८ जना चुनावी मैदानमा उभिएका छन् ।

त्यस्तै, अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित चाँगुनारायण नगर उपप्रमुखको जिम्मेवारी सम्हालेकी बिणा बाँस्तोला आसन्न निर्वाचनमा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार हुन् । पाँचवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल निर्माण, विद्युतीय र आधुनिक ऊर्जा, जलस्रोत तथा सिँचाइ, सडक तथा यातायात, आवास, कृषिमा उल्लेख्य सुधार गरेको बताउँदै बाँस्तोलाले आगामी दिनमा नगरलाई थप व्यवस्थित बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रेको बताइन् ।एमालेका तर्फबाट उपप्रमुखमा रमेश बुढाथोकीको उम्मेदवारी छ ।

चाँगुनारायणमा भने गठबन्धन हुन सकेन । कांग्रेस, नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । नेकपा एकीकृत समाजवादीले नगर प्रमुख, उपप्रमुख पदमा उम्मेदवारी नै दिएन । कांग्रेसका तर्फबाट अघिल्लो निर्वाचनमा प्रदेश सांसद पदमा पराजित जीवन खत्रीलाई नगर प्रमुख पदमा उभ्याएका छन् । खत्री नगरलाई भ्रष्टाचार मुक्त बनाई सुशासन सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विकास निर्माण, पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरणलगायतको प्रतिबद्धतासहित घरदैलो अभियानमा निस्किएका छन् । कांग्रेसका तर्फबाट उपप्रमुखमा सुभद्रा काफ्लेको उम्मेदवारी छ ।

चाँगुनारायणमा राप्रपाका तर्फबाट नगर प्रमुखमा रवीन्द्रप्रताप शाह र उपप्रमुखमा मञ्जु कार्की चुनावी मैदानमा छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखमा नरेश खत्री र उपप्रमुखमा चण्डिका पाण्डेको उम्मेदवारी छ । अघिल्लो निर्वाचनमा केन्द्रको एमालेसँग गठबन्धन थियो । चाँगुनारायण नगर प्रमुखमा नेमकिपाका तर्फबाट केशवप्रसाद तिमल्सिना र उपप्रमुखमा कल्पना लामाको उम्मेदवारी छ । चाँगुनारायण नगरमा एमाले, कांग्रेस र राप्रपा मुख्य प्रतिस्पर्धी देखिन्छ ।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बलियो राजनीतिक शक्ति मानिन्छ । भक्तपुर नगर क्षेत्रकै मतका कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक सिट जित्न सफल भएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए । अघिल्लो निर्वाचनका नगर प्रमुख विजयी सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसहित ७ वटा वडाका वडाध्यक्ष समेतले आसन्न निर्वाचनका लागि पुनः उम्मेदवारी दिएका छन् । भूकम्पपछिको सम्पदा पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद लगायतमा अग्रणी नगरलाई थप उच्च योगदान दिने प्रतिबद्धतासहित चुनावमा उत्रेको प्रजापतिले बताउँछन् । ‘सहर कस्तो भक्तपुर जस्तो भन्ने नगर बनाउन प्रतिबद्ध छौं,’ उनले भने । २०३९ बाट एकलौटी जितेको नेमकिपाबाहेकका अन्य दलहरूले आफ्ना पार्टीको उपस्थितिलाई मात्रै भए पनि उम्मेदवार उठाउने गरेका छन् ।

गठबन्धनले अघिल्लो निर्वाचनमा प्रजापतिका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता रामप्रसाद कासुलालाई नै उम्मेदवार बनाएको छ । कासुला भक्तपुर नगरलाई आईटी हबका रूपमा विकास गर्ने, जग्गा तथा आवास योजनालाई व्यवस्थित गर्ने, कृषिमा आधारित व्यवसाय प्रवर्द्धन, रोजगारको अवसर वृद्धि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासहित घरदैलो अभियानमा छन् । गठबन्धनले उपप्रमुखमा एकीकृत समाजवादीका तर्फबाट ओमचरण अमात्यलाई उम्मेदवार बनाएका छन् । एमालेका तर्फबाट भक्तपुर नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उप्रमुखमा रञ्जना खर्बुजा उम्मेदवारी छ । माओवादी केन्द्रले नगर प्रमुखमा तुल्सीभक्त सुवाल र उपप्रमुखमा इन्द्रमाया सुवाललाई उम्मेदवारी दिएको छ ।

भक्तपुर नगर प्रमुखमा नगरपालिकाद्वारा सञ्चालित देको मिवा इँटा पाके जग्गा एकीकरण आयोजना पीडित किसानले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन आयोजना पीडित किसानले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनप्रतिनिधिले पीडितको पक्षमा काम नगरेको तथा नीतिगत भ्रष्टाचार गरेको दाबी गर्दै सत्य त्वायनाले आसन्न निर्वाचनमा नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्वायनासँगै पीडितकै तर्फबाट भक्तपुर–२ मा सञ्चज्ञान याकामी र ६ मा रामप्रसाद कुम्पाखले स्वतन्त्र उम्मेदवारी दिएका छन् । याकामी पीडित संघर्ष समितिका अध्यक्षसमेत हुन् । भक्तपुर नगर प्रमुखमा त्वायनालगायत १४ जनाले र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित : वैशाख २१, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?