८० पारि : उम्मेदवारी

झापाको मेचीनगर, रौतहटको ईशनाथ, बाँकेको नरैनापुर र रुपन्देहीको मायादेवीका चार उम्मेदवारको उमेर नागरिकतामा ८० कटेको छ, तर जोस जाँगरमा उनीहरु युवाभन्दा कम छैनन् । एक्लाएक्लै घरदैलो गरिरहेका उनीहरु भन्छन्, ‘जनताको सेवा गर्ने रहर छ ।’

झापा‚ रौतहट‚ नेपालगन्ज‚ लुम्बिनी — एक सातायता उनी सखारै उठ्छन् । नित्यकर्म सकेर भोट माग्न निस्किहाल्छन् । झापाको मेचीनगर–१३ चारआलीका ९२ वर्षीय नेत्रप्रसाद न्यौपानेलाई चुनावी चटारोले भ्याइनभ्याई बनाएको छ । आफ्नै उमेर हाराहारीका अरूका लागि उनी प्रेरक पनि छन् । दिनहुँ हिँड्छन् । शारीरिक समस्या छैन । भातसँग दूध र केरा खान्छन् । ‘अहिले म जीवनमै सबभन्दा बढी व्यस्त भएको छु,’ सेता दाँत देखाउँदै उनी मुस्काए, ‘किन हो किन मर्ने बेलामा चुनाव जितेरै जानुपर्छ भन्ने लाग्यो ।’ 

८० पारि : उम्मेदवारी


खासमा मनोनयन दर्ताको अघिल्लो दिनसम्म उनी उम्मेदवार बन्ने टुंगो थिएन । मनोनयन दर्ताको दिन बिहानै उनी अचानक जोसिए । परिवारमा सरसल्लाह गरे । छोराबुहारीले ‘बुढेसकालमा दुःख पाउने काम नगर्न’ सुझाए । हक्की स्वभावका उनी ‘दुःख पाए पाउँछु’ भन्दै राँकिएर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे ।

राप्रपाबाट वडा सदस्यको उम्मेदवार बनेर आएका दिनदेखि उनी भोट माग्न गाउँ–टोल चहार्दै छन् । सधैं दौरासुरुवाल, इस्टकोट र ढाका टोपीमा चिटिक्क पर्ने उनको भोट माग्ने शैली पनि भिन्न छ । समूहमा हिँड्न रुचाउँदैनन् । एक्लै लुसुलुसु हिँड्छन् । पहिला छरछिमेकी र चिनारुले उनलाई नमस्ते गर्थे । अहिले उनी दुई हात जोडेर मतदातामाझ ठट्यौली शैलीमा भन्छन्, ‘मर्न लागेका बुढालाई एक भोट है ।’

करिब तीन हजार हाराहारी जनसंख्या रहेको वडामा उनले पाँच सय जनाभन्दा बढीसँग आफ्ना लागि भोट मागिसकेका छन् । आचारसंहिता लागू हुनअघि नै सबै घरधुरीमा पुग्ने उनको योजना छ । पाको भएकाले पनि धेरै मतदाताबाट सहानुभूति पाइएला भन्ने उनलाई लागेको छ । ‘सबैका घर–घर पुगेर भोट मागिरहेको छु,’ न्यौपानेले भने, ‘मतदाताले बाजेलाई त दिइहाल्छौं नि भनेका छन्, हेरौं के गर्छन् ।’

पूर्वी पहाड ताप्लेजुङको थुम्बेदिनमा जन्मिएका न्यौपाने गत फागुनदेखि ९२ वर्ष लागे । उनी दुई छोरा र चार छोरी अनि २४ नातिनातिनाका अभिभावक हुन् । २०६२ सालमा श्रीमती बितेपछि एक्ला छन् । तर, सगोलमा बस्दा एक्लो महसुस नहुने उनी बताउँछन् । नेताहरूले चुनावमा करोडौं खर्च गरे अरे भन्ने सुन्दा उनलाई दिक्क लाग्छ । मनोनयन दर्ता गर्दा लागेको पाँच सयबाहेक उनले चुनावमा खर्च गरेका छैनन् । ‘खर्च गरीगरी मलाईचाहिँ जित्नु छैन,’ उनी भन्छन्, ‘जनताको काम गर्ने मान्छेलाई मतदाताले बिनाखर्च पनि जिताइहाल्छन् नि ।’ ताप्लेजुङमा छँदा उनले २०३२ सालताका तत्कालीन थुम्बेदिन गाविस–५ को वडाध्यक्ष जितेका थिए । २०३५ तिर झापा झरेपछि चुनावी राजनीतिमा सहभागिता ढिला भयो । २०५४ को पहिलो स्थानीय तह निर्वाचनमा राप्रपाबाट तत्कालीन दुवागढी गाविस–४ बाट वडा सदस्यमा उठेर हारेका थिए । आफ्नो वडाबाट समाज सेवामा सक्रिय उनले २०६४ ताका स्थानीय त्रिदेव क्याम्पसलाई २५ लाख मूल्य पर्ने जमिन दान दिएका थिए । उनी भन्छन्, ‘मरेर गए पनि जनताले मेरो काम सम्झिराखुन् भन्ने लागेको छ ।’

‘जनताको सेवा गरेर मर्न पाए पुग्छ’
उनलाई झट्ट हेर्दा उम्मेदवारी दिएका होलान् भनेर लख काट्न सजिलो छैन । हाँस्दा फुक्लेका दाँत परैबाट देखिन्छन् । खिरिलो ज्यान हिँड्दा पनि कतै लड्छन् कि झैं लाग्छ । रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरका ९१ वर्षीय लक्ष्मण राउत कुर्मीको जोस र उत्साह सुन्दा भने देखिने बुढ्यौली फिक्का लाग्छ । कुर्मी एमालेबाट वडा सदस्यमा उठेका छन् । भोट माग्न घरदैलो गर्दै छन् । उनले भने, ‘मर्ने बेला जनताको सेवा गर्ने इच्छा छ ।’

मंगलबार संवाददाता कुर्मी निवास पुग्दा उनी कार्यकर्तासँग चुनावी भलाकुसारीमा मग्न थिए । उनका लागि चुनावी राजनीति नयाँ विषय होइन । २०१८ देखि कांग्रेसमा राजनीति गरेका उनी २०२१ सालमा तत्कालीन जोकाहा गाउँ पञ्चायतमा उपप्रधानपञ्चमा निर्विरोध भएका थिए । पाँच वर्ष पञ्चायत हाँकेका उनी २०२६ सालमा आफू बसेको वडाको वडाध्यक्षमा उठेर जिते । त्यसपछि लामो समय राजनीतिबाट पर बसेका उनलाई अहिले फेरि ‘जनताको सेवा’ गर्ने रहर लागेर आएको हो ।

लामो समय कांग्रेसमा रहेका उनी यसपालि भने एमालेबाट उठे । उनले भने, ‘म सबैभन्दा बढी मतले जित्छु ।’ तीन छोरा र एक छोरीका बाबु कुर्मी अहिले भने जेठो छोरासँग बस्छन् । चुनाव प्रचारमा छोरानाति पनि उनी सँगसँगै हिँडेका छन् । ‘पञ्चायतकालमा उम्मेदवार कम हुन्थे, एकचोटि गाउँ घुमेपछि पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले जनसंख्या बढ्यो, बस्ती ठूलो भयो । भोट माग्न सबैतिर धाउन गाह्रो छ ।’

८ कक्षासम्म पढेका कुर्मी एक समय लेखापढीको काम गर्थे । यो पेसा गर्न अनुमतिपत्र चाहिने भएपछि भने उनको रोजगारी खुम्चियो । उनी गाउँघरमा कसैलाई आवश्यक पर्दा सामान्य निवेदन लेखिदिन सघाउँछन् । भारतीय सीमासँग जोडिएको गाउँका कुर्मीलाई देखेर गाउँलेहरू ‘यिनले चुनाव जिते पूरै कार्यकाल काम पो कसरी गर्लान्’ भन्दै संशय व्यक्त गर्छन् ।

‘हामी अझै हेपिएकै छौं’
सुधरी चमारिन, वर्ष ८६ । बाँकेको नरैनापुर गाउँपालिका–२ मा माओवादीका तर्फबाट दलित महिला सदस्य उम्मेदवार । हातमा क्यानुला थियो, कुनै रोगको उपचारपछि अस्पतालबाट भर्खरै डिस्चार्ज भएकी भने होइन । चर्को गर्मीमा चुनावी दौडधुपले गलेर सोमबार बेहोस भएपछि सलाइन चढाउनुपर्ने अवस्थाले यस्तो भएकी थिइन् । बुढ्यौली उमेरमा पनि यस पटक उनले जित्नका लागि दौडधुप गर्नै परेको छ ।

मंगलबार दिउँसो भेट्दा उनमा मत माग्ने र आफ्ना योजना सुनाउने जोस देखिन्थ्यो । उनका साथमा कार्यकर्ताको भीड थिएन । होहल्ला र बाजागाजा पनि थिएन । उनी लौरो टेक्दै एक्लै भोट माग्दै घर–घर पुगिरहेकी थिइन् । उनले सोमबार बेहोस भएको घटना प्रस्ट्याउँदै भनिन्, ‘जनतासँग भोट नमागी भएन घर–घर पुग्नैपर्‍यो । पार्टीले त पत्यायो अब जनताले पत्याउने बनाउनुपर्नेछ ।’

हक्की स्वभावकी उनको आँखाको दृष्टि थोरै घटे पनि निर्धक्क आफ्ना कुरा राख्न धक मान्दिनन् । आफ्नै बलबुतामा जीवन निर्वाह गरिरहेकी उनले गुनासोको भावमा भनिन्, ‘सन्तान भएर पनि छोराले केही काम गर्दैन । आफ्नै श्रममा बाँचेकी छु ।’

बाँकेमा सुविधाका दृष्टिले दुर्गममध्येको नरैनापुरको विकट गाउँ लक्ष्मणपुरको एउटा साँघुरो गल्ली हुँदै उनको घर पुग्न सकिन्छ । मुस्किलले गाडी छिर्ने उनको टोलमा लस्करै फुसका घरहरू छन् । तिनै घरको बीचमा उनको एउटा फुसको झुप्रो छ । जहाँ उनी पति र छोराबुहारीसँग बस्छिन् । ‘वडा कस्तो छ, कस्तो विकास भएको छ, देखिहाल्नुभयो,’ उनले संवाददातासँग भनिन्, ‘टिनको घर बनाइदिन्छु भन्दै सरकारले भन्यो, हामी अझै फुसका घरमा छौं ।’

विपन्न परिवारकी उनलाई वडा सदस्यमा जिते ठूलो काम गर्ने रहर छैन । ‘भोकोलाई खान दिन पाऊँ, दुःखीलाई सहायता गर्न पाऊँ यति मात्र छ मुद्दा,’ उनी भन्छिन् । उनी राजनीति बुझ्दिनन् । तर जनताले खाँचो परेका बेला काम गरिदिने नेता खोजिरहेको उनको बुझाइ छ । ‘गरिब दलितका लागि कोही उभिँदैनन्,’ उनले भनिन्, ‘हामी दलित अझै हेपिएकै अवस्थामा छौं ।’ दलित भएकाले सुधरीलाई मत माग्न जाँदा पनि छोइछिटोको सामना गर्नु परिरहेको छ । मतदाता सबै जातका भएकाले उनी कसको घरमा जाँदै छु भनेर सतर्क पनि हुन्छिन् । कोही कोही मतदाताले उनलाई ‘चमारिन आएर भाँडा छोएर गई’ भन्दै रिसाउँछन् । त्यस्ता घरमा पनि उनी नरिसाई पर्चा छोडेर फर्किन्छिन् । उनले भनिन्, ‘एकातिर सबैको घरमा पुग्नुपर्ने बाध्यता छ, अर्कोतिर पानी र भाँडा छोइन्छ कि भन्ने चिन्ता पनि छ ।’

‘हम जितब सेवा करब’
कोइली चमारको नागरिकताअनुसारको उमेर ८६ वर्ष हो । तर, झट्ट हेर्दा त्यस्तो लाग्दैन । उनलाई पनि आफ्नो यकिन उमेर याद छैन । निरक्षर उनी ७५ त कटेकै हुनुपर्ने अड्कल काट्छिन् । तर उमेर जति लेखिए पनि निर्वाचन आयोग र नागरिकताअनुसार रूपन्देहीको मायादेवी गाउँपालिकाकै वृद्ध महिला उम्मेदवार हुन् । चुनावको मिति नजिकिँदै गर्दा उनको व्यस्तता बढ्दै गएको छ । दिउँसोको रापिलो घाममा मुख सुकेर आवाज दब्दा पनि सारीको पल्लु टाउकोमा राखेर पुराना चप्पल पड्काउँदै उनी गाउँबस्ती डुलिरहेकी छन् । अनि मान्छे देख्नेबित्तिकै नमस्ते गर्दै भनिहाल्छिन्, ‘हमनके भोट देके जितावल जा ।’

मायादेवी–१ बाट वडा सदस्य पदमा दलित महिलाको कोटाबाट उठेकी कोइलीको चुनावी यात्रा यो पहिलो भने होइन । राजनीतिमा आउनुअघि उनी घर–घर पुगेर सुत्केरी र नवजात शिशुलाई तेल मालिस गरिदिने पुर्ख्यौली काम गर्थिन् । अघिल्लो चुनावमा उनलाई राप्रपा पार्टीले दलित सदस्य पदमा उठाएको थियो । कोइलीले भनिन्, ‘पार्टीले नै चुनेपछि म उठिहालें तर प्रचारमा धेरै हिँडिनँ तैपनि हेर्दाहेर्दै चुनाव पनि जितिहालें ।’

उनको समुदायमा बाहिरफेर हिँड्ने, लोग्नेमान्छेसँग बात छाँट्ने काम महिलाले गर्दैनन् । तर कोइली त त्यसको अपवाद भइन् । चुनाव जितेपछि कोइलीको आत्मविश्वास पनि हलक्कै बढ्यो । तर उनले पाँच वर्षको कार्यकालमा आफूले केही काम गर्न नपाएकोमा छटपटी भयो । उनले गुनासो पोखिन्, ‘वडाध्यक्षहरूले पनि काम गर्न सिकाएनन्, न उनीहरूले सहयोग नै गरे ।’

कोइलीले अघिल्लो कार्यकालमा पाएको अनुभवबाट सिकेर यसपाला चुनाव जित्ने योजना बनाएकी छन् । उनी यसपाला जनमत पार्टीबाट वडा सदस्यमा उठेकी हुन् । छोराछोरी र नातिनातिना २५ जनाको अभिभावक कोइलीलाई यति बेला चार वर्षअघि बितेका श्रीमान्को झझल्को आउँछ । चौकीदारी काम गर्दागर्दै बितेका लोग्ने भएको भए घरधन्दाको काम उनले सम्हाल्थे र आफू राजनीतिमा झनै धेरै काम गर्ने समय पाउँथें भन्ने नलाई लाग्छ ।

आफूलाई रोगव्याधि नभएकाले राम्ररी काम गर्न सक्ने आत्मविश्वास भएको उनी सुनाउँछिन् । चुनावी घरदैलोमा महिलाहरूलाई साथ लिएर हिँडेकी छन् । उनले ‘बड्का बड्का नेताजस्तो धेरै मान्छे लगाएर हिँड्ने पैसा आफूसँग नभएको’ बताइन् । घरदैलोमा उनलाई केही मतदाताले अचम्म मानेजसरी हेर्छन् । कसै–कसैले त ‘यो बुढेसकालमा किन उठेको ?’ पनि भन्छन् । सबैलाई उनले भन्ने गरेकी छन्, ‘हम जितब सेवा करब, तालिम ल्याब, बत्ती डालब, सडक बनावलजाई, और का होइ ?’

प्रकाशित : वैशाख २१, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?