मतदान प्रक्रियाबारे अन्योलमा मतदाता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान प्रक्रियाबारे अन्योलमा मतदाता

‘सबै भोट दिनु मात्रै भन्छन्, मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउने ? कसरी लगाउँदा बदर हुन्छ ? कसरी लगाउँदा सदर हुन्छ भन्ने कसैले सिकाउँदैनन्’
अगन्धर तिवारी, सम्झना रसाइली, प्रतीक्षा काफ्ले

पर्वत‚ तनहुँ‚ कास्की — गाउँ र सहरमा चुनावी रौनक ह्वात्तै बढेको छ । उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । मत हाल्ने दिन आउन १० दिन मात्रै बाँकी छ । तर मतदाता शिक्षा दिने कुरामा भने कसैले चासो नदेखाएको मतदाताको गुनासो छ । 


संघीय वा प्रदेश निर्वाचनमा जस्तो सानो मतपत्र र थोरै चुनाव चिह्न यसपालि छैनन् । ठूलो मतपत्र र सयौं चुनाव चिह्नमा आफूलाई मन परेको व्यक्ति वा राजनीतिक दलका उम्मेदवारलाई मतदान गर्ने सही तरिकाबारे सचेत नागरिक नै अन्योलमा पर्ने सम्भावना छ । पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटाकी मेनुका श्रेष्ठको घरमा मत माग्न उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता दैनिकजसो आउँछन् । तर, मतपत्रमा छाप लगाउनेदेखि अन्य निर्वाचनसम्बन्धी विषयमा भने कसैले सिकाएनन् । ‘सबैले हामीलाई भोट दिनु मात्रै भन्छन्,’ उनले भनिन्, ‘मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउने ? कसरी लगाउँदा बदर हुन्छ ? कसरी लगाउँदा सदर हुन्छ भन्ने कसैले सिकाउँदैनन् ।’

फलेबास–४ की यशोधा गौडेलको घरमा मत माग्न आउनेको लर्को बिहानदेखि बेलुकासम्म कमी छैन । तर, सबैले हामीलाई र हाम्रो चिह्नमा मतदान गर्नुहोला भनेर सरासर हिँड्नेबाहेक केही नगरेको उनले बताइन् । उनले भनिन्, ‘जति हूल मान्छे आउँछन् । भोट माग्दै फर्किन्छन् । यहाँ यसरी मतदान गर्नू भनेर कसैले सिकाएका छैनन् ।’ मत माग्ने नेता/कार्यकर्ताले मतदातालाई मतदानको प्रक्रिया मतपत्र पट्याएर मतपेटिकामा राख्ने, स्वस्तिक छापको प्रयोग लगायतबारे कुनै जानकारी नगराएका हुन् ।

मतदाता शिक्षाबारे निर्वाचन आयोगलेसमेत यो पटक चासो देखाएको छैन । अघिल्ला निर्वाचनमा केही साताअघिदेखि नै मतदाता शिक्षाका लागि शिक्षकलाई खटाउने गरेकोमा अहिले त्यो व्यवस्था नभएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए । ‘यसअघि मतदाता शिक्षाका लागि छुट्टै बजेट आउँथ्यो,’ उनले भने, ‘अहिले छैन ।’ उनका अनुसार मतदानस्थलमा खटिने कर्मचारीले नै दुई दिनअघिदेखि मतदान शिक्षाबारे जानकारी गराउने गरी आयोगले निर्देशन दिएको छ ।

मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त हुनुपरेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारले बताएका छन् । ‘हामी घरदैलोमै व्यस्त हुनुपर्ने भएकोले त्यसमा समय दिनै पाइएको छैन,’ मोदी गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार विमल लामिछानेले भने, ‘शिक्षा दिने काम गाउँ कमिटीले गर्नुपर्ने हो । अब बुझ्नुपर्छ ।’ कुश्मा नगरपालिकामा कांग्रेस एवं गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामचन्द्र जोशीले टोलटोलमा मतदाता शिक्षा दिन युवा परिचालन गरेको दाबी गरे । ‘गठबन्धन भएकोले अहिले मतदान गर्न पहिलाजस्तो सजिलो छैन,’ उनले भने, ‘हामीले हरेक टोलटोलमा नमुना मतपत्र पठाएका छौं । सिकाउने काम भइरहेको छ ।’

तनहुँमा पनि मतदाता शिक्षा प्रभावकारी छैन । दिनहुँ आउने राजनीतिक पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारले मतदान कसरी गर्ने भनेर सिकाउनेतर्फ चासो नदिएको व्यास नगरपालिका–३ की विद्यादेवी श्रेष्ठले बताइन् । ‘हात जोडेर फलानो पदमा उठेको छु, फलानो चिह्नमा भोट दिनुहोला भन्छन्,’ उनले भनिन् ।

विशेषगरी नयाँ मतदाता र वृद्धवृद्धालाई मतदाता शिक्षा आवश्यक रहेको व्यास–१ भादगाउँका प्रेम सुनार बताउँछन् । ‘उम्मेदवार भोट माग्नमै सीमित हुन्छन्,’ उनले भने, ‘मत बदर हुन नदिन मतदाता शिक्षा दिनु आवश्यक छ ।’ केन्द्रबाट यसपटक मतदाता शिक्षासम्बन्धी कार्यक्रम र बजेट नआएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले बताए । ‘मतदता शिक्षा आवश्यक हुन्छ । यो स्थानीय तह निर्वाचनको दोस्रो अभ्यास भएकाले मतदाता सचेत हुनुहुन्छ,’ उनले भने, ‘दलका नेता र उम्मेदवारले चुनावी प्रचारका क्रममा मतदाता शिक्षा पनि उपलब्ध गराए भोट बदरको समस्या हुने थिएन ।’ यसअघिको स्थानीय तह निर्वाचनमा ३ हजार १ सय ५४ मत बदर भएका थिए । मतदाता शिक्षा अभावमै मत बदर भएको ढकालले बताए ।

स्याङ्जाको वालिङ–१ की तुलसी रेग्मी कसरी मतदान गर्ने भन्ने अन्यौलमै छिन् । ‘पहिलो पटक भोट हाल्न लागेकी छु,’ उनले भनिन्, ‘तरिका केही थाहा छैन ।’ मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा रेग्मीजस्ता धेरै मतदाता अहिले अलमलमा छन् । नेता/कार्यकर्ताले पनि मतदानबारे सिकाएका छैनन् । ‘गठबन्धन र स्वतन्त्र उम्मेदवारले पनि झुक्याएको छ,’ रेग्मी थप्छिन् ।

पुतलीबजार–५ की विनिता पौडेल पनि मतदानबारे जानकार छैनन् । ‘मतदान गर्नेबारे कसैले सिकाएका छैनन्,’ उनले भनिन्, ‘कसरी मतदान गर्ने ? बिग्रिन्छ कि भन्ने डर छ ।’ जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बताए । मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उनले जनाए । ‘निर्वाचनको २ दिनअघि मतदानस्थलमा नै मतदाता शिक्षा दिइन्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २०, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।

भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल सम्हालेपछिको भारतीय प्रधानमन्त्रीको यो नै पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि उनी सन् २०१९ मा नेपाल भ्रमणमा आएका थिए ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको करिब एक महिनापछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री देउवाले गत चैत १८ गते तीनदिने भारत भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार
प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत प्रस्थान

प्रकाशित : वैशाख २०, २०७९ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×