१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हेटौंडामा एमालेलाई गठबन्धन तगारो

आफ्नो परम्परागत जनमत कसिलो पार्दै कांग्रेसको आन्तरिक द्वन्द्व र राप्रपाका मतदातामा खेल्ने एमालेको प्रयास

हेटौंडा — २०४९ यताका तीनवटै स्थानीय निर्वाचनमा हेटौंडामा एमालेविरुद्ध अन्य दलले मोर्चाबन्दी गरे । जित भने एमालेले निकाल्यो । यसपटक एमालेबाट अलग्गिएको एकीकृत समाजवादीको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र एमालेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । हेटौंडामा ‘ह्याट्रिक’ को इतिहास रचेको एमाले त्यही इतिहासलाई निरन्तरता दिने चुनौतीबीच उभिएको छ । यसका लागि सत्ता गठबन्धन तगारो बनेको छ । 

हेटौंडामा एमालेलाई गठबन्धन तगारो

तत्कालीन हेटौंडा नगरपालिकामा २०४९ र २०५४ मा एमालेका डोरमणि पौडेल मेयर र हरिबहादुर महत उपेयरमा विजयी भएका थिए । पहिलो निर्वाचनमा कांग्रेस र एमालेबीच प्रमुख प्रतिस्पर्धा भए पनि दोस्रोपटक एमालेविरुद्ध कांग्रेस–राप्रपाबीच चुनावी गठबन्धन बन्यो । तैपनि मेयरमा उठेका राप्रपाका दीपकबहादुर सिंह र उपमेयरमा उठेका कांग्रेसका शम्भु भट्टराई पराजित भए । २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बन्यो । परिणाम भने एमालेकै पक्षमा गयो । हरिबहादुर महत मेयर र मीनाकुमारी लामा (हाल एकीकृत समाजवादी) उपमेयरमा विजयी भए । एमालेले यसपटक संविधानसभा (२०७०) सदस्य अनन्त पौडेललाई मेयरमा उठाएको छ । उनी भन्छन्, ‘हामीलाई जनताले हेटौंडाको विरासत पुनः सुम्पिन्छन् भन्ने विश्वास छ, किनभने हाम्रै नेतृत्वमा हेटौंडाले समृद्धिको यात्रा तय गरेको हो ।’

यसपटक एमालेलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गरेको छ । यद्यपि, हेटौंडामा उक्त दलको प्रभाव निकै कम देखिएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले मेयर–उपमेयरसहित सबै वडामा उम्मेदवार प्रतिस्पर्धामा उतार्दा थापाले आफ्नै गृहनगरमा पार्टीलाई उम्मेदवारविहीन बनाएका छन् । समान राजनीतिक विचारधारा बोकेको राप्रपाले सेटमै प्रतिस्पर्धा गरिरहँदा राप्रपा नेपालका मतदाता राप्रपालाई छान्ने कि एमालेलाई छान्ने भन्ने दोधारमा देखिन्छन् । त्यसैले हेटौंडामा राप्रपाको राजनीतिक समर्थन भए पनि व्यावहारिक रूपमा एमालेले विगतमा झैं एक्लै लड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

एमालेका लागि चुनौतीको बिन्दु यही हो । गत स्थानीय तह निर्वाचनमा एमालेका महत ६ सय १५ मतको अन्तरले मेयर विजयी भएका थिए । निर्वाचनमा मेयरमा मात्र ७ हजार ५ सय २ मत बदर भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार बदर मतमध्ये करिब ९० प्रतिशत माओवादी केन्द्रको चुनाव चिह्नमा स्वस्तिक छाप हानिएका कारण बदर भएको थियो । यसले गर्दा माओवादीको समर्थनमा मेयर उम्मेदवार रहेका कांग्रेसका आनन्दराम पराजुली पराजित भएका थिए । अहिले गठबन्धनको आकार बढेको छ । कांग्रेस र माओवादी केन्द्रका साथै एमालेबाट विभाजित भएको एकीकृत समाजवादीको मत पनि जोडिएको छ । ‘अघिल्लो चुनावमा गठबन्धन भए पनि मतदाता शिक्षा राम्ररी दिन नसक्दा धेरै मत बदर भएर क्षति व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो अवस्था आउन दिँदैनौं,’ कांग्रेसबाट उपमेयरका उम्मेदवार रहेका राजेश बानियाँले भने, ‘हामीसँग भएको जनमतलाई सही ढंगले प्रयोग गराउन सक्यौं भनेमात्रै पनि जितको लागि पर्याप्त हुन्छ ।’ मकवानपुरमा एमाले विभाजनपछि एकीकृत समाजवादीतर्फ गएको जनमत स्पष्ट नभए पनि प्रभावशाली नेताहरू भने एकीकृत समाजवादीतर्फ लागेका छन् । एमालेमा हुँदा केन्द्रीय भूमिकामा रहेका विरोध खतिवडा, केदार न्यौपाने र मजदुर नेता ललित बस्नेत एकीकृत समाजवादीमा छन् ।

गठबन्धनबाट साझा उम्मेदवार बनेकी लामाको सबलताले पनि एमालेको विरासतलाई टक्कर दिइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो ५ वर्षे कार्यकालको सफलताको हिस्सा मेयर महतसँगै उपमेयर रहेकी लामाले पनि दाबी गर्ने गरेकी छन् । स्थानीयवासीका अनुसार पूर्वाधार विकास र सुशासनमा हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई गुनासो गर्ने ठाउँ दिएको छैन । ‘मैले उपमेयर हुँदा थालनी गरेका राम्रा कामलाई अझ राम्रो गर्नुपर्नेछ,’ गठबन्धनकी साझा उम्मेदवार लामा भन्छिन्, ‘नेतृत्वमा पुगेपछि समृद्ध र समुन्नत हेटौंडा उपमहानगर बनाउने अभियान थाल्नेछु ।’

उपमहानगरमा रहेको जनजाति मतले पनि उनलाई उत्साही बनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हेटौंडा उपमहानगरमा १ लाख ४ हजार ४ सय ७३ मतदाता छन् । तीमध्ये करिब ३१ प्रतिशत मतदाता जनजाति (तामाङ) समुदायका छन् । बाहुन २६ र क्षेत्री १३ प्रतिशत छन् । तामाङ (लामा) समुदायकी गठबन्धनकी साझा उम्मेदवार मीनाकुमारीको जोड जातीय मत आफूतिर तान्ने छ । आइतबार बिहान वडा नं. ११ को नवलपुरमा आयोजित चुनावी सभामा उनले बारम्बाबार दोहोर्‍याएको वाक्य थियो, ‘यो मेरो माइती गाउँ हो, माइतबाट चेलीले माया पाउने आशा गरेकी छु ।’

वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष भएर हेटौंडा बसेका संघीयताविद् खिमलाल देवकोटा स्थानीय तह निर्वाचनमा जातीय तथा साम्प्रदायिक भावनाले पनि मत परिणामलाई प्रभावित गर्ने बताउँछन् । यसका बावजुद पनि एमालेले जित निकाल्ने प्रयास गरिरहेको छ । यसका लागि उसको बलियो जनाधारले आत्मविश्वास बढाउने गरेको छ । २ पटक हेटौंडाका मेयर हुँदै वाग्मती प्रदेशका मुख्यमन्त्री भएका डोरमणि पौडेल, सांसद कृष्ण राना, रामेश्वर राना, हालका मेयर हरिबहादुर महतको साथ एमाले उम्मेदवार पौडेललाई छ । पौडेल आफैंमा ‘हेभिवेट’ र परिपक्व नेताका रूपमा स्थापित छन् । यसबाहेक एमालेले आफ्नो इतिहास कायम राख्न कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र निर्वाचनमा राप्रपाको प्रभावशाली उपस्थितिबीच मिहीन ढंगले खेलिरहेको छ । गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका कांग्रेसका आनन्दराम पराजुली यसपटक पुनः मेयरको टिकट पाउनेमा ढुक्क थिए । तर अहिले हेटौंडा उपमहानगर एकीकृत समाजवादीले पाउनुमा बानियाँको पनि हात रहेको पराजुलीको आरोप छ । ‘पराजुली समूहको असन्तुष्टिलाई एमालेले आफ्नो अनुकूलतामा लिने प्रयास गरिरहेको छ, बेलैमा मत्थर गर्न सकिएन भने गठबन्धनलाई घाटा हुन सक्छ,’ कांग्रेसका एक नेताले भने ।

राप्रपा पनि कांग्रेसकै मत तान्ने प्रयासमा छ । विशेषगरी हेटौंडा बजार क्षेत्रका कांग्रेस मत पाउने उसको विश्वास छ । राप्रपाको प्रयास सफल भयो भने यसको फाइदा एमालेलाई पुग्नेछ । राप्रपाका जिल्ला अध्यक्ष शिवराम थापा अन्य दलका मतदाता पनि आफ्नो पक्षमा आकर्षित भएका बताउँछन् ।

काठमाडौंमा व्यापार–व्यवसायमा संलग्न राप्रपाका मेयर उम्मेदवार सिंह हेटौंडाका पुराना नेता हुन् । २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन हेटौंडा नगरपालिका मेयर र २०७० मा मकवानपुर–२ बाट संविधानसभा सदस्य सदस्य लडेका उनी दुइटै निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी थिए ।

के भन्छन् मेयर उम्मेदवार ?

अनन्त पौडेल, एमाले
मेरो पहिलो योजना भनेको हेटौंडालाई ‘आहा’ भन्ने सहरका रूपमा स्तरोन्नति गर्ने हो । हेटौंडा सुन्दर सहर हो, यसको चौतर्फी विकास गर्न नगर परिषद् गठन गरेर योजनाबद्ध रूपमा अगाडि बढ्नेछौं । सडक र पार्किङलाई व्यवस्थित गर्नेछौं । हेटौंडा औद्योगिक नगरी पनि हो । हेटौंडा–१४, मयूरधापमा निर्माण हुन लागेको नयाँ औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याएर रोजगारीको अवसर सिर्जना गर्नेछौं । खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउने योजना हाम्रो रहेको छ । बालबालिका, युवा र महिला लक्षित योजना पनि हामी सञ्चालन गर्नेछौं ।

मीनाकुमारी लामा, गठबन्धन
हेटौंडालाई समृद्ध नगरीका रूपमा विकास गर्न मेरो उम्मेदवारी हो । निर्वाचित भएपछि १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्नेछौं । न्यूनतम विद्युत् पनि निःशुल्क वितरण गर्ने योजना हाम्रो छ । सबै वडामा स्वास्थ्यचौकी निर्माण गरी डाक्टरसहितको सेवा उपलब्ध गराउने छौं । चिकित्सा स्वास्थ्य अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनेछौं । प्रत्येक वडामा मिनी रंगशाला, कभर्डहल, व्यायमशाला र पुस्तकालय निर्माण गर्नेछौं । सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारवासीको चित्त बुझाएर हल गर्ने योजना हाम्रो छ ।

दीपकबहादुर सिंह, राप्रपा
हेटौंडालाई सुशासन र भ्रष्टाचारमुक्त नगर बनाउन मेरो उम्मेदवारी हो । हाल उपमहानगरमा नक्सा पास गर्दा भ्रष्टाचार हुने गरेको छ । त्यसलाई तत्काल सुधार्न जरुरी छ । हेटौंडाका सडकहरू साँघुरा भएका छन् । त्यसलाई फराकिलो बनाउने र हेटौंडामा चक्रपथ बनाउने मेरो योजना रहेको छ । उपमहानगरले विभिन्न बहानामा कर लिने गरेको छ । अहिले लिइरहेको करमा ५० प्रतिशतसम्म कटौती गर्नेछु । राज्यले दिएको वृद्धभत्ता लिन आउन वृद्धवृद्धालाई समस्या भइरहेको छ । त्यसकारण घरघरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाउने घोषणा मैले गरेको छु ।

महिला उम्मेदवार महिलामै केन्द्रित
काठमाडौ, ललितपुर र टोखाका महिला उम्मेदवारले विकास निर्माणसँगै महिलाका एजेन्डालाई पनि प्राथमिकतामा राखेको बताएका छन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र वुमन एनजीओ फेडेरेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘महिला जिताऔं अभियान’ लाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतले सुरक्षित हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने बताइन् । महानगरलाई सफा, स्वस्थ, सुन्दर र सुरक्षित सहर बनाउने लक्ष्य राखेको बताउँदै उनले भनिन्, ‘राजधानी भन्नु मात्रै, अन्धकार छ, काम गरेर फर्कंदा अबेर रात पर्छ, श्रमिक महिलाहरूलाई गाह्रो छ, सबै ठाउँमा बत्तीको व्यवस्था गरेर, सीसीटीभी राखेर ढुक्कले हिँड्ने वातावरण बनाउँछु ।’ उनले सूचना प्रविधि, सीप विकास तथा रोजगारीमा महिलालाई जोडेर बिदेसिनेबाट रोक्ने, प्रत्येक वडामा रोजगारी सिर्जना गर्ने तथा कोसेली घर निर्माण गरेर स्थानीय उत्पादनलाई विदेशमा समेत निर्यात गर्ने वातावरण बनाउने, प्रत्येक सामुदायिक स्कुलमा शिशु स्याहार केन्द्र स्थापना गर्नेलगायतका एजेन्डा सार्वजनिक गरेकी छन् ।

विवेकशील साझाबाट काठमाडौं महानगरकै मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाले सार्वजानिक यातायातलाई सर्वसुलभ र सुरक्षित बनाउने बताइन् । ‘महिलालाई सार्वजानिक यातायातमा यौन हिंसा र दुर्व्यवहार बढी हुने गरेको पाएका छौं, मेयरको त्यो कुर्सीमा बसेको दिन सर्वसुलभ र सुरक्षित सार्वजानिक यातायातको व्यवस्था गर्नेछु,’ उनले भनिन् । महिला आन्दोलनले ल्याएको ३३ प्रतिशतको आरक्षणलाई दलहरूको चुनावी गठबन्धनले कमजोर बनाएको औंलाउँदै आफू र आफ्नो दलले हरेक क्षेत्रमा महिला सहभागितालाई ५० प्रतिशतभन्दा बढी पुर्‍याउने बताइन् । ‘महिला हिंसाविरुद्धको शून्य सहनशीलता’ को नीति लिएको हुँदा बलात्कारजस्ता महिला हिंसाजन्य गतिविधिमा संलग्नलाई आफ्नो दलले राजनीतिक संरक्षण नदिने दाबी गरिन् ।

टोखा नगरपालिकामा कांग्रेसबाट मेयरकी प्रत्यासी रजनी थापाले आफ्नो चुनावी एजेन्डामा ‘महिला सशक्तीकरण सेल’, कानुनी साक्षरता, नीतिगत सचेतना, नेतृत्व विकासका लागि ‘महिला प्रोत्साहन सेल’ र भयरहित जीवनयापनका लागि ‘महिला फाइटब्याक सेल’ लाई समेटेको बताइन् ।

काठमाडौं महानगरमा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले युवा, महिला, सामाजिक–सांस्कृतिक अभियन्तालगायत सम्पूर्ण महानगरवासीहरूको भावनालाई प्रतिनिधित्व गर्दै काम गर्ने लक्ष्य राखेको बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौंको उपमेयरमा उम्मेदवार विनिता मगैयाले महिलालाई कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार, असमान ज्याला तथा सुरक्षालाई ध्यान दिने बताइन् । उनले भनिन्, ‘काम गरेर घर फर्कंन ढिला भइदिन्छ, रातमा कसरी फर्कने भन्ने चिन्ता हुन्छ, असुरक्षाको स्थिति आइपर्‍यो भने सीसीटीभीले बचाउन त आउँदैन, यही भएर नगरप्रहरीलाई चुस्तदुरुस्त खटाउने योजना छ ।’

प्रकाशित : वैशाख २०, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?