१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

इटहरीमा एमालेलाई विरासत जोगाउन गठबन्धन चुनौती

अघिल्लो निर्वाचनमा तीन हजार मतले हारेको कांग्रेस यसपटक गठबन्धनबाट लाभ लिने दाउमा

इटहरी — इटहरी उपमहानगरपालिकामा मुद्दाभन्दा बढी प्रतिष्ठाको लडाइँ छ । सत्ता गठबन्धनलाई तालमेलको बल छ भने एमालेसँग विगतको विरासत छ । एकातिर तालमेल र अर्कातिर विरासतका कारण मतदान गर्ने दिन नजिकिँदै जाँदा स्थानीय चुनाव रोमाञ्चक बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो मतभारको हिसाबकिताबमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा भने ओझेलमा परेको छ । 

इटहरीमा एमालेलाई विरासत जोगाउन गठबन्धन चुनौती

इटहरीमा एमालेलाई धक्का दिन कांग्रेसले मुख्य आधार एजेन्डाभन्दा सत्ता गठबन्धनलाई बनाएको छ । यहाँ प्रमुखमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवारका रूपमा कांग्रेसका हेमकर्ण पौडेल छन् । उपप्रमुखमा गठबन्धनले एकीकृत समाजवादीका केशवकुमार विष्टलाई अघि सारेको छ । एमालेबाट विभाजित एकीकृत समाजवादीमार्फत विगतको एमालेको मत तानिने गठबन्धनको आकलन छ । एमालेले भने पार्टी विभाजनबाट असर नपरेको दाबी गर्दै आएको छ । कांग्रेस र माओवादी एउटा वडाको नेतृत्व दिन पनि तयार नभएपछि गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै प्रमुख र उपप्रमुख सहितमा उम्मेदवारी दिएको जसपाले सोमबार गठबन्धनलाई समर्थन गरेको छ ।

एमालेबाट नगरप्रमुख उम्मेदवार रहेका यामकुमार सुब्बा इटहरी उपमहानगरका पार्टी अध्यक्ष पनि हुन् । उनलाई विवादमा आइरहने नगरप्रमुख द्वारिकलाल चौधरीका कारण घरदैलोमा प्रश्न सामना गर्न हैरान छ । ०७४ मा एमालेबाट जितेका चौधरीको अमर्यादित बोलीले पार्टीको छविमा असर पारेको विश्लेषण एमाले कार्यकर्तामा छ । ‘मेयरका बोलीबारे मलाई भन्नु केही छैन । कामको मूल्यांकन गर्ने हो । कामका बारेमा प्रश्न उठाउने अवस्था कतै छैन,’ प्रमुखका प्रत्याशी सुब्बाले भने, ‘पछिल्लो पाँच वर्षमा १४ करोडको प्रशासनिक भवन, ४ करोडको जनजाति संग्रहालय, इटहरीको डुबान रोक्न विश्व बैंकको सवा दुई अर्बमा लगानीमा बन्न लागेको ढललगायतका सडक र पूर्वाधारको विकासमा नगरले ठूलो फड्को मारेको छ ।’ इटहरीवासीको विश्वास बलियो भएकैले एमालेको जग नहल्लिएको सुब्बाले दाबी गरे । ‘त्यसको एउटा कारण इटहरीका जनप्रतिनिधिको छवि हो,’ उनले भने ।

विगतमा भएका तीनवटै स्थानीय चुनावमा पराजित कांग्रेसले यसपटक गठबन्धनको बल, वर्तमान नगरप्रमुख चौधरीको सार्वजनिक अभिव्यक्ति र विकासका लागि नेतृत्व परिवर्तनको मुद्दालाई अघि सारेको छ । ३२ वर्षसम्म एउटै नेतृत्व रहँदा इटहरीका जनतामा उकुसमुकुस भएको गठबन्धनका उम्मेदवार पौडेलले बताए । ‘स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा नगरले गति लिएको छैन । नागरिकलाई अपमान गर्ने व्यवहार नगरपालिकाको वर्तमान नेतृत्वबाट भएको छ । मेरो उम्मेदवारी सबै नागरिकको सम्मानका लागि हो,’ उनले भने ।

बाढी नियन्त्रणको मुद्दालाई सबैजसो राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएका छन । विश्व बैंकको अनुदान सहयोगमा परियोजना अघि बढ्ने क्रममा रहेकाले एमालेले यसैलाई प्रमुख मुद्दा बनाएको छ । कांग्रेसले सहरमा ढल बन्दैमा डुबान अन्त्य नहुने भन्दै नदी कटान रोक्ने छुट्टै योजना अघि बढाउने प्रतिबद्धता गरेको छ । ‘म निर्वाचित भएको पहिलो वर्ष नै केन्द्र वा अन्य क्षेत्रको स्रोतबाट बाढी नियन्त्रणको काम सुरु गर्छु,’ कांग्रेसका उम्मेदवार पौडेलले भने, ‘सामुदायिक विद्यालय, कलेजको स्तरोन्नति, इटहरीको भित्री बस्तीको विकास मेरो मुख्य प्राथमिकता छ ।’

गत चुनावमा एमाले र कांग्रेसका उम्मेदवारबीच करिब तीन हजार मतान्तर थियो । एमालेका चौधरीले २२ हजार ६ सय ८९ मत ल्याएर नगरप्रमुख जितेका थिए । कांग्रेसका रोहित प्रसार्इंले १९ हजार ९ सय ८५ मत पाएका थिए । उपप्रमुखमा एमालेकी लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मतसहित विजयी हुँदा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत ल्याएकी थिइन् । प्रमुख–उपप्रमुख नजिते पनि कांग्रेसले २० वडामध्ये बहुमत ११ वडामा अध्यक्ष जितेको थियो । एउटा वडामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले जितेको थियो । फोरम कांग्रेसमा विलय भइसकेको छ । एमालेले ८ वडाध्यक्ष जितेको थियो ।

सत्ता गठबन्धनमा रहेको माओवादीको करिब ५ हजार मत रहेको अनुमान छ । ०७४ को निर्वाचनमै माओवादीले करिब ४ हजार मत प्राप्त गरेको थियो । एकीकृत समाजवादीको समेत मत थपिँदा सहजै जितिने सत्ता गठबन्धनको विश्वास छ । ‘हाम्रो जित सुनिश्चित जस्तै छ,’ कांग्रेसका उम्मेदवार पौडेलले भने । एमालेका उम्मेदवार सुब्बा निर्वाचनमा नयाँ मतदाता र जनजाति मत निर्णायक हुने बताउँछन् । गठबन्धनले जनजाति उम्मेदवार अघि नसारेकाले आफूलाई लाभ हुने उनको दाबी छ । ‘तर हामीले गरेको काम र संगठनका आधारमा पुरानो वामपन्थी इलाका कांग्रेसले लैजान सक्दैन,’ उनले भने ।

इटहरीमा चुनावका बेला हुने पार्टीगत झगडा र निषेधको घटना यसपटक सुनिएको छैन । अघिल्ला चुनावमा प्रचारको प्रतिस्पर्धा चल्थ्यो । यसपटक घरदैलोबाहेक भड्किलो प्रचार पनि देखिएको छैन । विगतमा माइकको आवाजमा प्रतिस्पर्धा गर्ने र एउटाले पोस्टर टाँस्दा अर्कोले त्यसैमाथि टाँसिदिने र त्यही निहुँमा झगडा हुने गर्थे । ‘पहिले एमालेको गढ भएको स्थानमा कांग्रेसलाई आउन नदिने, कांग्रेसको पकड भएको ठाउँमा एमालेलाई जान नदिने गरिन्थ्यो, अहिले त्यस्तो छैन’ सुब्बाले थपे ।

निर्वाचन आयोगले भड्किलो प्रचारमा गरेको कडाइ र स्थानीय बासिन्दामा आएको चेतनाका कारण परिवेश बदलिएको पौडेलको विश्लेषण छ । ‘नगरवासीले सबै मिल्दा मात्रै विकास सम्भव छ, एउटा पार्टीले मात्रै केही गर्न नसक्ने रहेछ भन्ने बुझेका छन्,’ उनले भने, ‘भोट जसलाई दिए पनि सबै उम्मेदवारप्रति स्थानीयले सद्भाव देखाउने संस्कृति विकास भएको छ ।’

प्रकाशित : वैशाख २०, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?