३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जयपृथ्वीमा एमालेको घोषणापत्र : किसानलाई कार्ड, युवालाई रोजगार

वसन्तप्रताप सिंह

बझाङ — उत्पादन वृद्धि र रोजगारीमा जोड दिँदै नेकपा एमाले जयपृथ्वी नगरपालिकाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कृषि उत्पादन वृद्धि, प्राकृतिक स्रोतमा आधारित उद्यम र कृषि पेशामा युवाको आकर्षण बढाउनका लागि विभिन्न सुविधा दिन किसान कार्डको व्यवस्था गर्ने प्रतिबद्धतासहितको घोषणा पत्र एमालेले सार्वजनिक गरेको हो । 

जयपृथ्वीमा एमालेको घोषणापत्र : किसानलाई कार्ड, युवालाई रोजगार

कृषि उत्पादन वृद्धि गर्नका लागि साना तथा ठूला सिँचाइ आयोजना पाखोवारी तथा भिरालो जमिन धेरै नविनतम प्रविधिमा आधारित सिँचाइ पोखरी निर्माण गर्ने, बहुउद्देश्यीय रिचार्ज पोखरी निर्माण गरेर पानीको स्रोत संरक्षण र सिँचाइका लागि उपयोग गर्ने नीति एमालेले घोषणापत्रमार्फत सार्वजनिक गरेको हो ।

खाद्यान्न बाली, फलफूल, तरकारी खेती र पशुपालन क्षेत्रको पहिचान गरी पकेट क्षेत्र निर्माण गर्ने र नगरपालिकाभित्र व्यापक मात्रामा रोजगारी सिर्जना गरी युवालाई आत्मनिर्भर बनाउने कुरा घोषणापत्रमा उल्लेख गरिएको नगर प्रमुखका प्रत्यासी सुरतबहादुर सिंहले बताए । कृषकहरूलाई, तालिम, बीउबिजन तथा आधुनिक प्रविधिमा अनुदान दिने र उत्पादित वस्तुको बजार खोज्ने काममा पनि नगरपालिकाले सहयोग गर्ने गरी घोषणापत्रमार्फत पार्टीको प्रतिबद्धता सार्वजनिक गरिएको उनको भनाइ छ ।

किसानलाई सुविधा दिनका लागि किसान कार्डको व्यवस्था गर्ने र नगरभित्रै प्राङ्गगारिक मल उत्पादन, घाँस उत्पादन, दाना उत्पादनजस्ता उद्यमको सिर्जना गरेर रोजगारीको वातावरण बनाउने कुरा एमालेको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना सवारी चल्ने बनाइने, प्रत्येक घरमा विद्युत्‌को व्यवस्था गर्ने, गोबरग्याँस प्लान्ट सञ्चालन गरी वनमाथीको भार घटाउने प्रतिबद्धतासमेत गरिएको छ । नगर क्षेत्रमा रहेका तारलाई भूमिगत बनाउने, नगरभरि एक घर एक धाराको व्यवस्था, बजार क्षेत्र र सार्वजनिक शौचालयको बनाएर नगर क्षेत्रको सौर्न्दयीकरण गर्ने कुरा पनि एमालेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै विद्यालय सुधार योजना निर्माण, अनाथ, टुहुरा, फरक क्षमता भएका र अतिविपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, शिक्षकहरूका लागि विषयगत तालिम तथा निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिनेबारे समावेश गरिएको छ ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, जयपृथ्वी संग्रहालयको स्थापना गर्ने, बालमैत्री, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री नगर निर्माण गर्ने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमार्फत गरेको छ । भ्रष्टाचार र अनियमितता रोक्नका लागि संयन्त्र निर्माण गरी अनुगमन गर्नेदेखि कुलतमा लागेका युवाका लागि सुधार केन्द्र सञ्चालन गर्नेसम्मका प्रतिबद्धता एमालेको घोषणापत्रमा समेटिएका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?