कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अन्तिममा जसको टिकट खोसियो

टिकट नपाएपछि अर्कै पार्टी प्रवेश गरेर चुनाव लड्दै
मधेस ब्युरो

जनकपुर — धनुषाको मिथिला नगरपालिकाका निवर्तमान प्रमुख हरिनारायण महतो एमालेबाट यसपालि पनि चुनाव लड्ने सुरमा थिए । यसअघिका निर्वाचित प्रमुख भएकाले टिकटका लागि धेरै बढी मेहनत गर्नु नपर्ने उनको बुझाइ थियो । नभन्दै, उनले फेरि मिथिलाको नगर प्रमुखका लागि एमालेबाट टिकट पाए । तर, मनोनयनको अघिल्लो राति भने टिकट खोसियो । बागी उठेका उनले एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि शुक्रबार उम्मेदवारी फिर्ता लिए । महतोको टिकट खोसेर एमालेले व्यवसायी राजाराम महतोलाई दिएको छ । 

अन्तिममा जसको टिकट खोसियो

यस्तै, महोत्तरीको बल्वा नगरपालिकामा कांग्रेसबाट ममता महतोले उपप्रमुखको टिकट पाइन् । उनले चुनावी प्रचारप्रसार र घरदैलो समेत थालिसकेकी थिइन् । मनोनयनको तयारीमा जुटेकी ममताको टिकट भने अन्तिम समयमा खोसियो । उनको टिकट रामदुलारी ठाकुरलाई दिइयो । ममता पार्टीको निर्णयले स्तब्ध छिन् । ‘पार्टीमा गरेको योगदान उपल्लो तहका नेतृत्वका कारण गुम्यो । अघिल्लो निर्वाचनमा पनि अन्तिम समयमा मलाई टिकटबाट वञ्चित गरिएको थियो,’ उनले भनिन् ।

रौतहटको बृन्दावन नगरपालिका प्रमुखमा उम्मेदवार बन्न कांग्रेस मधेस प्रदेश समितिले वैशाख ९ गते बिहान प्रेमशंकर यादवलाई टिकट दियो । कांग्रेसको प्रदेश कार्यालय जनकपुरबाट टिकट लिएर उनी बृन्दावन पुगे । चुनावको तयारीमा जुटेका उनी वडाका उम्मेदवार छान्न व्यस्त भए । त्यहीबेला उनको टिकट खोसिएको खबर आयो । उनको टिकट निवर्तमान नगर प्रमुख रामस्नेही राय यादवलाई दिइएको थियो ।

टिकट पाएको भोलिपल्ट नै खोसुवामा परेका यादवले तत्कालै एमालेसित आफू कांग्रेस छाडेर आउने र नगर प्रमुखको टिकट दिन संवाद थाले । एमालेले पनि उक्त नगरपालिकामा यादव जतिको बलियो उम्मेदवार पाए हुन्छ भनेर टिकट दियो । उनले तत्कालै कांग्रेस छाडेको घोषणा गरेर टीका लगाउँदै एमाले प्रवेश गरे । लामो समय कांग्रेस राजनितिमा लागेका यादव अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि नगर प्रमुखका बलिया दाबेदार दिए । त्यतिबेला रामस्नेहीले नै टिकट पाए र जिते । अहिले पनि उनैले पाएका छन् ।

पार्टीले आफुमाथि अन्याय गरेकाले त्यसको बदला चुनावबाट लिने यादवले बताए । ‘टिकट दिएर पनि खोस्नु भनेको अपमान गर्नु हो । पार्टीले ऐनमौकामा मूल्यांकन गर्न सकेन,’ उनले भने, ‘यही कारण कांग्रेस छाडे । अब वामपन्थी राजनीति गर्छु ।’ निवर्तमान नगर प्रमुख रामस्नेहीले पनि टिकट नपाउने देखिएपछि एमाले प्रवेशको तयारी गरेका थिए । यसको जानकारी कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले पार्टीको माथिल्लो तहमा पुर्‍याए । त्यसपछि शीर्ष नेताले प्रेमशंकरको टिकट खोसेर रामस्नेहीलाई दिन निर्देशन दियो ।

कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले केन्द्रीय नेताको निर्देशनअनुसार टिकटमा फेरबदल गरेको बताए । एउटै पार्टीका भए पनि यो नगरपालिकामा रामस्नेही र प्रेमशंकरबीच द्वन्द्व छ । रौतहटकै राजदेवी नगरपालिकाका निवर्तमान नगर प्रमुख शेख सकिलले एमालेबाट टिकट पाएर पनि अर्कालाई जिम्मा लगाएका छन् । कांग्रेसबाट नगर प्रमुख जितेका उनी टिकट नपाउने छाँट देखिएपछि एमाले प्रवेश गरेका थिए । तर एमालेले टिकट दिएर पनि माहोल सहज नदेखेपछि उनले एमाले नेतृ शर्मिका कोइरालालाई उम्मेदवारको जिम्मा दिएका हुन् ।

दुई महिनाअघि बाराको साना किसान कृषि सहकारी डुमरवानाको आठौं तहको आकर्षक जागिरबाट राजीनामा दिएर एमालेबाट जीतपुरसिमरा उपमहानगरको प्रमुख पदको लागि तयारीमा जुटेका नारायण क्षेत्री टिकट पाउनेमा ढुक्क थिए । मनोनयन दर्ता गर्ने वैशाख १२ मा उम्मेदवारीका लागि हौसिएका उनले सबै तयारी गरिसकेका थिए । पार्टी नेताको विश्वासमा झन्डै राजनीतिमा आएका उनले टिकट पाउने निर्णय भए पनि उनको हातमा भने आएन । क्षेत्रीलाई प्रमुख र निवर्तमान उपप्रमुख सरस्वती चौधरीलाई पुनः उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको भन्दै पार्टी कार्यालयबाट क्षेत्रीलाई मोबाइलमा बधाईसहित सन्देश पनि आयो । उनीहरूको टिकट पनि मधेस प्रदेश सचिव कृष्ण पौडेलको हातमा आएको थियो । तर उनले अन्तिम समयमा टिकट पाएनन् ।

उम्मेदवारी दर्ता गर्ने बेला भने चौधरीलाई प्रमुख र भोला अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाइयो । एमालेबाट ०५४ मा साविक साविक डुमरवाना गाविस अध्यक्ष निर्वाचित क्षेत्री टिकट नपाएपछि घरबाट निस्केका छैनन् । ‘पार्टीको पोलिटब्युरो सदस्यबाट बधाईसहित सन्देश आयो, जिल्ला अध्यक्ष विनोद साहलाई कलैया भेट्नुस्, त्यहाँ जाँदा पार्टी प्रदेश सचिव कृष्ण पौडेललाई भेट्नु भन्नु भो । त्यहाँ जाँदा भर्खरै अर्कैले टिकट लियो, निर्णय उल्टियो भन्ने जानकारी भयो,’ उनले भने । जीतपुरसिमरामा सत्ता गठबन्धनबाट प्रमुखमा माओवादीका राजन पौडेल र उपप्रमुखमा मेघा शाही उम्मेदवार छन् । यसैगरी कोल्हवी नगरपालिका उपप्रमुखमा कांग्रेसबाट टिकट पाएकी राधा चौधरीले टिकट नपाएर अर्कैले उम्मेदवारी दर्ता गराइन् ।

प्रकाशित : वैशाख १८, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?