१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धरानमा २५ हजार सुकुम्बासी मत निर्णायक

लालपुर्जा पाउने आसमा एमाले, माओवादी र कांग्रेसलाई आलोपालो मत दिँदै आएका सुकुम्बासीले यसपटक ‘नो लालपुर्जा, नो भोट’ को अभियान सुरू गरेका छन्

काठमाडौँ‚ धरान — मुलुकका दुई प्रमुख राजनीतिक दल एमाले र कांग्रेसले धरान उपमहानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई प्रतिष्ठाको विषय बनाइरहेका बेला निर्णायक मत लिएर बसेका यहाँका १३ हजार ५ सय सुकुम्बासी परिवारमा भने यतिबेला ‘नो लालपुर्जा, नो भोट’ को अभियान भित्रभित्रै चलिरहेको छ ।

धरानमा २५ हजार सुकुम्बासी मत निर्णायक

माग पूरा हुन्छन् कि भन्ने आसमा २४ हजार ८ सय सुकुम्बासी मतदातामध्ये अधिकांशले एमाले, माओवादी र कांग्रेसलाई आलोपालो गर्दै मत दिँदै आएका छन् । २०६२/६३ को जनआन्दोलनपछि यिनै तीन दलले सरकारको नेतृत्व पनि आलोपालो चलाइरहेका छन् तर कुनै सरकारले माग पूरा नगरेपछि यस पटक राष्ट्रिय रूपमा दबाब दिन उनीहरूले अभियान अघि बढाएका हुन् । ‘हाम्रै घरआँगनको विकाससँग जोडिने भएकाले स्थानीय तह निर्वाचनमा मत हाल्ने कि भन्ने छलफल भइरहेको छ तर संघ र प्रदेशका निर्वाचनमा भने हामीले नो लालपुर्जा, नो भोट भन्ने निर्णय लिइसकेका छौं,’ धरानका बासिन्दासमेत रहेका सुकुम्बासी बस्ती बसोबास संरक्षण समाजका राष्ट्रिय अध्यक्ष कुमार कार्कीले भने, ‘हामीलाई राजनीतिक दलका नेताहरूले सुनको अण्डा पार्ने खुकुराको रूपमा लिए, अब भोट बहिष्कार नगरेसम्म माग पूरा हुन्छ भन्ने आस मारेरै निर्वाचनको मुखमा यो अभियान सुरु गरेका हौं ।’

राज्यको तथ्यांकमा मुलुकभर ७० लाख सुकुम्बासी छन् । घरपरिवार ११ लाख ८० हजार छन् भने मतदाता ४० लाख छन् । धरान उपमहानगरपालिकाभित्रका मतदाताको २५ प्रतिशत हिस्सा सुकुम्बासीको छ । धरानका सर्दु र सेउतीलगायत खेला किनारका सुकुम्बासीकै निर्णायक मतले २०७६ मंसिरमा भएको उपनिर्वाचनमा वामपन्थीहरूले आफ्नो किल्ला ठान्ने धरानमा पहिलोपल्ट कांग्रेसले प्रमख जितेर इतिहास बनाउन सकेको चर्चा छ । २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बाले प्रमुख जितेका थिए । २०७५ साउन १ मा उनको निधन भयो । रिक्त पदमा उपनिर्वाचन हुँदा कांग्रेसले बाजी मारेको थियो । त्यसो हुनुमा चलायमान भइराख्ने सुकुम्बासीकै मत निर्णायक बनेको चर्चा यो बस्तीमा छ ।

‘बीस वर्षदेखि भोट हाल्न सुरु गरेको हुँ, कांग्रेस, एमाले र माओवादी सबैलाई हालिसकें, जसले बढी आस देखाउँछ, उसैलाई भोट हाल्दै आइयो तर हाम्रो माग कसैले पूरा गरिदिएन,’ धरान उपमहानगरपालिका–१५ भित्रको सेउती खेलाकिनारको सुकुम्बासी बस्तीकी राधिका बराइलीले करिब १२ फिट सडकपारिको बस्तीलाई देखाउँदै भनिन्, ‘त्यो नम्बरी (लालपुर्जा भएको) बस्ती हो । उनीहरू गौरवले धरानको बासिन्दा हौं भन्नुहुन्छ, हामी पनि दुई/तीन पुस्तादेखि यहीं छौं तर धरानको बासिन्दा हौं भनेर भन्न पाएनौं ।’

लड्दालड्दै धारा र बिजुलीको सुविधासम्म पाएका सुकुम्बासीको अहिले एउटै माग छ– आफू बसेको घरबारको लालपुर्जा पाउनुपर्ने । त्यसका लागि उनीहरूले के मात्रै गर्दैनन् ? लालपुर्जा दिन्छौं भनेर आस देखाउनासाथ जुनसुकै दलको झन्डा बोक्न तयार हुन्छन् । अझ रोचक त राजधानी काठमाडौंलगायत कुनै पनि सहरमा राजनीतिक दलको शक्तिप्रदर्शनमा उनीहरू नै पुग्छन् । दलका कार्यक्रममा जाँदा कतिपयले दैनिक ज्यालाको हिसाबमा आर्थिक सहयोगसमेत गर्छन् । जसले बढी आस देखाउँछ, उनीहरू उतै कुद्छन् । चुनावका बेला राजनीतिक दलका उम्मेदवारले सुकुम्बासी बस्तीलाई आर्थिक चलखेलको केन्द्र बनाउँछन् ।

‘हामी धरानमा अहिलेसम्म भोट बैंकको रूपमा मात्रै प्रयोग भएका छौं, जसले बढी आशा देखायो त्यतै दौडिन्छौं, हाम्रो बस्ती नै आसे वर्ग बनेको छ,’ सुकुम्बासी बस्तीकी सीता परियारले भनिन्, ‘हामीलाई सबैले भोट माग्न आउँदा लालपुर्जा दिन्छु भन्छन् । घोषणापत्रमा लेखेका कुरा पनि देखाउँछन् । जितेर गएपछि फर्कन्नन् ।’

सुकुम्बासीको समस्या समाधान गर्न भनेर २०१३ सालयता २४ वटा आयोग बनिसकेका छन् । २०४६ पछि पहिलोपल्ट तत्कालीन आवास तथा भौतिक योजनामन्त्री बलबहादुर राईको अध्यक्षतामा पहिलोपल्ट आयोग बनेको थियो । त्यसयता १६ वटा बनिसकेका छन् तर सुकुम्बासी समस्या समाधान गर्ने विषय जहिल्यै राजनीतिक खिचातानी र विवादको घेरामा जेलिँदै आएको छ । किन त ? सुकुम्बासी बस्ती बसोबास संरक्षण समाजका राष्ट्रिय अध्यक्ष कार्कीको भनाइ छ, ‘यो समाधान भयो भने राजनीतिक एजेन्डा सकिन्छ भन्ने चिन्ता राजनीतिक दललाई छ । त्यसैकारण उनीहरू जानीबुझी समाधान गर्न चाहन्नन् ।’

उपमहानगर प्रमुखका उम्मेदवारहरू भने सुकुम्बासीको माग पूरा गराउन संघको सरकारले नचाहेसम्म स्थानीयले गर्न नसक्ने बताउँछन् । नगरप्रमुखदेखि वडाध्यक्षसम्मका उम्मेदवारले जारी गरेका घोषणापत्रमा भने सुकुम्बासीलाई लालपुर्जा दिने विषय प्राथमिकतामा राख्दै आएका छन् । ‘लालपुर्जा दिने काम केन्द्रीय सरकारको जिम्मेवारीभित्र पर्छ, तत्कालीन एमालेको सरकारका पालामा लगत संकलन भएर लालपुर्जा बाँड्न ठिक्क भइसकेका बेला परमादेशको सरकार आयो, तत्कालीन आयोग विघटन गरियो, काम रोकियो,’ एमालेबाट प्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले भनिन्, ‘सुकुम्बासी, अव्यवस्थित बसोबास र भूमिहीनको समस्या छ । यसलाई पूरा गर्न हामी लाग्छौं ।’ कांग्रेसका उम्मेदवार किशोर राई पानी, बिजुली र घरको कर लिइसकेपछि राज्यले लालपुर्जा दिन ढिला गर्न नहुने बताउँछन् । ‘सुकुम्बासीले सदियौंदेखि धरानको माटोमा पसिना बगाउनुभएको छ । उहाँहरूलाई धरानवासी किन नबनाउने ? लालपुर्जा मात्रै होइन । छाना, नाना र खाना सबैको प्रबन्ध गर्नुपर्छ ।’

प्रमुख उम्मेदवार भन्छन्–


'उपनिर्वाचनमा जस्तो परिस्थिति अहिले छैन '

मञ्जु भण्डारी सुवेदी‚ उपमहानगर प्रमुखको उम्मेदवार‚ नेकपा एमाले

तपाईं निर्वाचित हुनुभयो भने धरानका लागि के गर्नुहुन्छ ?
मैले प्रतिबद्धता गरेअनुसारका धेरै काम उपप्रमुख हुँदै गरेको छु । मेरो उम्मेदवारीले महिलामा उत्साह बढाएको छ । महिला मुक्तिका लागि केही हुन्छ भन्ने आस छ । महिलाले कोक्रो हल्लाउने मात्रै होइन, संसार हल्लाउन सक्छन् भन्ने देखाउँछु । खानेपानी, सुकुम्बासीको समस्या, सामाजिक जागरण, सडक निर्माण यी सबै क्षेत्रमा हामीले काम गर्न सक्छौं ।

अर्को प्रतिस्पर्धी उम्मेदवारभन्दा तपाईंमा के फरक छ ?
मैले उपप्रमुख र लामो समय कार्यवाहक प्रमुख भएर काम गरिसकेको छु । यसैले मसँग धेरै अनुभव छ । धरानका २० वटा वडालाई कसरी अघि बढाउने भन्ने भिजन मसँग छ । कसरी विकास गर्ने, विकासको योजना कसरी बनाउने ? धरानको विकासका लागि स्थानीय स्रोतले मात्रै हुँदैन । बजेट धेरै पार्नका लागि केन्द्रसँगको पहुँचसमेत छ ।

उपनिर्वाचनमा कांग्रेसले जितेपछि यसपटक तपाईंका लागि कत्तिको कठिन प्रतिस्पर्धा छ ?
त्यतिबेलाको परिस्थिति बेग्लै थियो । नेकपाभित्रै विवाद थियो । उम्मेदवार एमालेले पाउने कि माओवादीले पाउने भन्ने अन्तरसंघर्ष थियो । एमालेले उम्मेदवार पायो । जनतालाई पनि नयाँ आउँदा केही हुन्छ कि भन्ने थियो होला । अब नयाँ व्यक्तिको पनि परीक्षण भइसक्यो । एमाले सांगठनिक रूपमा त्यतिबेलाभन्दा बलियो छ । अब मैले जित्छु भन्नेमा ढुक्क छु ।

'कहाँबाट गोल हान्ने हेरिरहेको छु'

किशोर राई‚ उपमहानगर प्रमुखको उम्मेदवार‚ नेपाली कांग्रेस

धरान बनाउन कस्ता एजेन्डा अघि सार्नु भएको छ ?
धरानले पानी खोजिरहेको छ । करको दायरा महँगो भएर चर्को विरोध भइरहेको छ । त्यसलाई घटाउने र दायरा बढाउनुपर्ने छ । विकासको मोडल बदल्नु छ । प्रत्येक वर्ष ५ हजारलाई रोजगारी दिने, धरानलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, सुकुम्बासी समस्या समाधान गर्नेलगायत एजेन्डालाई मैले प्राथमिकता दिएको छु ।

सबैले राम्रा एजेन्डा अघि सार्ने, चुनाव जितेपछि नगर्ने प्रवृत्तिले जनतामा नेताप्रति वितृष्णा जागिरहेको छ नि ?
हिजोको जस्तो चलाएर हुन्न । म त फुटबलको खेलाडी पनि हुँ । मैदानमा पसिसकेपछि गोल हानेरै बाहिरिनुपर्छ भन्ने मान्यता छ । अहिले हामी मैदानमा प्रतिस्पर्धा गरिरहेका छौं । बल डी एरियामा पुगिरहेको छ । विपक्षीलाई छक्याएर गोल कताबाट हान्ने हेरिरहेको छु । गोल मैले नै हान्छु । यो चुनावका बेलामा मात्रै होइन । पछि पनि गोल हान्ने मैले नै हो । धरान बनाउने योजना मसँग छ ।

कस्तो छ त तपाईंको योजना ?
जनप्रतिनिधि भएपछि सबैभन्दा पहिलो गल्ती गरेका कुरालाई लुकाउने होइन । सबैलाई बताएर अघि बढ्ने हो । मैले जितेपछि धरान बनाउन कांग्रेस मात्रै होइन, सबै दलको सहभागिता खोज्छु । मैदानमा हारजित भएपछि हामी सबै खेलाडी हौं भन्ने खेलको भावना राजनीतिमा भित्र्याउन चाहन्छु । सबैको धरान हो । धरान बनाउन हामी सबै लाग्नुपर्छ भन्ने भावना विकसित गराउँछु । यसैबाटै विकासको मोडल बदल्न सकिन्छ भन्ने मलाई लाग्छ ।

प्रकाशित : वैशाख १८, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?