कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निगालो दिनेलाई भोट

बसन्तप्रताप सिंह

दुवाली, बझाङ — थलारा गाउँपालिका ५, ठाडाढुंगाका पिरु पार्की उमेरले ७२ वर्षका भए । ढल्किँदो उमेरमा सीप चलाएर खाइरहेका उनको एउटै मात्र चिन्ता छ, कतै पुर्ख्यौली सीप हराउने त होइन ? यो समुदायको निगालाका सामान बनाउने सीप युवापुस्ताको उपेक्षाको कारणले नभई कच्चापदार्थको अभावमा संकटमा परेको बताउने पिरु गाउँमा आउने नेतालाई मात्र होइन, पत्रकार र सामाजिक कार्यकर्तासँग पनि निगालो खुलाइदिनुपर्‍यो भनेर अनुरोध गर्न छुटाउँदैनन् । 

निगालो दिनेलाई भोट

पिरुमात्रै होइन, निगालोकै विभिन्न सामग्री बनाएर जीविकोपार्जन गरिरहेका यस गाउँका ३० परिवार पार्की र ८ परिवार सार्कीले गाउँमा भोट माग्न आउने नेतालाई निगालो माग्न थालेको ५ वर्ष बितिसक्यो । तर‚ चुनावका बेला भोट दिए निगालो खुलाउन सहयोग गरिदिने आश्वासन दिएका सबै दलका नेताहरूले पाँच वर्षसम्म वाचा बिर्सिए पनि गाउँलेले आफ्नो मुद्दा बिर्सिएका छैनन् । बिर्सिउन् पनि कसरी ? पुस्तौंदेखि निगालोकै सामानको भरमा जिन्दगी चलाइरहेका यहाँका दलित परिवारको गरिखाने अर्को बाटो छैन । खेतीपाती गर्न जग्गा छैन । रोजगारी गर्न अरु सीप छैन । खप्तड राष्ट्रिय निकुञ्जले निगालो काट्न प्रतिबन्ध लगाएपछि निकुञ्जको फेदीमा पर्ने यो गाउँका मानिसहरूको गाँस काटिएको छ ।

‘नेताहरू आएर यो दिन्छौं, ऊ दिन्छौं भनेर भाषण गर्छन् । हामीलाई अरु केही चाहिँदैन । चाहिएको बेला निगालो काट्न पाए हुन्छ भनेर माग राखेको ५ वर्ष भयो । हुन्छ त भन्छन् । भोट दिएपछि कोही फर्किन्नन्‚’ पिरुले गुनासो गरे । ‘यसपालि पनि नेताहरूलाई त्यही भनेका छौं‚ जसले हाम्रो माग पूरा गराउने विश्वास दिलाऊला, उसैलाई भोट दिने हो‚’ उनले भने ।

यहाँका ३८ दलित परिवारहरूको जीवन निगालोकै सामग्री बनाएर राम्रैसँग चलेको थियो । कतिपयले यही स‍ीप बेचेर छोराछोरीलाई धनगढी र काठमाडौंमा क्याम्पस पढाउने खर्चसमेत जोडेका थिए । ५/६ वर्षअघि निकुञ्जले निगालो काट्न कडाइ गरेपछि सबैको बिचल्ली भएको स्थानीय बताउँछन् । ‘निगालो हुँदासम्म यहाँका मान्छेले इन्डिया देखेका थिएनन् । घरमै बसेर एक जनाले दिनकै हजार-दुई हजार कमाइ गर्थे‚’ स्थानीय राम पार्की भन्छन्‚ ‘अचेल निकुञ्जले निगालो काट्न दिँदैन । यता रोजगारी छैन । युवाजति सबै इन्डियाकै मजदुरी गर्न गएका छन् ।’ निगालोको अभाव भएपछि कतिपय स्कुल र क्याम्पसमा पढ्दै गरेका विद्यार्थीहरू बिचैमा पढाइ छाडेर भारत गएको उनले सुनाए ।

निगालाका डोको, सुप्पा (नाङ्लो), रोटी राख्ने छाप्रा (टोकरी), भकारी, पाथीजस्ता सामानहरू बुन्ने र त्यही बेचेर जीवन निर्वाह गर्ने यो समुदायको पेशा निगालाकै अभावमा बन्द हुने अवस्थामा पुगेको र घरमा मजदुरी गर्न सक्ने जनशक्ति नभएका एकल महिला, ज्येष्ठ नागरिक, अशक्त र असहायहरूको बिचल्ली भएको धौली पार्कीले बताइन् । ‘मान्छे हुनेहरूले त इन्डिया गएर पनि घर चलाएका छन् । इन्डिया जाने मान्छे नभएकाहरूले हातमा सीप भएर पनि मागेर खानु परेको छ‚’ उनले भनिन् ।

यहाँका ९/१० वर्षका बालकदेखि बयोवृद्धहरू सबैले निगालोका सामान बनाउन जान्ने भए पनि चाहिएको बेला निगालो काट्न नपाउँदा सीप भएर पनि बेरोजगार बस्नु परेको स्थानीयको गुनासो छ । खप्तड राष्ट्रिय निकुञ्जले वर्षमा एक पटक (मंसिर १० देखि १९ गतेसम्म) मात्रै निगालो काट्नका लागि अनुमति दिने गरेको र एक पटक काटेको निगालोले वर्षभरि सामान बनाउन अपुग हुने प्रभते पार्कीले बताए ।

‘एक पटक काटेको निगालो १५/२० दिनसम्म चल्छ । त्योभन्दा बढी राख्यो भने चोया निकाल्नै नमिल्ने गरी सुक्छ । हामी वर्षभर‍ि नै खाली हात बस्नुपर्छ‚’ उनले भने‚ ‘खेतीपाती गरी खाऊँ भने जग्गाजमिन छैन । निगालाका सामान बनाउने सीप थियो, निकुञ्जले चाहिएको बेला निगाला काट्न दिँदैन । अन्त निगालो पाइँदैन ।’

जिजुबाजेका पालादेखि गर्दै आएको काम गर्न नपाएपछि गाउँका मानिसलाई बिहान-बेलुकाको छाक जुटाउनमात्रै गाह्रो भइरहेको छैन, यहाँका अन्य समुदायलाई कृषिकर्म गर्न र दैनिक प्रयोग हुने निगालाका समानहरूको अभावसमेत हुन थालेको छ । ‘उनीहरूले भनेजति सामान बनाउन नसक्दा अरु समुदायका मान्छेलाई पनि असर परेको छ‚’ वडा नं. ५ का वडाध्यक्ष दीर्घराज जोशीले भने‚ ‘गाउँपालिकाभरिका मान्छेले घाँस काट्ने डोकोदेखि रोटी राख्ने छाप्रोसम्म यही गाउँबाट किन्ने गर्थे ।’ उनले निकुञ्जलाई निगालो काट्न सहज बनाइदिन पालिकाले पटकपटक अनुरोध गरेको भए पनि नमानेको बताए ।

यहाँ बुनेका निगालोका सामानहरू गाउँघरमै खपत हुने गरेको र माग पनि पर्याप्त रहेको छ । एउटा डोकोको मूल्य ४ सय, नाङ्लो ६ सय, अन्न राख्ने भकारी साइज हेरेर १ हजारदेखि ५ हजार रुपैयाँसम्म गाउँघरमा नै बिक्री हुने गरेको स्थानीय बताउँछन् । एक वर्षभित्र नकाट्दा जंगलमा रहेको निगालो पनि सुकेर खेर जाने भएकाले व्यवस्थित तरिकाले काट्नका लागि अनुमति दिनुपर्ने स्थानीयको माग छ ।

यता खप्तड राष्ट्रिय निकुञ्जका अधिकारीहरू भने निकुञ्ज नियमावलीमा व्यवस्था भएअनुसार वर्षमा एकपटक निगालो काट्ने अनुमति दिने गरेको बताउछन् । ‘उहाँहरूलाई समस्या भएको हुन सक्छ तर हामीले नियमावलीभन्दा बाहिर गएर काम गर्न मिल्दैन‚’ थलारामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जको गााडाबाँझ रेन्जपोस्टका इन्चार्ज हिमालय कठायतले भने‚ ‘नेपाल सरकारले नै नियमावली संशोधन गरेर कुनै समुदायका लागि खुला गर्ने व्यवस्था गरिदियो भने त्यो सम्भव हुन सक्छ । कर्मचारीले नियमावली कार्यन्वयन गर्ने बाहेक केही गर्न सक्दैन ।’ उनले सधैंभरि निगालो काट्न खुला गर्दा त्यो प्रजातिको अस्तित्व नै लोप हुने खतरासमेत हुने बताए ।

खप्तड क्षेत्रमा नेपालमा अन्त कतै नपाइने बाघबुट्टे निगालो पाइन्छ । यहाँ पाइने देउलो, घनेडोलगायत प्रजातिहरूबाट निर्मित सामान अन्य निगालोको तुलनामा बलिया र आकर्षक हुने गरेकाले बजारमा माग र मूल्य राम्रो भएको बताइन्छ ।

प्रकाशित : वैशाख १५, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?