२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रमुख पदमा महिला उम्मेदवार

अघिल्लो निर्वाचनमा पराजित भएकाहरुसमेत पुनः नेतृत्व सम्हाल्ने योजनामा

सर्लाही,म्याग्दी — आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलाले पनि उम्मेदवारी दाबी गरेका छन् । सर्लाहीमा प्रमुख राजनीतिक दलसहित केही स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ । प्रमुख पदमा उम्मेदवारी दिने ६ महिलामा ५ जना भने प्रमुख दलकै छन् ।

प्रमुख पदमा महिला उम्मेदवार

नेकपा एमालेले तीन तथा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एक/एक स्थानीय तहमा महिला उम्मेदवार अघि सारेका हुन् । एक महिलाले भने स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । एमालेले बरहथवा नगरपालिको प्रमुखमा कल्पना कटुवाल, चन्द्रनगर गाउँपालिकामा संगीतादेवी महतो नुनिया र ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता साहलाई उम्मेदवार बनाएको छ । चन्द्रनगरमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा महिलालाई उम्मेदवार बनाएको छ । उसले दलित समुदायबाट राजन्ती पासवानलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट पालिका प्रमुखको उम्मेदवार बनेकी बरहथवाकी कटुवालले तेस्रो धेरै मत ल्याएकी थिइन् । ब्रह्मपुरीमा अध्यक्षमा उम्मेदवारी दिएकी साह २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिइन् । त्यसबेला उनले पाँचौं सर्वाधिक मत ल्याएकी थिइन् ।

नेकपा माओवादी केन्द्रले गोडैता नगरपालिकामा अनिता देवीलाई दोस्रो पटक नगरप्रमुखका लागि उम्मेदवार बनाएको छ । उनले गत निर्वाचनमा तेस्रो ठूलो मत ल्याइन् । यसपटक पनि उनको सामना लोसपाका निवर्तमान प्रमुख देवेन्द्र यादव र कांग्रेस नेता उपेन्द्र कुशवाहासँग हुनेछ । पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी भएको नेकपा समाजवादीले भने लालबन्दीको प्रमुखमा रमा पौडेललाई उठाएको छ ।

वाग्मती नगरपालिकामा स्वतन्त्रबाट प्रहरी ‘इन्काउन्टर’ मा मारिएका नेत्रविक्रम चन्द समूहका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमती धनकुमारी पौडेलले उम्मेदवारी दर्ता गराएकी छन् ।

म्याग्दीमा भने अघिल्लो स्थानीय निर्वाचनमा भन्दा यसपटक पालिका प्रमुख र उपप्रमुखमा महिलाको संख्या बढेको छ । अहिले पालिका प्रमुख र उपप्रमुखमा २५ महिलाले उम्मेदवारी दर्ता गरेका छन् । ०७४ को निर्वाचनमा धवलागिरी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने एमालेकी थमसरा पुन एक्ली थिइन्, उनी विजयी पनि भइन् । यसपटक जिल्लाका ६ पालिकामा ३ महिलाले प्रमुखमा मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा २३ महिलाको उम्मेदवारी परेको छ ।

धवलागिरीको अध्यक्षमा पुनले दोहोर्‍याएर उम्मेदवारी दिएकी छन् भने रघुगंगा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रकी मीना विक र बेनी नगरप्रमुखमा राप्रपाकी मीना शर्माले मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा बेनी नगरपालिका र मंगला गाउँपालिकामा ६–६ जना, मालिकामा ५, रघुगंगामा २, अन्नपूर्णमा ३ र धवलागिरीमा १ जना महिलाको उम्मेदवारी परेको छ ।

‘संघीयतापछिको पहिलो निर्वाचन भएकाले ०७४ मा सबैमा अन्योल थियो । अहिले सबैले स्थानीय तहमा स्रोत र शक्ति देखेका छन्, त्यसैले स्थानीय तहमा पुरुषको मात्र होइन महिलाको पनि आकर्षण बढेको छ,’ महिला अधिकारको क्षेत्रमा सक्रिय दिलमाया बिटालुले भनिन्, ‘दलको संख्या बढेसँगै महिला सशक्तीकरणमा वृद्धि भएकाले प्रमुख पदमा पुग्ने महिला चाहना बलियो भएको हो ।’

जिल्ला निर्वाचन कार्यालयका अनुसार ०७४ को निर्वाचनमा उप्रमुख पदमा ९ महिलाको मात्र उम्मेदवारी परेको थियो । कांग्रेस–माओवादी र एमाले–राप्रपा गठबन्धनले प्रमुख र उपप्रमुखमा महिला–पुरुष बाँडेर उम्मेदवार बनाएका थिए । यसपटकको निर्वाचनमा प्रमुख/उपप्रमुख पदमा दलबीच गठबन्धन नभएको, एकीकृत समाजवादी र मंगोल नेसनल अर्गनाइजेसन पार्टी थपिएकाले पनि महिला उम्मेदवार संख्या बढेको हो ।

०७४ को निर्वाचनमा मुख्य पदमध्ये मालिका गाउँपालिका उपप्रमुखमा एमालेकी खरमाया बिटालु एक्ली दलित महिला थिइन् । यसपटक रघुगंगा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रकी मीना विक मनोनयन गर्ने एक्ली दलित महिला हुन् । उपप्रमुखमध्ये मालिकामा माओवादी केन्द्रबाट गौरी सेन्चुरी दलित महिला उम्मेदवार बनेकी छन् ।

प्रकाशित : वैशाख १५, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?