लुम्बिनीमा झन्डै १५ हजारले गरे मनोनयन


रूपन्देही,कपिलवस्तु — लुम्बिनी प्रदेशमा १४ हजार ७ सय ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशका १२ जिल्लामध्ये १६ स्थानीय तह रहेको रूपन्देहीमा सबैभन्दा धेरै र तीन स्थानीय तह रहेको रुकुम पूर्वमा सबैभन्दा कमले उम्मेदवारी दर्ता गराएका हुन् ।



आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता विवरणमा लुम्बिनी प्रदेशको रूपन्देहीमा ४ हजार १ सय ६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसमा बुटवल उपमहानगरपालिकासहित ६ नगरपालिकाका प्रमुखमा ७५ जना, उपप्रमुखमा ६० जना, पालिका अध्यक्षमा १ सय ११, उपाध्यक्षमा ८९, वडाध्यक्षमा ९ सय १७, महिला सदस्यमा ७ सय २७, दलित सदस्यमा ६६९ र खुला सदस्यमा १ हजार ५ सय १२ जनाको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् । आयोगका अनुसार ती स्थानीय तहमध्ये दुई उपमहानगरपालिका रहेको दाङमा प्रमुखमा ३० र उपप्रमुखमा १८ जनाको उम्मेदवारी परेको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा २ सय १६ जनाले उम्मेदवारी दिएका छन् । गुल्मीमा १ हजार ४२, पाल्पामा ६ सय ३७, अर्घाखाँचीमा ५ सय ९८, कपिलवस्तुमा १ हजार ७ सय ६८, रोल्पामा ८ सय ३३, प्यूठानमा ६ सय २१, दाङमा १ हजार ५ सय २४, बाँकेमा १ हजार ६ सय ६७, बर्दियामा १ हजार १ सय ५० र पश्चिम नवलपरासीमा १ हजार २ सय १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । तराईका केही जिल्लामा रातीसम्मै उम्मेदवारी दर्ता भएको थियो ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयहरूले जनाएका छन् । पहाडी जिल्लामा इन्टरनेट र सर्भरको समस्याले उम्मेदवारी दर्तामा केही समस्या देखिएको थियो । तर, धेरै जिल्ला र स्थानीय तहमा रातिसम्म नै अपडेट गर्ने काम भइरहेको छ ।
पार्टी फेर्दै उम्मेदवारी
स्थानीय तह निर्वाचनमा नेतृत्वको आकांक्षीले आफू संलग्न पार्टीबाट टिकट नपाएपछि दल परिवर्तन गर्दै उम्मेदवारी दिएका छन् । कतै पार्टी परिवर्तन त कतै स्वतन्त्र रूपमा सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।
कांग्रेसबाट शिवराज नगरपालिका प्रमुखका आकांक्षी अजय थापाले टिकट नपाएपछि पार्टी परिवर्तन गरे । कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनी राप्रपामा प्रवेश गरेर नगर प्रमुखको उम्मेदवार बनेका छन् । यसअघि ०७४ मा पनि उनी राप्रपाबाट नगर प्रमुखमा पराजित भएका थिए । केही समयअघि कांग्रेस प्रवेश गरेका थिए । त्यस्तै कांग्रेस महाधिवेशन प्रतिनिधि मनोजकुमार कनोडियाले पार्टी परित्याग गरी कृष्णनगर नगरपालिका नगर प्रमुखमा बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दर्ता गरे । उनी लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाका भतिजा हुन् । त्यस्तै, कृष्णनगर कांग्रेस नगर सभापति देवानन्द शुक्लाले पनि पार्टी त्याग गरी जनता प्रगतिशील पार्टीबाट कृष्णनगर–६ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । कृष्णनगरमा एमालेबाट टिकट नपाउने भएपछि आइतबार शिवप्रसाद जयसवाल जसपा प्रवेश गरे । जसपाले टिकट नदिएपछि उनले सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उनी एमालेका नगर इन्चार्ज थिए ।
यता यशोधरा गाउँपालिकामा एमालेबाट अध्यक्षका आकांक्षी हबिबुल्लाह मुसलमानले टिकट नपाएपछि पार्टी परित्याग गरे । सोमबार लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरे । सोमबारै उनले लोसपाबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै मायादेवी गाउँपालिकामा एमालेले उपाध्यक्षमा सिफारिस गरे पनि टिकट नपाएपछि माधुरी अग्रहरिले पार्टी छोडिन् । सोमबार नै नेकपा समाजवादीमा प्रवेश गरी उपाध्यक्षमा उम्मेदवारी दिइन् । कांग्रेसबाट मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष बनेका शुकदेवप्रसाद तिवारीले यसपटक टिकट नपाएपछि सोमबार नेकपा समाजवादीमा प्रवेश गरे । सोही पार्टीबाट उनले वडाध्यक्षमा उम्मेदवारी दिए । आइतबार कांग्रेसबाट यशोधरा गाउँपालिका उपाध्यक्षमा प्रेमलता भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको थियो । उनको ठाउँमा बिन्द्रावती यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।
प्रकाशित : वैशाख १३, २०७९ ०८:०४